
Nepal Music and Fashion Awards
नेपाली गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। विगतका वर्षझैँ यस वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्ने भएको हो।
आयोजकका अनुसार सन् २०२५ जनवरीदेखि सन् २०२६ मे महिनाको अन्तिमसम्म सार्वजनिक भएका गीत तथा म्युजिक भिडियोहरूले अवार्डमा सहभागिता जनाउन सक्नेछन्।
अवार्डमा आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र गीत, राष्ट्रिय भाव, चाडपर्व विशेष, भाषाभाषी, भेग विशेष तथा भजन विधाका गीतहरू प्रतिस्पर्धामा रहनेछन्। गीतसँगै म्युजिक भिडियो निर्माण टिमले पनि विभिन्न विधामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार यस वर्ष पनि अवार्ड समारोहमा विशेष सम्मान तथा ‘आजीवन योगदान सम्मान’ प्रदान गरिनेछ। संगीत, मोडलिङ तथा फेसन क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ।
फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्युटी पेजेन्ट विजेता, फेसन आइकन, फेसन तथा ब्युटी पेजेन्ट फोटोग्राफर, उत्कृष्ट फेसन शो, फेसन डिजाइनिङ इन्स्टिच्युट तथा इन्टरनेशनल पेजेन्ट डाइरेक्टरलगायत विधामा प्रतिस्पर्धा हुनेछ।
आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार अवार्डका लागि ५ जेठदेखि आवेदन फारम खुला गरिएको छ। इच्छुक सहभागीहरूले आगामी १३ असारभित्र आवेदन फारम भरिसक्नुपर्नेछ।
सहभागीहरूले स्टार वान इन्टरटेनमेन्टको नयाँ बानेश्वरस्थित कार्यालय तथा एसपी क्रियसन प्रा.लि., पुतलीसडकबाट फारम प्राप्त गर्न सक्नेछन्। अवार्ड समारोह असारको अन्तिम सातामा आयोजना गरिने जनाइएको छ।
