कामना फिल्म अवार्डस्ः अनमोल र बेनिशा सर्वोत्कृष्ट नायक / नायिका


‘कामना फिल्मस् अवार्ड्स–२०७’ मा सर्वोत्कृष्ट अभिनेताको अवार्ड अनमोल केसीले चलचित्र ‘कृ’ बाट हासिल गरेका छन्। सर्वोत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड अभिनेत्री बेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट प्राप्त गरिन्।

३५औं वार्षिक उत्सवको अवसर पारेर कामना पब्लिकेसनले सिजी इन्टरटेनमेन्टको सहकार्यमा शनिबार ललितपुरको हेरिटेज गार्डेनमा आयोजना गरेको यो अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड ‘लिलीबिली’ले जित्यो। चलचित्र लिलीबिलीबाटै सर्वोत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले जिते। लिलीबिलीबाटै जसिता गुरुङले सर्वोत्कृष्ट नवअभिनेत्रीको अवार्ड हासिल गरिन्। नव अभिनेताको अवार्ड चलचित्र ‘ग्याङ स्टार ब्लुज’बाट आशिरमान देशराज जोशीले प्राप्त गरे। नव निर्देशकतर्फको अवार्ड चलचित्र ‘घामपानी’बाट दीपेन्द्र लामाले जिते। लामाले घामपानीबाटै सर्वोत्कृष्ट कथाको अवार्ड पनि हासिल गरे।

अवार्ड समारोहमा १० विधाको मनोनयनमा परेको चलचित्र लीलीबीलीले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, नवअभिनेत्री, पाश्र्व संगीत र ध्वनि मिश्रण गरी सर्वाधिक ५ विधाको अवार्ड चुमेको छ।

सहअभिनेताको अवार्ड
सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड चलचित्र ‘शत्रु गते’बाट शिवहरि पौडेलले र सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘छक्का पञ्जा–२’बाट वर्षा राउतले प्राप्त गरे। समारोहमा सर्वोत्कृष्ट खल अभिनेताको अवार्ड चलचित्र ‘संरक्षण’मा रमेशरञ्जन झाले चुमे भने संरक्षणबाटै हिमाल केसीले सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जिते। हास्य कलाकारतर्फको अवार्ड चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट राजाराम पौडेलले र बालकलाकारको अवार्ड चलचित्र पिँजडा ब्याक अगेनबाट कुशाग्रह भट्टराईले जिते।

पटकथाको अवार्ड
लेखनतर्फ सर्वोत्कृष्ट पटकथाको अवार्ड चलचित्र शत्रु गतेबाट दीपकराज गिरी र प्रदीप भट्टराईले संवादको अवार्ड पनि शत्रु गतेबाटै हरिवँश आचार्य र प्रदीप भट्टराईले संयुक्त रूपमा प्राप्त गरे।

संगीत विधामा अवार्ड
प्रतिस्पर्धी २८ विधामा र बाँकी अप्रतिस्पर्धी गरी ३१ विधामा यो अवार्ड प्रदान गरिएको थियो। जसअन्तर्गत चलचित्र संगीततर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड चलचित्र ‘ऐश्वर्य’को गीत तिमी रोएको पल…बाट अर्जुन पोखरेलले, चलचित्र गीतकारको अवार्ड चलचित्र संरक्षणको सम्झनाको सारंगी…बाट धिरेन्द्र प्रेमर्षीले, सर्वोत्कृष्ट चलचित्र गायकको अवार्ड चलचित्र ‘ऐश्वर्य’कै गीत तिमी रोएको पल…बाट र चलचित्र गायिकाको अवार्ड फिल्म ब्लाइन्ड रक्सको गीत उड्यो मन…बाट बानिका प्रधानले प्राप्त गरिन्। सर्वोत्कृष्ट पाश्व संगीतको अवार्ड चलचित्र लिलीबिलीबाट एलिस कार्कीले जिते।

प्राविधिक विधामा अवार्ड
प्राविधिक विधातर्फ, सर्वोत्कृष्ट चलचित्र सम्पादनको अवार्ड कृबाट सुरेन्द्र पौडेलले, सर्वोत्कृष्ट चलचित्र छायांकनको अवार्ड कृबाटै पुरुषोत्तम प्रधानले, नृत्य निर्देशकको अवार्ड चलचित्र २ रुपैयाँको कुटुमा कुटु…गीतको नृत्य निर्देशनबाट कविराज गहतराजले हाँसिल गरे। यस्तै ध्वनि मिश्रणको अवार्ड चलचित्र लिलीबिलीबाट मुकेश शाहले, शृंगारतर्फको अवार्ड चलचित्र घामपानीबाट शंकर थापाले पाए।

