टिभी च्यानलहरुले नपत्याएका यु ट्युब स्टार


Youtube star nepali‘रा त यो नबितोस्…’ गीतको भिडियो तीन वर्षअगाडि युट्युबबाट सार्वजनिक गर्दा सांगीतिक समूह GX SOUL का दुई सदस्य विवजजंग गिरी उर्फ भाइबर बी र सुरजविक्रम थापा उर्फ बुलेट फ्लो खिन्न थिए। ब्यान्ड पुनःगठन भएपछिको पहिलो गीत, त्यसमाथि लगानी र मिहिनेत पनि मनग्य परेकाले राष्ट्रिय च्यानलबाटै गीत रिलिज गर्ने चाहना थियो। तर, इच्छा मात्र भएर के गर्नु ? सम्पर्क र स्रोत नै नभएपछि। त्यसैले युट्युबमै अपलोड गरेर चित्त बुझाउनुको विकल्प रहेन।

Gx Soul

GX SOUL

इन्टरनेटसम्मको पहुँच सीमित छ, फेरि पहुँच हुने सबैले युट्युब हेर्दैनन्। यो तथ्यबोध भएका विवजजंग र सुरजलाई गीतले ‘मार्केट’ नलेला भन्ने चिन्ताले सताउनु स्वाभाविक थियो। तर, यथार्थ भइदियो उल्टो। युट्युबमा अपलोड गरेको केही दिनमै गीत भाइरल बन्यो, खास गरी टिनएजर युवामाझ। अहिलेसम्म ‘रात यो नबितोस्…’ गीत युट्युबमा हेर्नेको संख्या ११ लाख नाघेको छ। “युट्युब हाम्रा लागि बाध्यता थियो तर यसको व्यापकता हामीले अन्दाज गरेभन्दा फराकिलो रहेछ,” सुरज खुसी पोख्छन्, “सायद टेलिभिजन च्यानलबाट प्रमोसन गरेको भए छोटो समयमै यति धेरै लोक प्रिय हुँदैनथ्यौँ।”

सुरज यसो किन भनिरहेका छन् भने जुन पुस्ताका लागि उनको ब्यान्डले गीत गाउँछ, त्यो पुस्ता टीभी च्यानलभन्दा युट्युबमा बढी झुम्मिन्छन्। २५ हजार ७ सय युट्युब सब्स्क्राइबर रहेको जीएक्स सोलको भेरिफाइड फेसबुक पेजलाई ३ लाख ६० हजारले लाइक गरेका छन्। ब्यान्डको ‘सताएर फकाउने बानी…’ १२ लाखपटक हेरिएको छ भने ‘मीठो सपना…’ नौ लाखपटक। यही लोक प्रियताले जीएक्स सोललाई सबैभन्दा बढी फिचरिङ हुने ब्यान्डका रूपमा स्थापित गरेको छ।

GX SOULको भन्दा फरक अनुभव छैन, अर्को समुह B-8EIGHT को पनि। पाँच वर्षअगाडि गठन भएको यो ब्यान्डले आफ्नो पहिलो भिडियो टीभी च्यानलबाट प्रिमियर गर्न धेरै दौडधूप गर्‍यो। तर, नयाँ ब्यान्ड भएकाले न टीभी च्यानलले पत्याए, न उनीहरूसँग गीतको प्रमोसन गर्न पैसा नै थियो। त्यसैले मन नलागी नलागी ‘मिसिङ यु…’ गीतको भिडियो युट्युबमै अपलोड गरे। तर, सोचेजस्तो लोकप्रियता पाएन। एक लाख दर्शक पुग्न एक वर्ष लाग्यो। तर, जब उनीहरूको अर्को गीत ‘के यो माया हो…’ सार्वजनिक भयो, तब यो ब्यान्ड सहरको ‘हटकेक’ बन्यो। गीत बाहिरिएको तीन दिनमै ब्यान्डका पाँचै सदस्यको फेसबुकमा फ्रेन्ड रिक्वेस्टको ओइरो लाग्यो। ब्यान्डको अफिसियल फ्यान पेजमा लाइक ह्वात्तै बढ्यो। दुईवटा एकाउन्टबाट युट्युबमा सार्वजनिक गरिएको यो गीत अहिलेसम्म ३४ लाखले हेरिसकेका छन्।

B-8Eight

B-8EIGHT

युट्युबबाटै युवा पिँढीमाफ आफ्नो ब्यान्ड ढुकढुकी बनेको एक सदस्य राजीव चित्रकार उर्फ किम स्वीकार्छन्। B-8EIGHT मा राजीवसहित पासाङ नोर्बु शेर्पा उर्फ थुजे, ग्युर्ने दोर्जे लामा उर्फ क्विपिड, साम्देन नोर्बु लामा उर्फ आइस र अमित डंगोल छन्। २० देखि २५ वर्ष उमेर समूहका यी तन्नेरीलाई देशका विभिन्न सहर र विदेशमा सांगीतिक प्रस्तुतिका लागि भ्याइनभ्याइ छ। ‘मौनता…’,  ‘आँखाको बाटो…’ जस्ता हिट गीतका सर्जक यो ब्यान्डको युट्युब च्यानल पाँच हजारले सब्सक्राइब गरेका छन्।

