मिथिला संस्कृति र महिला सशक्तीकरणलाई जोड्दै हुँदैछ ‘मिस मिथिलानारी नेपाल २०२६’

मिथिला संस्कृति, भाषा र महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस मिथिलानारी नेपाल २०२६’ आयोजना हुने भएको छ। ‘द ब्युटी अफ मिथिला’ नारासहित हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ।


मिथिला संस्कृति, भाषा, परम्परा र महिला सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘मिस मिथिलानारी नेपाल २०२६’ आयोजना हुने भएको छ। आयोजक संस्था थर्ड आई स्टुडियोज प्रालिले मंगलबार आयोजित प्रेस मिटमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो।

‘द ब्युटी अफ मिथिला’ नारासहित आयोजना हुन लागेको प्रतियोगिताले मिथिलाको सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धनसँगै महिलाहरूलाई आत्मविश्वासी, सक्षम र आत्मनिर्भर बनाउन विशेष जोड दिने जनाएको छ।

प्रेस मिटमा बोल्दै आयोजक संस्थाका प्रमुख हरिश जायसवालले ‘मिस मिथिलानारी नेपाल’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई मिथिला क्षेत्रका महिलाहरूको क्षमता, प्रतिभा र नेतृत्व विकास गर्ने अभियान भएको बताए।

उनले मिथिला संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित प्रतियोगिता सुरु गरिएको उल्लेख गर्दै यसले मिथिला समुदायका युवतीहरूलाई नयाँ अवसर र प्लेटफर्म प्रदान गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार प्रतियोगिताको आवेदन प्रक्रिया सुरु भइसकेको छ। इच्छुक सहभागीहरूले ईसेवा एपमार्फत आवेदन दिन सक्नेछन्। डिजिटल माध्यमबाट आवेदन दिन नसक्नेहरूले अडिसन स्थलमै गएर पनि फारम भर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको पहिलो अडिसन जेठ १६ गते जनकपुरमा आयोजना हुनेछ भने त्यसपछि काठमाडौंमा पनि अडिसन सञ्चालन गरिनेछ।

आयोजकले प्रतियोगितामा केवल मिथिला समुदायका युवतीहरू मात्र होइन, मिथिला भाषा र संस्कृतिबारे सामान्य जानकारी भएका अन्य नेपाली युवतीहरूलाई पनि सहभागी हुन आह्वान गरेको छ।

‘मिस मिथिलानारी नेपाल २०२६’ ले सौन्दर्यसँगै संस्कृति, व्यक्तित्व विकास, नेतृत्व क्षमता र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।


यो पनि पढ्नुहोस्: द हिडन ट्रेजरले खुलायो ‘मिस नेपाल २०२६’ आवेदन, विदेशमा रहेका नेपाली युवतीले पनि भाग लिन पाउने


SUBSCRIBE 👉