सुनिता दुलाल भन्छिन – ‘सिंगल छु, त्यसैले धेरै अफर आउँछन्’


sunita-dulalनेपाली लोक गीत संगीतमा गायिका सुनिता दुलाल कुनै नौलो नाम होईन। वर्षैपिच्छे नयाँ नयाँ शैलीका गीति एल्बम लिएर श्रोतामाझ आउने सुनिता रुपले जति राम्री छन्, उनको गायनको शैली पनि उति नै उत्कृष्ठ छ। सिन्धुपाल्चोकको जलबीरेमा जन्मिएर हाल राजधानीमा बस्दै आएकी सुनिताले पद्यमकन्या क्याम्पसबाट संगीतमा अध्ययन गरिसकेकी छन्। हालसम्म पाँचवटा सांगीतिक एल्बम श्रोतामाझ ल्याइसकेकी सुनिताले गाएका ‘आमाले पकाको मिठो खाना’, ‘अब त मैले नी झुम्का लगाउँछु’,‘उनको लागि ब्रत बसेको’ र ‘मेरै दीलमा फूल्यौ निरमाया’ गीत निकै चर्चित गीतमा पर्दछन्। स्वदेशदेखि विदेशका विभिन्न स्थानमा गएर सांगीतिक कार्यक्रम गर्दै आएकी सुनितासँग ग्ल्यामर नेपालले गरेको कुराकानीको सारसंक्षेप:

क्यानाडाको कार्यक्रम कस्तो रह्यो ?
एकदमै अविस्मरणीय रह्यो। त्यहाँको एक, दुईवटा राज्यबाहेक अन्य सबै राज्यमा हामी(उनीसँग गायक धिरज राई पनि थिए)ले गर्यौ। दर्शक संख्या उल्लेख्य थियो। करिब ५ सय दर्शक थिए, त्यहाँको लागि यो संख्या धेरै हो। मैले १२ देखि १३ वटा गीत गाएँ, कतिपय गीतमा त वान्समोर पनि आयो। लोक र पपको फ्युजन गरेर कार्यक्रममा गाइएकाले सबै दर्शकले गीतलाई रुचाए।

विदेशमा नेपाली गीत संगीतको क्रेज कस्तो पाउनु भएको छ ?
वास्तवमा विदेशमा नेपाली गीत संगीतको क्रेज कस्तो छ भन्ने कुरा त्यहाँ गएपछि मात्र थाहा हुन्छ। त्यहाँ कलाकारलाई दिइने सम्मान, नेपाली गीत रुचाउने दर्शकको संख्याले नै नेपाली गीतको लोकप्रियता देखाउँछ। बरु नेपालमा हिन्दी गीत सुन्ने दर्शक बढी होलान्, तर विदेशमा नेपाली लोक गीतमा नाँच्नेको जमात नै विशाल छ। म जति पनि विदेशका कार्यक्रममा जान्छु, त्यहाँका नेपालीले लोप हुन लागेका नेपाली गहना लगाएको देखेको छु। नेपालमा रहेका नेपालीले यहाँको गीत संगीतलाई जति माया गर्छन्, त्यो भन्दा बढी मायामा विदेशमा रहेका नेपालीहरुले गर्ने गरेको पाएको छु।

नेपालमा भन्दा पनि विदेशमा तपाईको माग बढी पाइएको छ ? कारण के होला ?
मलाई यस्तो लाग्दैन किनकी नेपालमा पनि मेरो माग बढी छ। तर मैले नेपालका कार्यक्रममा समय दिन सकेको छैन किनभने म एक वर्ष अगाडि देखि नै कार्यक्रमका लागि बुक भइसकेको हुन्छु। त्यसो त नेपालमा हुने विभिन्न महोत्सवहरुमा पनि मेरो सहभागिता उत्तिकै हुन्छ, तर विदेशका कार्यक्रमबाट राम्रो पारिश्रमिक पाइने भएकाले पनि विदेशका कार्यक्रम छोड्न सक्दिन। विदेशमा जाँदा त्यहाँका देशको भ्रमणसँगै नेपालीसँग अन्तरक्रिया पनि गर्छु। तीजको बेलामा दिनमा १२ वटासम्म कार्यक्रम गरेको छु। देशका ४५ देखि ५० जिल्लामा पुगेर कार्यक्रम चलाउँदै गाएको पनि छु।

फाइदाको हिसाबले विदेशका कार्यक्रम राम्रो कि स्वदेशकै कार्यक्रम राम्रो हो ?
फाइदाको कुरा गर्दा अहिले विदेशमा भन्दा नेपालमा पनि राम्रो पारिश्रमिक पाउन थालिएको छ। कलाकारलाई बाच्ने आधार राम्रो छ। पहिला–पहिला आयोजकले महोत्सव गर्दा बार्गेनिङ गर्थे, अहिले कलाकारको माग अनुसार पारिश्रमिक दिन्छ। अहिलेका दर्शकहरु नाँच्ने किसिमको गीत मनपराउँछन्। स्लो किसिमको सुनेर बस्ने माहौल छैन, दर्शकको माग नै डान्सिङ प्याटर्नको बढी छ। हालै क्यानाडामा पनि यस्तै देखियो।

