‘फलानो ढिस्कानो’ फिल्म घोषणा, चलचित्र पत्रकारको भूमिकामा साइग्रेस पोखरेल

कथावाचक साइग्रेस पोखरेलको मुख्य भूमिकामा हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। दुई पोस्टरमा उनी चलचित्र पत्रकारको अवतारमा देखिएका छन्।


कथावाचकका रूपमा लोकप्रिय साइग्रेस पोखरेल अब हाँस्य प्रधान फिल्म ‘फलानो ढिस्कानो’मा देखिने भएका छन्। द्रव्य प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले मंगलबार यसको औपचारिक घोषणा गरेको हो।

काठमाडौंको जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा सार्वजनिक पोस्टरले साइग्रेसको भूमिकाबारे रोचक संकेत गरेको छ। एउटा पोस्टरमा उनी मोटरसाइकलको पछाडि बसेर कतै जाँदै गरेको देखिन्छन्। हँसिलो भावमा देखिएका उनको कोटको खल्तीमा चलचित्र पत्रकारको परिचयपत्र राखिएको छ।

अर्को पोस्टरमा पनि साइग्रेस प्रेस कार्डसहित देखिएका छन्। दुवै पोस्टरको प्रस्तुतिले उनी फिल्ममा चलचित्र पत्रकारको भूमिकामा देखिने संकेत गर्छ। यद्यपि, निर्माण पक्षले उनको पात्रको विस्तृत परिचय भने सार्वजनिक गरेको छैन।

फिल्ममा जोडिनुको कारणबारे साइग्रेसले अभिनयको आकर्षणबाट आफू टाढा रहन नसकेको बताए। ‘आ बाट आमा’ खेल्छु, त्यसपछि खेल्दिनँ भन्ने थियो। तर यो त नशा रहेछ, घोषणा कार्यक्रममा उनले भने, “यस फिल्मको कथा मन परेकाले अनुबन्ध भएको हुँ।”

कथावाचन र डिजिटल सामग्रीमार्फत ठूलो दर्शक समूह बनाएका साइग्रेस पछिल्लो समय अभिनयमा पनि सक्रिय हुँदै गएका छन्। हास्य शैलीको ‘फलानो ढिस्कानो’मा उनको चरित्र र अभिनय फिल्मको प्रमुख आकर्षण बन्न सक्ने देखिएको छ।

फिल्ममा साइग्रेसबाहेक अरू कलाकारको नाम हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टोलीले बाँकी कलाकार तथा प्राविधिकबारे क्रमशः जानकारी दिने जनाएको छ।

‘फलानो ढिस्कानो’लाई राजकुमारले निर्देशन गर्नेछन्। निर्देशकका अनुसार फिल्मको छायांकन दसैंपछि सुरु गर्ने तयारी छ। फिल्मको प्रदर्शन मिति, लेखक, निर्माता तथा अन्य प्राविधिक पक्षबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।