तीतो-सत्यको पहिलो भाग ४ भदौ ०६० मा प्रसारण हुँदा दीपकराज गिरी निकै नर्भस थिए। अरूलाई हँसाउन बनाएको सिरियलले आफैँलाई हाँसोको पात्र बनाउला भन्ने डर थियो। यसो हुनुमा दुईवटा कारण थिए। एकातिर सन्तोष पन्तको हिजोआजका कुराको जगजगी रहेको त्यो समयमा दीपकले हास्य सिरियल बनाएको भन्नासाथ सबैले ओठ लेप्र्याउँथे। अर्कोतिर ५ वटा टेलिफिल्मको डमी डस्टबिनमा फालेपछि मात्र तीतो-सत्यले नेपाल टेलिभिजनबाट प्रसारण हुने सौभाग्य पाएको थियो। यति भएपछि हास्य कलाकारितामा पाइला चाल्दै गरेको ठिटो आत्तिनु स्वाभाविकै हो।
भोलि कसले देखेको थियो र ? तीतो-सत्यले दीपकले सपनामा पनि नसोचेको सफलता पायो। करिब आठ वर्ष टीआरपी होल्ड मात्र गरेन, नेपालकै सबैभन्दा लामो सिरियलको इतिहास पनि बनायो। दीपक रातारात बिकाउ सेलिब्रिटीका रूपमा स्थापित भए। ठूल्ठूला ब्रान्डका विज्ञापनको बाढी नै आयो। कतिसम्म भने तीतो-सत्य प्रसारण हुन थालेको करिब दुई वर्षपछि हिजोआजका कुरा बन्द भयो। यसको मुख्य कारण तीतो-सत्यलाई नै मानिन्छ।
उसो त तीतो-सत्यको लोकप्रियताको फाइदा दीपकमा मात्र सीमित भएन। समग्र हास्यव्यंग्य क्षेत्रमै उभार ल्यायो। दीपकका प्रतिस्पर्धी मानिएका हास्यकलाकार जितु नेपाल भन्छन्, ‘तीतो-सत्यपछि नेपालमा हास्य कलाकारिताको नयाँ युग सुरु भएको मान्न सकिन्छ। हास्य सिरियलको बाढी नै आयो। देश-विदेशमा हुने कार्यक्रममा पनि कमेडी कलाकारको माग अकासियो।”
अभिनयका नवरस हुन्छन्, त्यसमा हास्यरस निकै प्रभावकारी मानिन्छ। नेपालमा मात्र होइन, संसारभर निकै रुचाइने कलाकारितामा पर्छ, हास्यव्यंग्य। मिस्टर बिन र चार्ली च्याप्लिनले संसारभर तहल्का मच्चाए। नेपालीको त झन् संस्कृति पनि हँसाउने शैलीको छ। गाईजात्रा, रत्यौली, रोधी यसका उदाहरण हुन्। प्रकाश थापा निर्देशित सिन्दूर फिल्मका हिरो विश्व बस्नेत र हिरोइन मीनाक्षी आनन्द कमैलाई सम्झना होला तर त्यही फिल्मको हास्य जोडी चंखे-नक्कली अर्थात् गोपालराज मैनाली र वसुन्धरा भुसाल अहिले पनि धेरैको मानसपटलमा उत्तिकै प्रिय छ। यसबाट पनि नेपालीको कमेडी मोह प्रस्टिन्छ तर राजनीतिक अस्थिरताका कारण हाँसो दमित थियो, राणाकालदेखि पञ्चायतसम्म।
०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापछि पनि न आशा गरिए अनुरूप आर्थिक विकास भयो, न स्वतन्त्रता नै। त्यसमाथि ०५२ सालमा माओवादीको सशस्त्र द्वन्द्व सुरु भएपछि जनता झन् पीडामा पिल्सिए। वाक् स्वतन्त्रता खोसियो। लोकतन्त्र आए पनि निराशा हटेको छैन। लोकप्रिय हास्यकलाकार मनोज गजुरेल भन्छन्, “यस्तो बेला जनताले बोल्न नसकेका कुरा हास्य सिरियल र कलाकारले मुखरित गरिदिए। त्यसैले छोटै समयमा ठूलो सफलता पाइरहेका छन्।”
