यी हुन् काली प्रसाद – भाईरल सिङ्गर !


जमाना यू–ट्युबको छ । पहिलेजस्तो महिनौं कुर्नु पर्दैन, गीत क्याच्ची छ भने केही दिन वा केही घण्टामै यू–ट्युबमा भाइरल हुन्छ, भुसमा आगो सल्किएझैं। यतिबेला यस्तै हटकेक बनिरहेको छ, ‘नीर जहिल्यै रिसाउनी…’। फिल्म पुरानो ढुंगाको यस गीत जुलाई २२ मा यू–ट्युबमा अपलोड गरिएको थियो। त्यसयता यसले दैनिक लाखको हाराहारीमा भ्युअर्स बटुलिरहेको छ। ५० भन्दा बढी कभर अपलोड भइसकेको छ। पारिवारिक जमघट, विद्यालयका सांस्कृतिक कार्यक्रमदेखि नेपाली डायसपोरामा समेत यो गीत पहिलो रोजाइमा पर्न थालेको छ।

Kali-Prasad-Baskota-2

जबकि यो लिरिकल भिडियो मात्र हो। डेढ वर्ष अगाडि पनि एउटा गीत यस्तै भाइरल भएको थियो, ‘पारि त्यो डाँडामा…’। यो पनि बिना भिडियो नै यू–ट्युबमा राखिएको थियो । यसले अन्तत: यू–ट्युबमा सबैभन्दा छिटो र धेरै भाइरल हुने पहिलो नेपाली गीतको पहिचान बनाउन सक्यो। फिल्म रेशम फिलिलिले प्रदर्शनको पहिलो दिन मै एक करोडमाथिको व्यापार गर्नुको पहिलो कारण यही गीत थियो र, नेपाली फिल्मी संगीतमा ‘ट्रेन्ड सेटर्स’ मानिएका यी दुई गीत गाउने, लेख्ने र कम्पोज गर्ने सर्जक भने एकै हुन्, कालीप्रसाद बाँस्कोटा।

‘पारि त्यो डाँडामा…’ मा कालीले लेखनमा मानसराज र गायनमा सोमिया बराइलीको सहयोग लिएका थिए। ‘नीर जहिल्यै रिसाउनी…’ को लोकप्रियताको एक्लो हकदार हुन्, उनी। रेशम फिलिलिपछि उनले फिल्म कबड्डी–कबड्डीका लागि गाएको ‘लप्पन–छप्पन…’ ले पनि बजार पिटेको थियो। धेरैलाई थाहा नहुन सक्छ, हेमन्त रानाले गाएको बहुचर्चित ‘लैजा रे…’ र शशि रावललाई मार्क गराएको ‘चाहना सकियो…’ का कम्पोजर पनि उनै हुन्।

यस्तो लाग्छ, कालीलाई भाइरल गीतको लत लागिसकेको छ । यसको जादू के होला ? सांगीतिक कार्यक्रमको सिलसिलामा दुई साता अघि अमेरिका पुगेका कालीले अनलाइन कुराकानीमा भने, ‘भाइरल नै होस् भनेर न गाउँछु, न कम्पोज गर्छु । फेरि चाहेर मात्र हुँदा पनि हुन्न। तर यत्ति हो, मेरो ‘म्युजिक जोन’ ठम्माइसकेको छु।’ हरेक पटक अडियन्सको मन जित्ने त्यो ‘म्युजिक जोन’ भने सामान्य रहेछ, पहिलो इमान्दारिता। दोस्रो शब्द, ट्युन र गायनमा सरलता।

उनलाई लाग्छ, बोलीचालीको शब्द भएपछि जसकै मुखमा पनि झुन्डिन्छ। त्यसमा यति सरल ट्युन बनाउँछन् कि, बच्चाले पनि उठाउन र गाउन सक्छ । लोक फ्लेभरको भएपछि बूढाबूढीले गीतमा आत्मीयता महसुस गर्छन्। त्यसमा आफ्नै छुट्टै स्टाइल मिसाएर गाउँदा युवाले पनि कनेक्ट गर्छन्। ‘मेरो सफलताको सूत्र वा शैली जे भने पनि यही हो, सकेसम्म सरलता र मौलिकता,’ काली खुसी सुनिए । जस्तो, ‘नीर…’ कै प्रसङ्ग।

