पलेँटीमा गुञ्जियो दिवंगतका सिर्जना


paleti
ग्ल्यामर नेपाल, काठमाडौं। पलेँटीले दसौं वर्षको श्रृंखला थाल्दा शुक्रबार आफुलाई ‘सम्झना पलेँटी’का रुपमा प्रस्तुत गरेको छ। आधुनिक नेपाली संगीत र यसका विशेषताहरु पर्गेल्ने थलोका रुपमा विकास हुँदै आएको पलेँटीले यो वर्षको प्रारम्भ आफ्ना मञ्चमा प्रस्तुत भइसकेका दिवंगत सर्जकहरुको सम्झना गरेर थालेको छ।

त्यसैले पहिलो गीतै भिम ‘विराग’को थियो, ‘तिमीले पनि मजस्तै माया दिएर हेर।’ नारायण गोपालले गाएको यस गीतलाई पलेँटीमा कुनै समय गीतकार एवं संगीतकार ‘विराग’ स्वयंले प्रस्तुत गरेका थिए भने अहिले उनैको सम्झनामा गायिका मीनाले गाइन्।

पलेँटीका संयोजक आभास र मीनाले पालै पालो गाएर प्रस्तुत गरेको साँझमा अर्को सम्झना थियो गत वर्ष हामीले गुमाएका अर्का गायक फत्तेमानको ‘हिजो आज सधैँ, टुक्रा टुक्रा निन्द्रा सुत्छु’। बानिरा गिरिले लेखेको र आभासकै संगीतको यो गीत ‘फत्तेमान ७० मा’ अल्बममा अटाएको थियो भने पलेँटीमा पनि उनै अग्रज गायकले बारम्बार सुनाएका थिए।

कार्यक्रममा एकताका हराइसकेका फत्तेमानको पलेँटीमार्फत् पुनर्उदयका संस्मरणसमेत आभासले सुनाएका थिए। यसरी गीत र सम्झनाहरु सुन्दै अघि बढेको कार्यक्रममा फत्तेमानकै ‘कुर्नु कुरीसकेपछि’ र ‘रातको सपना बाँकी हुन्न बिहानीमा उठ्दा’ जस्ता गीत पालैपालो मीना र आभासले सुनाएका थिए। सबैमा आभासकै संगीत रहेको अघिल्लो गीत मञ्जुलको रचना थियो भने दोश्रो तीर्थ श्रेष्ठको। त्यसपछि कार्यक्रम पलेँटीले गुमाएको अर्को श्रष्टा अर्थात् राममान तृषिततर्फ मोडियो। उनकै रचनाको ‘मैले पुण्य मनपराएँ’ लाई मीनाले गाएर सुनाएकी थिइन्। त्यसपछि आभासले भीम ‘विराग’का दुई गीत लगातार गाएर सुनाए, ‘गलत मोडमा जब मोडिन्छ जिन्दगी’ ‘नबोलाउ कसैलाई तिमी राती राती’। गलत मोडमाका गायक प्रेमध्वज पनि कार्यक्रममा उपस्थित थिए। कार्यक्रमको पहिलो खण्ड मीनाको आवाजमा राममान तृषितकै ‘एक फूल झरेर के भो’ बाट समाप्त भएको थियो।

‘फूललाई मेरो सलाम, काँडालाई पनि सलाम’, ‘तिमीले रोपेको घाउ, छोउँ छोउँ लाग्यो’, ‘मनभरि आज पिउन देउ मनमाया’ र ‘छाती भरी खत छ’ जस्ता लगातार भीम ‘विराग’का चार गीतबाट दोश्रो चरणको कार्यक्रम अघि बढेको थियो । नेपाली गीतका श्रोताहरुले हरिभक्त कटुवाललाई सदैव गीतकारका रुपमा चिन्दै आएका छन् । तर, कटुवालले कोहि अरुको रचनामा संगीत भर्ने काम पनि गरेका छन् भन्ने कसैलाई थाहा थिएन । केहि वर्षअघि पलेँटीका निम्ति आसामको डिग्बोइदेखि आएकी गायिका मिरा थापाले यो गीत काठमाडौंका श्रोतालाई सुनाउदा सबै चकित परेका थिए । अबको पालो पलेँटीले गुमाएको अर्की सर्जक उनै मिरालाई सम्झने थियो । युद्धवीर रानाको शब्द र हरिभक्त कटुवालको संगीतमा बनेको त्यही गीत ‘मलाइ कसैले’ गाएर मीनाले सुनाइन्।

प्रवासमा बसेर नेपाली संगीतको अभ्यास गर्दै आएकी मिरा थापाको आगमनसँगै त्यतिबेला काठमाडौंका श्रोताले आश्चर्यमा पार्ने अर्को रचना पनि सुन्न पाएका थिए। त्यतिन्जेल धेरै कमलाई सुविख्यात भारतीय गायक एवं संगीतकार भूपेन हजारिकाले नेपाली गीतमा पनि संगीत भरेका छन् भन्ने जानकारी थियो। भविलाल लामिछानेको शब्द र हजारिकाको संगीतमा उतिबेला बनेको ‘यो सिसाको जिन्दगी’लाई पलेँटीको संग्रहालयबाट सुनेर जस्ताको त्यस्तै उतारेकी थिइन् मणिपुरबाटै आएकी पलेँटीकी नियमित गायिका मीनाले।

मञ्जुलको रचना ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ’ बाट कार्यक्रमको अन्त्य फत्तेमानलाई सम्झेर गरिएको थियो। आगामी महिनाको पलेँटी श्रृंखलामा गायक बाबु छोरी प्रकाश गुरुङ र रिमा गुरुङ होडा प्रस्तुत हुनेछन्।

SUBSCRIBE 👉