GX SOUL र B-8EIGHT जस्तै युट्युबमार्फत युवापुस्ताको मनमा डेरा जमाउन सफल सांगीतिक समूह र गायक/गायिकाको सूची लामो छ। यी कलाकार मूलधारका टेलिभिजन च्यानलमा खासै देखिँदैनन् तर फ्यान सर्कल भने लोभलाग्दो छ। इन्टरनेट उपयोगकर्तासँगै GX SOUL र B-8EIGHT जस्ता युट्युबमार्फत पहिचान बनाउने कलाकारको संख्या पनि बढिरहेको छ। विभिन्न अध्ययनले युट्युब सफिर्ङ गर्ने ठूलो हिस्सा युवकयुवतीको हुने देखाएका छन्, जसको पहिलो रोजाइ फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जाल नै हुन्। त्यसमाथि विदेशमा बस्ने नेपालीका लागि त नेपाली गीतसंगीतको रसास्वादन गर्ने प्रमुख माध्यम युट्युब नै हो। फेरि युट्युबबाट गीत सार्वजनिक गर्दा पैसा लाग्दैन, बरू गीत हिट भयो र कलाकार अलि सचेत भए भने कमाइसमेत हुन्छ। त्यसैले त GX SOUL र B-8EIGHT जस्ता नवीन सांगीतिक समूह युट्युबको सदुपयोग गरेर छिट्टै लोकप्रियता कमाउन माहिर बन्दै गएका छन्। “दिनानुदिन युट्युबको प्रभावकारिता फराकिलो भइरहेको छ। न खर्चिलो, न झन्झटिलो। फेरि फ्यानको प्रतिक्रिया प्रत्यक्ष बुझ्न पाइन्छ,” B-8EIGHT का राजीव भन्छन्, “त्यसैले हाम्रो करिअर उकास्न युट्युब दरिलो प्लेटर्फम साबित भएको छ।”

Aurluv Gurung

Arluv Gurung

राजीवले भनेजस्तै युट्युबबाट करिअर उजिल्याउने अर्का तन्नेरी हुन्, अर्लभ गुरुङ। दुई वर्षअघिसम्म अर्लभको परिचय फिलिपिन्समा अध्ययनरत नेपाली विद्यार्थीका रूपमा सीमित थियो। जसै युट्युबमा ‘BABY I …’ गीतको भीडियो सार्वजनिक भयो, उनी रातारात सेलिब्रेटी बने। इलेक्ट्रोनिक पप फ्लेभरको यो गीत दुई वर्षमा १४ लाख ८६ हजारले हेरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनरत अर्लभलाई पनि सुरुमा टेलिभिजन च्यानलबाट प्रिमियर गर्ने लोभ नपलाएको होइन। तर, समस्या उही स्रोतर सम्पर्ककै थियो। तर, त्यही बाध्यता नै पछि फलदायी बनिदियो। भन्छन्, “युट्युबको कारणले मेरो गीतले ग्लोबल अडियन्स पायो।”

नेपाली मात्र होइन, चिनियाँ, भारतीय, फिलिपिनोले पनि आफ्नो गीत सुनेर सकारात्मक प्रतिक्रिया दिएको उनले सुनाए। यसभन्दा अगाडि ‘बुझिदेऊ न…’ गीतले पनि युट्युबमा चर्चा बटुलिसकेको छ। जम्मा तीन भिडियो सार्वजनिक गरेका अर्लभको फेसबुक पेज ९२ हजारले लाइक गरेका छन् भने झन्डै ६ हजारले व्यक्तिगत युट्युब च्यानल सब्स्क्राइब गरेका छन्।

Decenteez पनि युट्युब अडियन्सबीच छाइरहेको अर्को सांगीतिक समूह हो, जसले आफ्नो गीत सार्वजनिक गर्न अन्य माध्यमको खोजी नै गरेन। किन त? ब्यान्डका सदस्य रोमन ब्रजाचार्य, २२, भन्छन्, “YamaBuddha, B-8EIGHT, GX SOUL युट्युबबाटै हिट भइसकेका थिए। खासमा हाम्रो बेलासम्म युट्युबमा भिडियो सेयर गर्ने ट्रेन्ड बनिसकेको थियो। त्यसैले टीभीतिर प्रमोसन गर्न ध्यानै गएन।” रोमनसँगै प्रज्वल श्रेष्ठ सदस्य रहेको यो ब्यान्डका ‘डान्स विथ यु …’,लेट्स पार्टी…’‘माया…’ गीत युट्युब पारखीमाझ लोकप्रिय बनिरहेका छन्।