Kali-Prasad-Baskota

पत्यार नलाग्ला, सत्य यही हो की यति धेरै हिट भइसकेको यस गीत उनले जम्मा १० मिनेटमा कम्जोज गरेका थिए, त्यो पनि लिरिक्स सहित। कम्पोज अघिको ‘होमवर्क’ चाहिँ साँच्चै लामो थियो। कालीको स्वभाव नै हो । उनी नयाँ ठाउँमा जाँदा होस् वा नयाँ मान्छेलाई भेट्दा, जीवनशैली र संस्कृतिलाई नजिकबाट नियाल्छन्। अध्ययन गर्छन्। समाजसँगको यही सामीप्यताले उनको संगीतलाई जीवन्तता दिइरहेको छ । उनका अनुसार पोखरामा गाइनेको भाका सुनेपछि र उनीहरूको शैली टिपेपछि यो गीत ‘क्लिक’ भएको हो।

‘त्यसमा मैले आफ्नोपन मिसाएँ, केही नयाँ थपे। मौलिक शब्द खेलाएँ। यही ब्याकअप स्टडीले गीतको क्वालिटी हाई भयो,’ फरासिला स्वभावका यी संगीतकर्मी भन्छन्, ‘यस्तो भाइरल होला भन्ने अपेक्षा थिएन । एउटा सुन्दर गीतका रूपमा दर्शकको माया पाउँछ जस्तो लागेको थियो।’ ‘म्युजिक विथ मुड’, यो टर्मको अनुयायी हुन्, काली अर्थात् गीतले एउटा छुट्टै माहोल र परिवेश सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्छन्, उनी।

चाहे आफूले बनाउने गीतमा होस् या सुन्ने । मुड बनाउन ट्युन त अब्बल हुनै पर्‍यो, लिरिक्स पनि त्यस्तै सार्थक। त्यसो भयो भने मात्र दर्शकले गीतमा आफूलाई रिलेट गर्न सक्छन्। झन् फिल्मी गीतले फिल्मको कथालाई प्रतिध्वनि गर्नु परिहाल्यो। उनले पहिले पुरानो ढुंगाको स्क्रिप्ट पढे, अनि कथा सुहाउँदो शैलीमा गीत कम्पोज गर्नतिर लागे। यो गीतको भाकाबाट फिल्मको कथा कुन भेगको हो, शब्दबाट मुख्य पात्रको मनोभाव र र गायन शैलीबाट पात्रको स्वभाव कस्तो छ भन्ने छनक दिने प्रयास गरेको उनले सुनाए।

सायद यही समझले उनलाई ‘ब्याक टु ब्याक’ सफलता दिलाइरहेको छ । हुन पनि, कतिपय संगीतकारले दस फिल्ममा तीस गीत कम्पोज गर्दा नपाएको प्रसिद्धी उनी एउटै गीतबाट बटुलिरहेका छन्। एउटा हिट भएपछि त्यसकै पछि लाग्नु हाम्रो समाजको नियति र प्रवृत्ति हो। काली पनि यो भ्रमको सिकार भइरहेका छन्। ‘पारि त्यो डाँडामा…’ हिट भएपछि त्यस्तै बबाल हिट गीत बनाइदिन उनलाई निर्माता/निर्देशकले हैरान गरे।

‘नीर…’ भाइरल भएसँगै त्यो हैरानी अझ बढी झेल्नु परिरहेको छ। चाहेका हुन्थे त, आफ्नो यो डिमान्डलाई क्यास गर्दै उनी बिकाउ गीत बनाएर बैंक ब्यालेन्स बढाउँथे। भन्छन्, ‘तर मलाई त्यस्तो गर्नु छैन, मैले बनाउने गीतले कम्तीमा मेरै मन जित्नुपर्छ ।’ अन्त्यमा उनलाई सोधियो, सबै गीत भाइरल भएपछि भाउ पनि महँगिएको होला नि ? लुट २ को आइटम गीतबाट फेरि धुम मच्चाउने ध्याउन्नमा रहेका कालीले भने, ‘म महँगो त छु, पैसाभन्दा समयको। दुईचार दिनको टाइम फ्रेममा जति लाख दिए पनि कम्पोज गर्न सक्दिनँ र गर्दिनँ पनि ।’
– गोकर्ण गौतम
इ-कान्तिपुर डट कममा प्रकाशित

SUBSCRIBE 👉