तीतो-सत्यको सफलता नियाल्दा पनि गजुरेलको भनाइ पुष्टि हुन्छ। मुलुक सशस्त्र द्वन्द्वले आक्रान्त भइरहेका बेला तीतो-सत्यको प्रसारण सुरु भएको थियो। राजनीतिक दल र तिनका नेतासँग जनताको मोहभंग भएको थियो। सामाजिक विकृति बढिरहेको थियो। सबैतिर निराशा छाएको थियो। त्यस्तो बेला हास्य सिरियल सुरु गर्नु आफैँमा चुनौतीपूर्ण थियो। तर, दीपकले त्यसलाई अवसरका रूपमा सदुपयोग गरे। राजनीतिक र सामाजिक विसंगतिविरुद्ध तीखो र चोटिलो व्यंग्य गर्न थाले। एकातिर नेतालाई गाली, अर्कोतिर मनोर ञ्जन। “खासमा तीतो-सत्य हिजोआजको कुराकै नक्कल थियो,” उनी सम्झन्छन्, “फरक कति मात्र थियो भने मैले सन्देशभन्दा कमेडीलाई प्राथमिकता दिएँ।” त्यसपछि त बिहीबार बेलुकी ९ बजे पर्खाइको घडी बन्यो।
तीतो-सत्यको लोकप्रियता अकासिएसँगै नेपाली टेलिभिजन च्यानलमा हास्य सिरियलको बाढी नै आयो। प्राइम टाइममा कमेडी सोकै बोलवाला चल्यो। तीतो-सत्यसँगै नेपाल टेलिभिजनबाट प्रसारित जिरे खुर्सानी, मेरी बास्सै र भद्रगोल अहिले निकै रुचाइएका हास्य सिरियलमा पर्छन्। तीतो-सत्य र जिरे खुर्सानी सहरी क्षेत्रमा बढी लोकप्रिय छन् भने मेरी बास्सै र भद्रगोल ग्रामीण भेगमा। भद्रगोलको प्रभावचाहिँ सहरिया प्लस टु पुस्तामा पनि उत्तिकै छ।
कान्तिपुर टेलिभिजनका हर्के हबलदार र डिट्ठा बा पनि अहिलेका लोकप्रिय हास्य शृंखलामा दरिन्छन्। यी शृंखलाका पात्रले बोल्ने थेगो जनजिब्रोमा झुन्डिएका छन् भने सामाजिक सञ्जालमा पनि उत्तिकै प्रयोग हुन्छन्। यो दौडमा कान्छो सिरियलका रूपमा उदाएको भद्रगोल अझ अगाडि छ। फेसबुकमा अत्यधिक प्रयोग हुने सक्किगोन्त, हजुर वरिष्ठ, हस्त नमस्ते, बोरोजस्ता थेगो यही सिरियलका हुन्। हरेकजसो शृंखला युट्युबमा डेढ-दुई लाखले हेरेबाट पनि भद्रगोलको लोकप्रियता आकलन गर्न सकिन्छ।
तीतो-सत्यले राजधानीको प्लटमा विषयवस्तुलाई प्रधान मानेर मनोरञ्जनको खुराक पस्कन्छ भने जिरे खुर्सानीमा विषयवस्तुभन्दा चरित्रलाई बढी जोड दिएको पाइन्छ, त्यो पनि अलि ग्रामीण परिवेशमा। जितुले अभिनय गरेको मुन्द्रे पात्रले सहरिया युवालाई तान्यो भने किरण केसीको राता मकै, शिवहरि पौड्यालको मुखाँ हान्नुजस्ता थेगोले ग्रामीण भे गका दर्शकको मन जित्यो। खास गरी कमेडीका असली दर्शक पनि गाउँकै हुन्, जो टेलिभिजनमा गम्भीरभन्दा हल्काफुल्का कमेडीमा रमाउन चाहन्छन्। दर्शकको यही मनोभावना नजिकबाट नियालिरहेका सीताराम र केदार घिमिरेले पूर्ण ग्रामीण परिवेशमा मेरी बास्सै ल्याए। जसको उद्देश्य व्यंग्य कम, हास्य धेरै थियो। यो काममा उनीहरू सफल पनि भए। धुर्मुस, माग्ने बूढा, सुन्तली, बान्द्रे, तक्मे बूढाजस्ता चरित्र ग्रामीण भेगमा अत्यधिक रुचाइए। अहिले सर्वाधिक चर्चामा रहेको भद्रगोलको कथा पनि ग्राणीम परिवेशमा बुनिएको छ।
