
अमेरिकाको मेरील्यान्डमा सम्पन्न नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२६ मा त्रिवेणी राई निर्देशित ‘शेप अफ मोमो’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ। नेपाली भाषाको यो फिल्मले पछिल्लो समय अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सर्किटमा पाइरहेको प्रशंसा थप मजबुत बनाउँदै NAIFF को मुख्य अवार्ड हात पारेको हो।
नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा June 25 देखि 28, 2026 सम्म चलेको महोत्सव AFI Silver Theatre and Cultural Center र Greenbelt Cinema मा आयोजना गरिएको थियो। आयोजकका अनुसार यस वर्ष महोत्सवमा नेपाल, अमेरिका, भारतसहित ११ देशका ३८ वटा फिचर तथा लघु फिल्म प्रदर्शनमा थिए।
समापन समारोह AFI Silver Theatre and Cultural Center मा सम्पन्न भएको थियो। सोही अवसरमा निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ट फिल्म तथा फिल्मकर्मीलाई सम्मान गरेको हो।
यस वर्षको Best International Feature Film को अवार्ड ‘द शेप अफ मोमो’ ले जित्यो। त्रिवेणी राईको निर्देशनमा बनेको यो फिल्म महोत्सवको opening film पनि थियो। फिल्ममा गौमाया गुरुङ र पशुपति राईलगायत कलाकारको अभिनय छ। ‘द शेप अफ मोमो’ ले यसअघि Busan International Film Festival 2025 मा दुई अवार्ड जितिसकेको छ, जसले यसलाई दक्षिण एसियाली र हिमाली कथावाचनको चर्चित फिल्ममध्ये एक बनाएको छ।
यही विधामा जौन योन्जन निर्देशित ‘क्रलिङ क्रोज’ ले honorable mention प्राप्त गर्यो। नेपाली शीर्षक ‘आँखा’ का रूपमा पनि चिनिएको यो फिल्म NAIFF 2026 को प्रतिस्पर्धात्मक सूचीमा समावेश प्रमुख नेपाली फिल्ममध्ये एक थियो।
Nepali Panorama विधामा नानी साह्रा वाकर निर्देशित ‘शक्ति’ विजेता बन्यो। ‘शक्ति’ महोत्सवको closing film पनि थियो। फिल्ममा लक्ष्मी बर्देवा, मेनुका प्रधान, माओत्से गुरुङलगायत कलाकार छन्। सामाजिक न्याय, लैंगिक असमानता र दलित महिलामाथि हुने हिंसाजस्ता संवेदनशील विषय उठान गरेको यो फिल्मलाई NAIFF ले यस वर्षको महत्वपूर्ण प्रदर्शनमध्ये एकका रूपमा प्रस्तुत गरेको थियो। यही विधामा कालानी ग्याकन निर्देशित ‘फ्यामिली म्यान’ ले honorable mention पायो।
Best Documentary को अवार्ड अमिताभ जोशी निर्देशित ‘Have You Seen My God?’ ले जित्यो। नेपाली–अमेरिकी फिल्ममेकर जोशीको यो वृत्तचित्र महोत्सवको उल्लेखनीय प्रदर्शनमध्ये एक थियो। यही फिल्मले Best DMV Close-Up Award पनि जित्दै दोहोरो सफलता हात पारेको छ। वृत्तचित्र विधामा राजन कठेत निर्देशित ‘The Road to Til’ लाई honorable mention प्रदान गरिएको छ।
लघु फिल्मतर्फ शुभम नेगी निर्देशित ‘Hills Don’t Dance Alone’ र अमिर होसेन केश्मिरी निर्देशित ‘One Two Three’ संयुक्त रूपमा विजेता घोषित भए। Jury Award भने डेमिङ चेन निर्देशित ‘Always’ लाई प्रदान गरिएको छ।
यसैगरी, ब्रिटनी रामजट्टन र एन्ड्र्यु रामजट्टन निर्देशित ‘Perfectly Seasoned’, अलिन कटेल निर्देशित ‘A Solemn Promise’ र पुरन्ध्या शर्मा निर्देशित ‘Have a Good One’ ले विशेष उल्लेख पुरस्कार प्राप्त गरे।
NAIFF 2026 ले यसपटक फिल्म प्रदर्शनसँगै filmmaker conversations, roundtable discussion, filmmaking masterclass र community events पनि समावेश गरेको थियो। महोत्सवले नेपाली, दक्षिण एसियाली, अमेरिकी र डायस्पोराका फिल्ममेकरलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।
महोत्सवका founder/president पूर्णसिंह बराइलीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। सन् २०१७ देखि सुरु भएको NAIFF पछिल्ला वर्षहरूमा नेपाली मूलका फिल्ममेकर, दक्षिण एसियाली कथा र डायस्पोरा सिनेमालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको छ।
‘द शेप अफ मोमो’ को मुख्य अवार्ड जिताइ केवल एउटा फिल्मको उपलब्धि मात्र होइन, नेपाली भाषाको कथा, महिला–केन्द्रित सिनेमाटिक दृष्टि र हिमाली समाजका मुद्दाहरू अन्तर्राष्ट्रिय फिल्म जगतमा अझै सुन्निन थालेको संकेत पनि हो।
यो पनि पढ्नुहोस्: सगरमाथाको ऐतिहासिक कथा बोकेको हलिउड फिल्म ‘Tenzing’
