दीपाश्री निरौलाको स्वास्थ्य सुधार, १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज

मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि १८ दिन उपचाररत दीपाश्री निरौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनले उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै ४० वर्षपछि मस्तिष्क परीक्षण गर्न आग्रह गरेकी छन्।


दीपाश्री निरौला १८ दिनपछि अस्पतालबाट डिस्चार्ज

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला १८ दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार अस्पतालबाट घर फर्किएकी हुन्।

मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रियापछि दीपाश्री अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत थिइन्। शल्यक्रियापछि निरन्तर चिकित्सकीय निगरानीमा रहेकी उनलाई स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

यसअघि अस्पतालले उनको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको थियो।

अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्री अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्। उनले अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले सबैलाई स्वास्थ्य परीक्षणप्रति सचेत रहन आग्रह गरेको पनि उल्लेख गरेका छन्।

‘४० वर्ष उमेर कटेपछि एकपल्ट मस्तिष्कको अवस्था परीक्षण गर्नुहुन सबैलाई अनुरोध गर्नुभएको छ,’ दीपकले फेसबुक पोस्टमा लेखेका छन्।

दीपाश्रीले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पताल परिवार, शुभेच्छुक र अस्पतालमै पुगेर आशीर्वाद तथा शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।

दीपाश्री फिल्म ‘छ माया छपक्कै २’ को छायांकनका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी थिइन्। स्वास्थ्य परीक्षणका क्रममा उनको मस्तिष्कमा ट्युमर देखिएपछि शल्यक्रिया गरिएको थियो।