हास्य शृंखलाको जगजगी बढेसँगै पारिवारिक कथा बोकेका सिरियल करिब लोप भएका छन्। मुक्ति, परिचय, अविरल बग्दछ इन्द्रावती, सिन्दूरजस्ता कुनै समय रुचाइएका पारिवारिक टेलिफिल्म एकादेशका कथा बन्न पुगेका छन्। तर, यसको मतलब यो होइन कि नेपालमा पारिवारिक शृंखला हेरिँदैन। हेरिन्छ तर भारतीय। स्टार प्लस, जी-टीभी, कलर्स, सोनीलगायत च्यानलबाट प्रसारण हुने पारिवारिक शृंखलाका नेपालमा पनि धेरै दर्शक छन्, अझ सहरिया क्षेत्रका गृहिणीबीच। तर, हास्य टेलिफिल्म भने गाउँदेखि सहर अनि बाजेदेखि नातिपुस्तासम्म प्रिय छन्। मेरी बास्सैका निर्देशक तथा कलाकार सीताराम भन्छन्, “अहिले त नेपाली च्यानल हेर्ने भनेकै हास्य टेलिफिल्म र समाचारका लागि जस्तो भएको छ ।”
तुलनात्मक रूपमा हास्यभन्दा पारिवारिक सो बढी खर्चिलो हुन्छ किनभने लोकसेन, सेट, कलाकारको पहिरन र लाइटिङमा ध्यान दिनुपर्ने हुन्छ। अन्यथा, कथा फिका लाग्छ। त्यसैले प्रोडक्सन हाउसहरूले चाहेर पनि पारिवारिक सो बनाउने अवस्था छैन। किनभने, रिमोटमा एक बटन दबाउनासाथ स्तरीय मेकिङ भएका भारतीय शृंखला हेर्न पाइन्छ। तिनका कथा हाम्रो परिवेशमा मिल्छन् अनि भाषाको समस्या पनि हुँदैन।
नेपाली पारिवारिक शृंखला नचल्नुको मुख्य कारण यही मान्छन्, मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल। तर, यो समस्या हास्य शृंखलामा छैन। उनको अनुभवमा हास्य टेलिफिल्मका प्रस्तुति र चरित्र राम्रो भयो भने मेकिङ पक्ष औसत भए पनि दर्शकमाझ प्रिय हुन्छ। अर्कोतिर कमेडी सोमा मौलिकता पनि बढी हुन्छ। राजनीतिक व्यंग्यसँग सामाजिक विकृति पनि आफैँले देखे-भोगेको हुन्छ। जिरे खुर्सानीका मुन्द्र्रे अर्थात् जितु भन्छन्, “हामीलाई बचाएकै मौलिकताले हो। हामीले देखाउने कथा र चरित्र दर्शकसँग धेरै हदसम्म नजिक हुने भएकाले अपनत्व महसुस भएको हुन सक्छ।”
अचम्म त के भने यति लोकप्रिय हास्य सिरियल आर्थिक रूपमा भने घाटामा छन्। एक दिनमा एक शृंखला सुटिङ गर्दा पनि उत्पादन खर्च उठ्दैन। तैपनि, कसरी टिकिरहेका छन् त ? सीताराम भन्छन्, “हामी खल्तीको पैसा हालेर सुटिङ गछौर्ं तर स्टेज सोबाट फाइदा कमाउँछौँ। स्टेज सोकै लागि भए पनि सिरियल चलाउनुपर्ने बाध्यता छ।”
जितु र भद्रगोलका मुख्य कलाकार तथा सहायक निर्देशक कुमार कट्टेल पनि सीतारामको भनाइमा सहमत छन्। यसरी हेर्दा कलाकारका लागि सिरियल आफूलाई चिनाउने माध्यम मात्र बनेको छ, कमाइको स्रोतचाहिँ देश-विदेशमा हुने स्टेज सो। अझ रमाइलो के भने प्रत्यक्ष प्रस्तुतिको ठूलो माग भए पनि टेलिभिजनका केही कमेडी रियालिटी सोले भने सफलता हासिल गर्न सकेका छैनन्। मनोज गजुरेलले चलाउने कमेडी रियालिटी सो कुरा कम्पनी र हास्यव्यंग्य केन्द्रले निरन्तरता पाउन सकेनन्। जबकि, उनी नेपालका स्ट्यान्डअप कमेडीका बादशाह मानिन्छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको ह्वाट द फ्लपचाहिँ अपवाद हो। सन्दीप सापकोटाको यो सो बिस्तारै हिट भइरहेको छ।
