सुव्रत आचार्यले निर्देशन गर्ने ४ करोड बजेटमा एक्सन एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा

निर्देशक सुव्रत आचार्यको निर्देशनमा एक्सन–एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। करिब चार करोड रुपैयाँको बजेटमा बन्ने चलचित्र नेपाली, हिन्दी र मलियालम भाषामा आउनेछ।


निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा एक्सन, एड्भेन्चर, रहस्य र अलौकिक कल्पनाको संयोजन रहने नयाँ नेपाली चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ।

भव्य दृश्य प्रस्तुति, आधुनिक चलचित्र प्रविधि र उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली चलचित्रमा फरक स्वाद दिने उद्देश्यसहित चलचित्रको तयारी अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ। करिब चार करोड रुपैयाँको अनुमानित बजेटमा बन्ने यो चलचित्रलाई नेपाली चलचित्र उद्योगको महत्त्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ।

चलचित्रको निर्देशन सञ्चारकर्मीसमेत रहेका निर्देशक सुव्रत आचार्यले गर्नेछन्। चलचित्रको कथा सीता मायाले परिकल्पना गरेकी हुन्। उनी चलचित्रकी प्रस्तुतकर्ता पनि हुन्।

दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने चर्चित छायाकार हरि हुमागाईले चलचित्रको छायाङ्कन निर्देशन सम्हाल्नेछन्।

चलचित्र मूल रूपमा नेपाली भाषामा निर्माण गरिनेछ। अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्यसहित यसलाई हिन्दी र मलियालम भाषामा समेत डबिङ गर्ने तयारी गरिएको छ।

निर्माण पक्षका अनुसार चलचित्रका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलियालम चलचित्र उद्योगसँग आबद्ध छन्। मुख्य अभिनेताको परिचय भने चलचित्रको आधिकारिक फर्स्ट लुक सार्वजनिक गर्दा खुलाइने जानकारी प्राप्त भएको छ।

निर्देशक आचार्यले चलचित्रमा मलियालम चलचित्र उद्योगका केही कलाकार तथा प्राविधिकको पनि सहभागिता रहने जानकारी दिएका छन्। यद्यपि चलचित्रका अधिकांश प्रमुख भूमिकामा नेपाली कलाकार नै देखिनेछन्।

चलचित्रको पटकथालाई नेपाली परिवेशअनुकूल बनाउने तथा संवाद रूपान्तरण र परिमार्जन गर्ने जिम्मेवारी लेखक शान बस्नेतले सम्हालिरहेका छन्।

निर्माण पक्षले चलचित्रको छायाङ्कन यसै वर्षको फागुन–चैतदेखि सुरु गर्ने तयारी गरेको छ। छायाङ्कन टोलीसहित अधिकांश प्राविधिक नेपाली चलचित्र उद्योगकै हुनेछन् भने गीत–सङ्गीत पनि नेपाली सर्जकहरूले तयार गर्नेछन्।

नेपालका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन गरिने ‘हजारौँमा एक’मा अलौकिक कल्पना, साहसिक यात्रा, एक्सन र रहस्यलाई आधुनिक प्रविधिसँग जोडेर प्रस्तुत गरिनेछ।

फरक कथावस्तु, आकर्षक लोकेसन र अन्तर्राष्ट्रिय बजारलाई लक्षित बहुभाषिक प्रस्तुतिका कारण चलचित्रले स्वदेशी तथा विदेशी दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने निर्माण पक्षको विश्वास छ।