ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म बनाउनभन्दा चलाउन गाह्रो हुन्छ त्यतिको भनिएको होइन रहेछ। यदि यस्तो नहुँदो हो त लाखौं लगानी र महिनौं समय खर्चिएका फिल्म वर्षौसम्म त्यतिकै थन्कदैन्थे। सुन्दा पत्यार नलाग्न सक्छ, नेपालमा लाखौं लगानी गरिएका दुई दर्जनभन्दा लामो फिल्मले वर्षौ बितिसक्दा पनि हलको मुख देख्न पाएका छैनन्। कति फिल्मले पोस्ट प्रोडक्सन सकेर सिनेमाघरमा प्रवेश पाएका छैनन् भने कति सुटिङ हुँदाहुँदै रोकिएका छन्। सुटिङपश्चात् प्राविधिक समस्याले थन्किएका फिल्मको सूची पनि लामो छ।
ढिला रिलिज हुँदा एकातिर लगानी बढ्छ, अर्कातिर विषयवस्तु र परिवेश बासी हुने सम्भावना उत्तिकै हुन्छ। प्राविधिक समस्या अझ बढ्दै जान्छ। अनि बल्ल–बल्ल रिलिज पाएपनि त्यो ‘स्टक क्लियरेन्स’ जस्तो मात्र हुन्छ। लगानी उठाउने सम्भावना लगभग शुन्य हुन्छ। तर पनि निर्माताहरु समयमै फिल्म रिलिज गर्न अग्रसर देखिन्नन्। अधिकांश फिल्म त रिलिज हुने कुनै छाँटकाँट पनि देखिन्न। त्यस्तै अभागी फिल्म मध्ये एक हो, ‘मातृभूमि’।
वैदेशिक रोजगारमा जाने नेपालीको कथा–व्यथा समेटिएको ‘मातृभूमि’को सुटिङ सकिएको पनि चार वर्ष बितिसक्यो तर पनि रिलिजको कुनै सुरसार छैन। कार्टेलिङ र फिल्मलाई समोसाको भाउ नदिने वितरकहरको प्रवृत्तिले गर्दा बनिसकेको फिल्म पनि रिलिज गर्न नसकिएको दुखेसो पोख्छन्, निर्देशक नाराण पुरी। रिलिज ढिला भएकाले स्वाभाविकरपमा प्रविधि र लोकेसनका हिसाबले फिल्म कमजोर भएको छ भने कलाकारहरु सुशील क्षेत्री र सौजन्य सुब्बाको लोकप्रियता पनि घटिसकेको छ। त्यसैले २२ लाख डुब्ने चिन्तामा छन् उनी। जति ढिला भयो, नोक्सान बढ्दै जाने भएकाले लगानी उठ्ने भयो भने मात्र पनि वितरकलाई फिल्म दिने योजनामा पुगेका छन्।
नारायणकै अर्को फिल्म ‘ए फर अमेरिका’को काम पनि करिब डेढ वर्षदेखि रोकिएको छ नायिका रेखा थापाले अमेरिकामा सुटिङ गर्न गएका बेला त्यहाँ रहेका नेपालीको अपमान हुने अभिव्यक्ति दिएपछि उनको ठाउँमा नयाँ नायिकालाई अभिनय गराउनुपर्ने बाध्यता आएको छ। फिल्मका वितरक अमेरिकाका हुन् र फिल्म अमेरिका नै लक्षित गरेर बनाइएको हो। तर, अपमानजनक अभिव्यक्तिपछि रेखालाई त्यहाँ बहिष्कार गरिएकाले उनको भूमिकामा रुपा उउ पाध्यायलाई खेलाउने तयारीमा रहेको बुझिएको छ।
नवीन सुब्बाले ‘गुडबाई काठमाडौँ’ बनाएको पाँच वर्ष बित्यो। सुटिङ सकिएकै तीन वर्ष नाघिसक्यो। तर, अहिलेसम्म फिल्म सार्वजनिक हुने टुंगो छैन। निर्देशक, कलाकार र विषयवस्तुका कारण निर्माण सुरु भएदेखि नै धेरैको ध्यान तानेको भए पनि समयमै रिलिज नभएपछि गुडबाई काठमाडौँको चर्चासमेत हुन छाडेको छ। मूलधारका मिडियामा मात्र होइन, सामाजिक सञ्जाल र फिल्मी जमघटमा पनि यसको खोजी भएको छैन। जबकी यही फिल्ममा प्रोडक्सन सहायक भएर काम गरेका निश्चल बस्नेत नेपाली फिल्मका स्थापित निर्देशकमा गनिन थालिसकेका छन्।
‘गुडबाई काठमाडौँ’ पोस्ट प्रोडक्सनको काम निर्देशक सुब्बालाई चित्त नबुझेर रोकिएको हो। सम्पादनका लागि फिल्म फ्रान्स लगिएको थियो भने इटालीबाट सम्पादक झिकाइएको थियो। हालसम्म स्वदेशी र विदेशी गरी १ करोड ३० लाख लगानी भइसकेको निर्मातामध्ये एक पदम सुब्बाले जानकारी दिए।