टेलिभिजनमा पनि गीत बज्ने मात्र हो, रोयल्टी दिने संस्कार बसिसकेको छैन। त्यही गीत बजाउन पनि धेरै पापड बेल्नुपर्छ। तर, जुक्ति हुने हो भने युट्युबबाट पैसा र चर्चा दुवै पाइन्छ। रोमनको पुस्ताका लागि टेलिभिजनभन्दा युट्युब प्रिय हुनुको कारण यो पनि हो। अझ जीएक्स सोलका सुरज त आफ्नो ब्यान्डका लक्षित समूहले नेपाली टेलिभिजन च्यानल नै नहेर्ने जिकिर गर्छन्।

टिनएजर र युवकयुवतीले कमेडी सिरियल र न्युजका लागि मात्र नेपाली टीभी हेर्ने भएकाले युट्युब आफ्ना लागि प्रभावकारी माध्यम बनेको सुरजको भनाइ छ। चपिङ विधाका यी र्‍यापर भन्छन्, “पहिले डीभी बुझाउँदासमेत हाम्रो गीत नबजाउने टेलिभिजन च्यानलले अहिले आफैँ युट्युबबाट डाउनलोड गरेर बजाउन थालेका छन्। यसबाट पनि युट्युबको प्रभावकारिता आकलन गर्न सकिन्छ।”

Decenteez

Decenteez

सुरजसँग बी एटका सदस्यहरू पनि सहमत छन्। प्रायः फ्यानले टीभी च्यानलभन्दा युट्युबबाटै गीत हेरेर प्रतिक्रिया दिने गरेको बीएटका पासाङ नोर्बुले बताए। उनको बुझाइमा दर्शकसम्म पुग्न युट्युबमा गीत अपलोड गरेर फेसबुकबाट प्रचार गर्दा नै काफी हुन्छ। त्यसैले त उनीहरूले टेलिभिजन च्यानलभन्दा आफ्नै युट्युब च्यानललाई प्राथमिकता दिन थालेका छन् किनभने दीर्घकालीन फाइदा यसमै छ। सँगै युट्युबले गर्दा एल्बम नै ल्याउनुपर्ने बाध्यता पनि हटेको छ, राम्रो सिंगल ट्रयाक ल्याइयो भने पनि एल्बमको भन्दा कम चर्चा हुँदैन।

उसो त यो पुस्ता युट्युबमा भिडियो अपलोड गरेर हिट मात्र हुँदैन, युट्युबबाटै संगीतसम्बन्धी धेरै ज्ञान बटुल्छ पनि। संगीतको औपचारिक अध्ययन नगरेका उनीहरू सबैले कहीँ न कहीँ युट्युबबाट संगीत सिकेका वा प्रभावित छन्। डिसेन्टिजका राेमन आफूले कम्पोज गरेको गीत अझ परिमार्जन गर्न युट्युबकै सहारा लिने गरेको बताउँछन्। कहिलेकाहीँ गीतका ‘बिट’को खोजी पनि युट्युबमै हुन्छ। B-8EIGHTका कम्पोजर अमित पनि संगीतको स्वअध्ययन गर्न युट्युब प्रभावकारी माध्यम बनेको अनुभव सुनाउँछन्। संगीत सिक्न र दर्शक/श्रोतासम्म पुग्न युट्युबको सदुपयोग गर्न माहिर बन्दै गएको यो पुस्ता युट्युबबाट आर्थिक मुनाफा निकाल्न भने चुकेको छ। बी एटकै कुरा गरौँ न, ‘के यो मायो हो…’ गीत ३४ लाखले हेरिसकेका छन् तर प्रत्यक्ष रूपमा बी एटले एक रुपियाँ पनि पाएको छैन। Aurluv Gurung, GX SOUL र Decenteez को हालत पनि उस्तै छ। जबकि, उनीहरू सचेत भइदिएको भए सबै गीतबाट कम्तीमा भिडियो निर्माणको पैसा उठ्थ्यो।

किन चुकेका छन् त उनीहरू ? “सुरुमा हामी युट्युब भ्युअरको संख्या गन्दैमा दंग पर्‍यौँ। अरूले गीत हेर्दा आफ्नो एकाउन्टमा पैसा पनि जम्मा हुन्छ भन्ने ज्ञानै भएन,” अर्लभ भन्छन्, “अहिले बल्ल बुझ्दै छौँ। हामीले आफ्नै युट्युब च्यानल खोल्नुको कारण यही हो।” उनले भनेजस्तै दर्शकसँगै पैसा बटुल्न सके मात्र उनको पुस्ताका लागि युट्युब साँचो अर्थमा वरदान साबित हुनेछ।
– गोकर्ण गौतम / नेपाल साप्ताहिक

SUBSCRIBE 👉