
Genden Phuntsok as Tenzing Norgay | Image: Apple TV Press
विश्वको सर्वोच्च शिखर सगरमाथामा इतिहास रचेका तेन्जिङ नोर्गेको जीवन अब प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पर्दामा देखिने भएको छ। उनीमाथि आधारित कथानक चलचित्र ‘Tenzing’ Toronto International Film Festival 2026 को Gala Presentations खण्डमा आधिकारिक रूपमा छनोट भएको हो।
टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६को ५१औँ संस्करण सेप्टेम्बर १० देखि २० सम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ। महोत्सवले चलचित्रलाई Canadian Premiere का रूपमा सूचीकृत गरेको छ, अर्थात् यो क्यानडाभित्र चलचित्रको पहिलो सार्वजनिक प्रदर्शन हुनेछ।
Canadian Premiere उल्लेख गरिएकाले चलचित्र टोरन्टो पुग्नुअघि क्यानडाबाहिर प्रदर्शन हुने देखिन्छ। तर विश्व प्रिमियर कुन महोत्सवमा हुनेछ भन्ने विषयमा निर्माण पक्ष वा TIFF ले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन।
जेनिफर पिडम निर्देशित Tenzing ले तेन्जिङ नोर्गेको संघर्ष, साहस र सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहणको कथा प्रस्तुत गर्छ। तेन्जिङ र न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारीले मे २९, १९५३ मा सगरमाथाको पहिलो प्रमाणित सफल आरोहण गरेका थिए।

Apple’s “Tenzing” stars Genden Phuntsok as Tenzing Norgay and Tom Hiddleston as Edmund Hillary. The film releases in select theaters on October 9, 2026. Image: Apple Tv Press
चलचित्रमा गेन्डेन फुन्सोक तेन्जिङ नोर्गेको भूमिकामा छन्। टम हिडलस्टनले एडमन्ड हिलारी र विलेम डाफोले अभियानका नेता जोन हन्टको भूमिका निर्वाह गरेका छन्। कैट्रियोना बाल्फ पनि चलचित्रको प्रमुख कलाकारमध्ये एक हुन्। निर्माणको केही भाग नेपालमा छायांकन गरिएको थियो।
TIFF का अनुसार अंग्रेजी भाषाको यो चलचित्र १२८ मिनेट लामो छ। विश्व चलचित्र क्षेत्रको प्रभावशाली मञ्चमा यसको छनोटलाई नेपाल र हिमाली समुदायका लागि विशेष महत्त्वका साथ हेरिएको छ।
तेन्जिङ नोर्गे विश्वभर चिनिएका साहसी पर्वतारोही मात्र होइनन्, उनी सगरमाथासँग जोडिएको नेपालको इतिहास, शेर्पा समुदायको योगदान र हिमाली पहिचानका शक्तिशाली प्रतीक पनि हुन्। चलचित्रले उनको यात्रालाई कस्तो दृष्टिकोणबाट प्रस्तुत गर्छ भन्ने विषयले नेपालसहित अन्तर्राष्ट्रिय दर्शकको ध्यान तान्ने सम्भावना छ।
निर्देशक पिडम यसअघि चर्चित वृत्तचित्र Sherpa मार्फत सगरमाथा आरोहणमा शेर्पा समुदायले भोग्ने जोखिम र असमानताको विषय उठाइसकेकी छन्। त्यसैले Tenzing मा शेर्पा पात्र र हिमाली जीवनको चित्रण कसरी गरिएको छ भन्ने विषयमा पनि चासो बढेको छ।
TIFF को Gala Presentations खण्ड महोत्सवको सबैभन्दा चर्चित कार्यक्रममध्ये एक मानिन्छ। यसमा प्रतिष्ठित निर्देशक, ठूला कलाकार र अन्तर्राष्ट्रिय चर्चा पाउने सम्भावना भएका चलचित्रहरू प्रस्तुत गरिन्छन्।
चलचित्रको आधिकारिक ट्रेलर, विश्व प्रिमियर र विस्तृत प्रदर्शन मितिबारे थप घोषणा हुन बाँकी छ।