पटक–पटकको सम्पादनका कारण लगानी बढेको र यस वर्षभित्र फिल्म रिलिज गर्ने योजना बनाइएको उनको भनाइ छ। पूर्वमिस नेपाल माल्भिकाको यो डेब्यु फिल्म हो तर रिलिज नभएपछि उनको फिल्मी यात्रा अगाडि बढेको छैन। अभिनेता कर्म र प्रमोद अग्रहरि पनि त्यस्तै संकटमा छन्।
सुटिङ रोकिएको एक दशक बितिसक्दा पनि त्यतिकै थन्किएको अर्को फिल्म हो, ‘हारजित’। राजेश हमाल र सञ्चिता लुइँटेलको अभिनय रहेको यो फिल्म निर्माताबीच विवाद उत्पन्न भएपछि ९० प्रतिशत सुटिङ भइसकेपछि अलपत्र परेको हो। सहमति बमोजिम निर्देशकले लगानी नगरेकाले काम अघि नबढेको कलाकार तथा निर्माता विवेक सापकोटाको गुनासो छ। सोही कारण विकेकसहित अर्का निमार्ता एलबी तामाङको २८ लाख रुपियाँ डुबेको छ।
शंकर घिमिरे र ऋचा घिमिरे जोडीको ‘तुलसी’ निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि रिलिज भएको छैन। जबकि, घिमिरे दम्पतीले ‘तुलसी’भन्दा पछि बनाएको ‘ब्रेकफेल’ रिलिज भएको तीन वर्ष बितिसकेको छ। यो जोडी हाल अमेरिकामा रहेकाले अझ केही समय रिलिज नहुने पक्का छ। यद्यपी निर्देशक शंकर नेपाल फर्किना साथ ‘तुलसी’को सार्वजनिक प्रदर्शन गर्ने बताउँछन्। आफ्नो पहिलो फिल्म रिलिज नहुँदा नायक विमलेश अधिकारी सबैभन्दा बढी पीडामा छन्। उनको फिल्मीयात्राले पनि गति लिन सकेको छैन।
अशोक शर्माको लगानी रहेको फिल्म ‘शून्य’को हल टिजर सार्वजनिक भएको डेढ वर्ष बिते पनि अझै रिलिज भएको छैन। बल्ल पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। कुमार शाह निर्देशित फिल्म ‘कार्तिक’ पनि बीच बाटोमै अलपत्र परेको छ। आधा सुटिङ सकिएपछि अघिल्लो असारमा रोकिएको फिल्मको काम अझ अगाडि बढ्न सकेको छैन।
रेश मरहट्ठाको लगानी रहेको फिल्म ‘च्यालेन्ज’ रिलिज हुने हल्ला चलेको पाँच वर्ष बितिसक्यो। तर, अझ अत्तोपत्तो छैन। फिल्म पूरा भए पनि हेर्दा चित्त नबुझेकाले ५०-६० प्रतिशत दृश्य रिसुट गरिएको मरहट्ठाको दाबी छ। उनले पाश्र्वध्वनिदेखि कलरिङसम्म परिवर्तन गरिएको जानकारी दिए। भन्छन्, “सबैले गर्व गर्न लायक फिल्म बनाउने कोसिस गर्दै छु। त्यसैले लगानी र समय बढी लागे पनि आत्तिएको छैन।”
निर्देशक दीपक रायमाझीको निधन भएपछि ‘डेस्टिनेसन काठमाडौँ’ रिलिज हुन सकेको छैन। रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ लाई मधुसूदन भट्टराईले पूरा गर्ने चासो देखाए पनि तत्काल रिलिज हुने छाँटकाँट छैन। उता, रामराजा दाहालको ‘हे युवा’ र रामकृष्ण बजगाईंको ‘जनता जिन्दावाद’को छायाँकन सकिएको लामो समय बितिसकेको छ। फिल्म ‘हे युवा’ भिसिडीमा बजारमा आयो भने ‘जनता जिन्दावाद’ केहि च्यारिटी सो मा मात्र सिमित भएको छ। यी दुवै फिल्म अब सार्बजनिक प्रदर्शन हुने सम्भावना निकै कम छ।
अधिकांश नेपाली निर्मातालाई प्रि–प्रोडक्सनदेखि पोस्ट प्रोडक्सन हुँदै रिलिजसम्म कति खर्च र समय लाग्छ भन्ने थाहा हुँदैन। व्यावसायिकभन्दा अन्य स्वार्थ लिएर फिल्म निर्माण गर्नेको जमात ठूलो छ। लहलहै र देखासिखीको भरमा सुटिङ सुरु गर्छन्। त्यसैले सुटिङ भ्याउनै मुस्किल हुन्छ। बल्लतल्ल सुटिङ सके पनि पोस्ट प्रोडक्सनमा समस्या आइपर्छ। र, लगानी बालुवामा पानी खन्याएजस्तै हुन्छ। बजेट र विषयवस्तुको यथेष्ट गृहकार्यबिना नै सुटिङ सुरु गर्ने गलत प्रवृत्तिले फिल्महरु गर्भमै तुहिने निर्माता संघका प्रवक्ता सुरेश दर्पण पोखरेलको भनाई छ।