WWE Hall of Famer तात्सुमी फुजिनामी नेपाल आउँदै, ‘PWXM: Wrestle Castle’ मा रेस्लिङ, संगीत र मनोरञ्जनको भव्य जमघट

WWE Hall of Famer तथा जापानी प्रो–रेस्लिङ लेजेन्ड तात्सुमी फुजिनामी नेपाल आउँदैछन्। ‘PWXM: Wrestle Castle’ मा जापानी र नेपाली रेस्लरको भिडन्तसँगै र्‍याप र लाइभ म्युजिकको धमाका हुनेछ।


नेपालमा व्यावसायिक रेस्लिङलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित ‘PWXM: Wrestle Castle’ आयोजना हुने भएको छ। जापानी प्रो–रेस्लिङका विश्वप्रसिद्ध लेजेन्ड तथा WWE Hall of Famer तात्सुमी फुजिनामीको उपस्थितिले यो कार्यक्रम नेपाली रेस्लिङ क्षेत्रका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

खेलकुद, मनोरञ्जन र संगीतलाई एउटै मञ्चमा ल्याउने यो भव्य कार्यक्रम २०८३ असार २० गते (4 July 2026) शनिबार दिउँसो २ बजेदेखि ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा हुनेछ।

कार्यक्रमको सबैभन्दा ठूलो आकर्षण जापानी रेस्लिङका सम्मानित व्यक्तित्व तात्सुमी फुजिनामी हुन्। WWE को आधिकारिक प्रोफाइलअनुसार फुजिनामी WWE Hall of Fame Class of 2015 मा समावेश भएका थिए। “The Dragon” उपनामले चिनिने फुजिनामी जापानी रेस्लिङ इतिहासका प्रभावशाली नाममध्ये एक मानिन्छन्।

फुजिनामीसँगै जापानबाट लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो तथा ह्योउ ओगवा सहभागी हुने आयोजक पक्षले जनाएको छ। जापानी टोलीको उपस्थितिले नेपाली दर्शकलाई प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय स्तरको प्रो–रेस्लिङ अनुभव गर्ने अवसर दिने अपेक्षा गरिएको छ।

नेपालतर्फबाट पनि व्यावसायिक रेस्लरहरूले आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। नेपालको व्यावसायिक रेस्लिङका अग्रणी तथा प्रशिक्षक हिमालयन टाइगरको मार्गदर्शनमा तयार टोलीको नेतृत्व चर्चित र्‍यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो अर्थात् थापाकाजीले गर्नेछन्। अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ्ग पनि नेपाली टोलीबाट प्रतिस्पर्धामा उत्रिनेछन्।

रेस्लिङसँगै कार्यक्रममा संगीतको पनि विशेष आकर्षण रहनेछ। चर्चित र्‍याप कलाकार डिबी यो म्याजेस्टी, भी–लेन ३९ र लोकप्रिय गायक कुहाङले सांगीतिक प्रस्तुति दिनेछन्। यसले ‘PWXM: Wrestle Castle’ लाई केवल खेलकुद इभेन्ट मात्र नभई युवा दर्शकलाई लक्षित मनोरञ्जन महोत्सवको रूपमा स्थापित गर्ने देखिन्छ।

पिग ई प्रोडक्सनको प्रस्तुति रहेको यस कार्यक्रमको सह–आयोजक नखिपोट युथ क्लब हो। कार्यक्रमको निर्देशन तकाशी ताकेइ, टक बिष्टले गरिरहेका छन्। आयोजकका अनुसार ‘PWXM: Wrestle Castle’ नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको सम्भावित गन्तव्यका रूपमा चिनाउने अभियान पनि हो।

यो कार्यक्रममार्फत नेपाल र जापानबीच सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने, नेपाली रेस्लरलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने, नयाँ प्रतिभा उत्पादन गर्ने र नेपाली दर्शकलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको छ।

तात्सुमी फुजिनामीजस्ता विश्व रेस्लिङ इतिहासका सम्मानित नामको नेपाल आगमनले ‘PWXM: Wrestle Castle’ लाई नेपाली मनोरञ्जन र खेलकुद क्यालेन्डरमा प्रतीक्षित इभेन्ट बनाएको छ।

SUBSCRIBE 👉