
शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब र अभिभावकको संघर्षलाई पर्दामा उतारेको नेपाली चलचित्र ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले देशका सातवटा सिनेमा हलमा ५१औँ दिन पूरा गरेको हो।
निर्माण पक्षका अनुसार ‘रोल नं १’ले कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमा, धनगढीको एसटीएस इन्टरटेन्मेन्ट र इटहरीको इलाइट सिनेमामा ५१औँ दिन मनाएको छ।
त्यस्तै, कावासोतीको कावासोती सिनेमा, विराटचोकको विराट सिनेमा र इलामको फ्रेन्ड्स सिनेमामा पनि चलचित्रको प्रदर्शन निरन्तर रहेको निर्माण पक्षले जनाएको छ।
बक्स अफिसमा १ करोड ७७ लाखमाथिको व्यापार
निर्माण पक्षले सार्वजनिक गरेको विवरणअनुसार चलचित्रले गत आइतबारसम्म घरेलु बक्स अफिसमा १ करोड ७७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
चलचित्रले सातौँ सातासम्म पनि विभिन्न सहरका हलमा आफ्नो प्रदर्शनलाई निरन्तरता दिएको छ। विद्यार्थी र अभिभावक केन्द्रित विषय तथा पारिवारिक कथाका कारण चलचित्रले लक्षित दर्शकको साथ पाइरहेको निर्माण पक्षको दाबी छ।
टिकट मूल्यमा ५० प्रतिशत छुट
हाल दर्शकले ‘रोल नं १’ आधा मूल्यमै हेर्न पाइरहेका छन्। निर्माण पक्षले असारको पहिलो सातादेखि चलचित्रका सबै शोको टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।
विद्यार्थी, विद्यालय र अभिभावकबाट टिकट मूल्य कम गर्न आग्रह आएपछि छुट उपलब्ध गराइएको निर्माता विनोद पौडेलले बताएका थिए।
यो व्यवस्थाअन्तर्गत विभिन्न हलमा नियमित टिकट मूल्यको आधा रकममै चलचित्र हेर्न सकिने निर्माण पक्षले जनाएको छ।
विद्यार्थी र अभिभावकको कथा
‘रोल नं १’ले वर्तमान शिक्षा प्रणाली, परीक्षामा उत्कृष्ट हुन विद्यार्थीमाथि पर्ने दबाब, अभिभावकका अपेक्षा र बालबालिकाको मानसिक अवस्थालाई मुख्य विषय बनाएको छ।
चलचित्रले अंक र प्रतिस्पर्धामा केन्द्रित शिक्षाले बालबालिकाको रुचि, क्षमता र भावनामा पार्न सक्ने प्रभावलाई पारिवारिक कथामार्फत प्रस्तुत गरेको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। यसको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन्।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारतर्फ निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ।
विनोद पौडेल र जान्वी पौडेल चलचित्रका निर्माता हुन्। छत्रमाया गिरी र रमेश चौलागाईं सहनिर्माताका रूपमा रहेका छन्।
शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ।