विदेशमा कार्यक्रम गर्ने कलाकारहरु पीडित भए भन्ने सुनिन्छ, तपाईको मामलामा यस्तो केही भएको छ ?
मेरो अनुभवमा म एक पटक मात्र यस्तो अवस्थामा परेकी छु। तीन वर्ष पहिले हैदरवादमा भएको तीजको कार्यक्रममा सहभागी हुन एकजना कलाकारमार्फत त्यहाँ गएको थिएँ। कार्यक्रम पछि आयोजक नै बेपत्ता भए। जसोतसो त्यहाँबाट हामी काठमाडौं फर्कियौं। तर त्यसपछि म कहिल्यै पनि त्यस्तो भएन। आजकल विदेशमा हुने कार्यक्रम राम्रो हुँदा तोकिएको पारिश्रमिक भन्दा बढी नै पाउने गरेकी छु।

केही समय अघि मात्र फेसबुकले तपाईको पेजलाई भेरिफाइड गरेको छ, कस्तो लागिरहेको छ ?
मलाई निकै खुशी लागेको छ। फेसबुकले आधिकारिता दिएपछि अझ धेरै कार्यक्रमको अफर आएको छ। अब दर्शक नझुक्किनेमा म ढुक्क छु र फेक आइडीबाट छुटकारा पाएको छु। सबैजनाको सल्लाह र सुझाव पनि पाएको छु। पेजमा अझै लाइकको क्रम बढेको छ।

तपाई विशेषत लोकदोहोरी क्षेत्रमा सक्रिय हुनुहुन्छ, फिल्मी पाश्र्व गायनमा आउने रहर छ कि छैन ?
मलाई फिल्ममा गाउने अफर पनि आएको छ तर समय नभएर मात्र नगाएको हो। म पहिलादेखि नै अरुणा लामाको गीत सुन्थे। मेरो सांगीतिक करिअर लोकगीतको कार्यक्रम चलाएर शुरु भयो, आधुनिक चाहिँ भर्खर–भर्खर मात्र हो। कलाकार भएर आफुलाई सुट हुने किसिमको गीत गाउनु त छँदैछ आफ्नो स्वरलाई भर्सटायलिटी पनि बनाउनुपर्छ। जसले गर्दा दर्शक र श्रोताले विभिन्न स्वादका गीत पाउन सक्छन्। फिल्ममा प्रमुख समस्या भनेको पारिश्रमिक नै हो। मेरो पहिलो प्राथमिकता भनेको लोकदोहोरी, तीज र लोक आधुनिक गीत नै हो।

एकसाथ दुई एल्बमको तयारी गरिरहनु भएको छ, किन होला ?
एउटा तिजको एल्बम हो भने अर्को लोक आधुनिक किसिमको गीति एल्बम ल्याउने तयारी गर्दैछु। पुरानो चर्चित गीत ‘झम्के फुली’लाई रिमेक गरेर घमेश दुलाल र ध्रुवराज खड्कासँग गाउँदैछु। गीतमा सुरेश खड्काको शब्द रहेको छ । यो गीत अब हप्ता दिनमै दर्शकमाझ आउनेछ।

विदेशमा एल्बम विक्रीको लहर कस्तो पाउनुभएको छ ?
विदेशमा एल्बमको चार्म एकदमै बढी छ। नेपालमा पाइरेसी भयो भनेर बस्नु भन्दा विदेशमा गएर पुस सेल गर्दा फाइदा हुन्छ। श्रोता दर्शकहरुले क्यासेट किनेर सुन्छन्। यो कुरा मलाई एकदमै खुशी लाग्छ। यसपटक क्यानडाको भ्रमणमा पनि मेरा धेरै सिडीहरु विक्री भए। विदेशमा तिजका सिडीहरुको माग राम्रो छ। तिजका सिडीबाट लगानी उठ्छ।

गीत गाएरै जीवन चलाउने अवस्था छ ?
नेपालमा अहिले त्यो अवस्था छ। कलाकारको डिमान्ड अनुसार नै कार्यक्रममा बोलाइन थालिएको छ। हाम्रो डिमान्ड अनुसार आयोजकले रकम दिन सकेनन् भने बजेट अनुसारको पनि लिन सकिन्छ। कलाकारलाई पारिश्रमिक दिनुपर्छ भन्नेमा आयोजक सचेत छन्। मेला महोत्सवले बाँच्ने आधार दिएको छ । एक कलाकारले न्यूनतम ३५ हजारसम्म पारिश्रमिक लिन्छन्, त्यसकारण कलाकारलाई बाँच्नका लागि राम्रो छ।

तपाई यति राम्री हुनुहुन्छ, दर्शकबाट लभको अफर पनि आउँछ होला नि ?
अहिलेसम्म त म सिंगल नै छु, त्यसकारण पनि अफर त आउँछ नै। अविवाहित नारीलाई यस्तो अफर आउनु स्वाभाविक पनि हो। तर म मेरो कामलाई बुझ्ने र शिक्षित किसिमको पुरुषसँग बाँधिन चाहन्छु।

SUBSCRIBE 👉