हास्य शृंखला जति हिट छन्, सोही अनुरूप गुणस्तरीय कमेडी देखाउन नसकिएको तीतो यथार्थ हो। क्षणिक ताली र सस्तो लोकप्रियताका लागि गम्भीर विषयमाथि सतही व्यंग्य भइरहेको छ। सिरियलमा प्रयुक्त कतिपय विषयवस्तु र चरित्रचित्रण जाति वा वर्गविशेषलाई ठेस पुर्याउने खालका हुन्छन्। थेगोहरू द्विअर्थी खालका छन्। थेगोले बालमनो विज्ञानमा पारेको नकारात्मक असरको चर्चा पनि बेला मौकामा हुन्छ। तीतो-सत्यको तुलनामा त्यसपछि आएका सिरियलका कमेडी कमसल हुँदै गएको चलचित्र विश्लेषक अनुप सुवेदीको आरोप छ। उनी त अझ विकल्प नभएकाले हास्य शृंखला हेर्नुपर्ने बाध्यता रहेको दाबी गर्छन्। भलै वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य कलात्मकता र प्राविधिक अब्बलता नभए पनि समय र बजेटको तुलनामा अहिलेका हास्य सिरियल उत्कृष्ट मान्नुपर्ने बताउँछन्।
हरिवंश नयाँ पुस्ताका कलाकार निकै प्रतिभाशाली भएको तारिफ गर्छन्। तर, सिरियलको गुणस्तर घटेको चाहिँ स्वयं कलाकार र निर्देशक पनि स्वीकार्छन्। “सत्य हो कि अहिले नेताभन्दा अभिनेता, त्यसमा पनि हास्य अभिनेता लोकप्रिय छन्,” मनोजको बुझाइ छ, “तर, यही तालमा रहयौ र समय अनुसार आफ्नो स्तरोन्नति गरेनौँ भने दर्शकले ने ताभन्दा हामीलाई धेरै गाली गर्ने दिन टाढा नहुन सक्छ।”
मह र पन्तको प्रभाव
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) अनि सन्तोष पन्तबिना नेपाली हास्यव्यंग्य कलाकारिता अपूरो हुन्छ। पञ्चायतकालदेखि सक्रिय उनीहरू हास्य कलाकारिताका ट्रेन्ड सेटर्स’ हुन्। समसामयिक र राजनीतिक व्यंग्यमा महजोडी र सामाजिक विसंगतिविरुद्ध तीखो प्रहार गर्न पन्त सिपालु मानिन्छन्। महका दर्जनौँ टेलिफिल्म र क्यासेटले नेपाली समाज रूपान्तरणमा ठूलो योगदान पुर्याएका छन् भने पन्तका सीडी र टेलिफिल्म पनि उत्तिकै लोकप्रिय छन्। हास्य क्षेत्रमा अहिले जति पनि कलाकार छन्, उनीहरूमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा महजोडी र पन्तको प्रभाव छ। कति त उनीहरूकै उत्पादन पनि हुन्।
सँगै फ्लप पनि
तीतो-सत्यपछि धेरै हास्य कलाकार जन्मिए। हास्य सिरियलको बाढी नै आयो तर सबै हिट भए भन्नेचाहिँ होइन। जिरे खुर्सानी, मेरी बास्सै र भद्रगोलबाहेक अधिकांश सिरियल बन्द भए। जसमा भुइँचालो, रातोपिरो, तातो न छारो, गाई कि त्रिशूल, सिस्नुपानी झ्याम्मै, जय होस्लगायत पर्छन्। कतिसम्म भने जिरे खुर्सानी र मेरी बास्सैको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका दमन रूपाखेतीको झ्याइँकुटी झ्याइँले पनि निरन्तरता पाउन सकेन। अहिले दमन ओझेलमा छन्। धेरैजसो अवस्थामा दुई-चार भाग खेल्नासाथ आफैँ निर्देशन गर्न तम्सिनेहरूका सिरियल बन्द भएको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालको भनाइ छ।
– गोकर्ण गौतम / नेपाल साप्ताहिक बाट