मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, विवाहित र गैरआवासीय नेपाली महिलाले पनि भाग लिन पाउने

ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ। सेप्टेम्बर ६ मा हुने फिनालेका लागि विवाहित, अविवाहित र गैरआवासीय नेपाली महिलाले आवेदन दिन सक्नेछन्।


ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा आयोजकले यस वर्षको प्रतियोगिताको अडिसन तथा छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गरेको हो।

यस वर्षको प्रतियोगिता ‘Perfect As You Are’ अर्थात् ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने नारासहित आयोजना हुँदैछ। आयोजकका अनुसार प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी र नेतृत्वदायी महिलाको पहिचान गर्दै नेपाललाई विश्वमञ्चमा सशक्त रूपमा प्रतिनिधित्व गर्न सक्ने व्यक्तित्व चयन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो।

मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले यस संस्करणलाई थप भव्य र प्रभावकारी बनाउन टोलीले विशेष तयारी गरिरहेको बताइन्। उनका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटलमै आयोजना हुनेछ।

आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरकी सीईओ सबी पुरीका अनुसार मिस युनिभर्स नेपाल २०२६ मा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्नेछन्। नेपालबाहिर बसोबास गर्ने गैरआवासीय नेपाली महिलाका लागि पनि प्रतियोगिताको ढोका खुला गरिएको छ।

मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारीको ऐतिहासिक कार्यकालपछि सुरु भएको नयाँ संस्करणले नेपालसहित विदेशमा रहेका महत्वाकांक्षी नेपाली महिलालाई आवेदन दिन आह्वान गरेको छ। प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्।

आयोजकले ‘के तपाईं नै मिस युनिभर्स नेपाल २०२६ बन्ने अर्को व्यक्तित्व हुनुहुन्छ?’ भन्ने सन्देशसहित इच्छुक महिलालाई मुख्य प्रतिस्पर्धामा सहभागी हुन आमन्त्रण गरेको छ।

यस संस्करणमा प्रतियोगीको बाहिरी सौन्दर्यसँगै व्यक्तिगत पहिचान, सामाजिक वकालत, आत्मविश्वास र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइनेछ। प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ। नेपालका प्रविधि ब्रान्ड एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध भएका छन्।

साझेदार संस्थाहरूले सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि प्रभावकारी वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

दिपलका सीईओ विवेक सिकारियाले मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए।

प्रतियोगिताको आवेदन प्रक्रिया आधिकारिक रूपमा खुलिसकेको छ। इच्छुक तथा योग्य महिलाले मिस युनिभर्स नेपालको आधिकारिक डिजिटल प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन्।