वर्षको अभिनेत्रीहरूबीच प्रतिस्पर्धा हुने‘लक्स स्टार अफ द इयर’को अवार्ड अभिनेत्री प्रियंका कार्कीले हासिल गरिन्।

जुरी र क्रिटिक्स अवार्ड
समारोहमा जुरी र क्रिटिक्स अवार्ड पनि प्रदान गरिएको थियो। जुरी अवार्ड चलचित्र ‘भुइँ मान्छे’का लागि नवराज बुढाथोकीले, स्पेसल मेनसन अवार्ड अभिनयतर्फ भुइँ मान्छेबाटै अभिनेता रमेश बुढाथोकीले र चलचित्र ‘शेरबहादुर’बाट सुनिल थापाले प्राप्त गरे।

तीन विधामा प्रदान गरिएको क्रिटिक्स अवार्डअन्तर्गत नाट्यतर्फबाट सिजी क्रिटिक्स नाट्यकर्मी वीरेन्द्र हमाललाई, संगीततर्फको सिजी क्रिटिक्स अवार्ड संगीतकार कालीप्रसाद बासकोटालाई र फेसनतर्फको सिजी क्रिटिक्स अवार्ड फेसन डिजाइनर अनु श्रेष्ठलाई प्रदान गरियो।

लाइफटाइम एचिभमेन्ट अवार्ड
जनप्रिय संगीतकार शम्भुजीत बासकोटा र लोकप्रिय हास्यव्यंग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी)ले ‘कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५)बाट सम्मानित गरियो।

नेपाली चलचित्र क्षेत्रमा लगातार साढे तीन दशकदेखि योगदान दिएर ३ सयभन्दा बढी चलचित्रको संगीत सिर्जनासहित हजारौं लोक, आधुनिक, पप, राष्ट्रिय गीतमा संगीत सिर्जना गरी नेपाली संगीतको विकासमा श्रीवृद्धि गरेको भन्दै अग्रज संगीतकार शम्भुजीतलाई कीर्तिमय दीर्घ योगदान सम्मान प्रदान गरिएको कार्यक्रममा बताइयो।

यस्तै, लगातार साढे तीन दशकदेखि नेपाली चलचित्र, टेलीचलचित्र, नाट्य, प्रहसनजस्ता क्षेत्रमा निरन्तर अभिनयसँगै लेखन तथा समाजिक कार्यक्रममा पु¥याएको अतुलनीय योगदानको कदरस्वरूप अग्रज कलाकारद्वय मह जोडीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको कार्यक्रममा जानकारी गराइयो।

अवार्डसँगै नृत्य र अभिनयको संगम
चौथो संस्करणको यो अवार्ड समारोह अवार्डसँगै संगीत र नृत्यमय पनि भएको थियो । अग्रज कलाकार भुवन चन्द, चैते देवी, भुवन केसी, झरना थापा, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, प्रियंका कार्की, अयुषमान देशराज जोशी हुँदै प्रदीप कार्की र जसिता गुरुङसम्मले आआफ्ना चर्चित गीतमा गरेको नृत्य कार्यक्रमको आकर्षक बनेको थियो।

आनन्द कार्की, निशा देशार, रामचन्द्र काफ्ले, कृष्ण काफ्लेसहित विभिन्न कलाकारले पुरानादेखि नयाँ चलचित्रका गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याए। अभिनेता सरोज खनालको समूहले कवितामाथि गरेको अभिनय जति प्रशंसनीय थियो। वीरेन्द्र हमाल र उनका साथीहरूले फूलको थुँगा…गीतमा द्वन्द्वमा अपांगता भएका नेपाली सेनाहरूको कथा समेटेर गरेको भाव नृत्य पनि त्यत्तिकै सशक्त थियो।

अभिनेता सरोज खनाल र गौरी मल्लको सलिन कार्यक्रम सञ्चालनसँगै अभिनेता प्रदीप खड्का र अभिनेत्री केकी अधिकारीले हास्यप्रधान कार्यक्रम सञ्चालन पनि दर्शकका लागि त्यत्तिकै रोचक बनेको थियो। यी सबैलाई सञ्चालनमा मुख्य संयोजन नरेश भट्टराईले गरेका थिए।

SUBSCRIBE 👉