दीपकप्रसाद आचार्यको ‘चिरञ्जीवी भवः’ ५१ दिनमा सकियो छायांकन, माघ १ गते रिलिज

‘परान’पछि निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को दोस्रो फिल्म ‘चिरञ्जीवी भवः’को ५१ दिन लामो छायांकन पूरा भएको छ। पारिवारिक सम्बन्धको कथा बोकेको फिल्म २०८३ माघ १ गते प्रदर्शन हुँदैछ।

‘परान’बाट बक्सअफिसमा ठूलो सफलता पाएका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को दोस्रो निर्देशकीय फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन पूरा भएको छ। ५१ दिन लामो छायांकन सकिएसँगै फिल्म अब पोस्ट-प्रोडक्सनमा प्रवेश गरेको छ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको छायांकन जेठ १५ गते सुरु गरिएको थियो। धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा फिल्म खिचिएको हो। निर्माण टिमले सुरुमा ४५ दिनको छायांकन तालिका बनाएको भए पनि काम पूरा हुन ५१ दिन लागेको छ।

‘चिरञ्जीवी भवः’ निर्देशक आचार्यका लागि विशेष प्रतीक्षाको फिल्म बनेको छ। उनको निर्देशनमा बनेको ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि दोस्रो फिल्मप्रति स्वाभाविक रूपमा चासो बढेको छ। ‘परान’पछि उनले कस्तो कथा र प्रस्तुति लिएर आउँछन् भन्ने प्रतीक्षा फिल्म क्षेत्रसँगै दर्शकमाझ पनि छ।

छायांकन पूरा भएपछि निर्देशक आचार्यले फिल्मलाई पर्याप्त समय दिएर खिचिएको र पोस्ट-प्रोडक्सनमा पनि उत्तिकै मेहनत गरिने बताएका छन्।

“हामीले मन खोलेर समय लगाएर चलचित्रको छायांकन गरेका छौँ। अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ,” आचार्यले भने, “कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने चलचित्र लिएर आउनेछौँ।”

फिल्ममा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। ‘चिरञ्जीवी भवः’बाट प्रशंसाले ठूलो पर्दामा डेब्यु गर्दैछिन्। फिल्ममा उनको जोडी आशीर्वाद क्षेत्रीसँग बाँधिएको छ।

कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमन ज्योति न्यौपानेसहितका कलाकारको पनि अभिनय छ।

सोसल ड्रामा जनरामा बनेको ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको सोचको भिन्नता, भावनात्मक दूरी र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेको छ। कथामा हजुरबुबा र नातिबीचको भावनात्मक सम्बन्धसमेत महत्वपूर्ण रहने बताइएको छ।

फिल्मको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले तयार पारेका हुन्। सविन अधिकारी र वसन्त न्यौपाने लेखनमा जोडिएका छन्। दीपकप्रसाद आचार्य र कुमार कट्टेलको सहकार्यका कारण पनि फिल्म घोषणादेखि नै चर्चामा रहँदै आएको छ।

उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्।

शिवराम श्रेष्ठले छायांकन गरेको फिल्मका सम्पादक मित्र डी. गुरुङ हुन्। बाबु गिरीको संगीत रहने फिल्मका गीत दीपकप्रसाद आचार्य र हर्क साउदले लेखेका छन्। गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशक हुन्।

‘चिरञ्जीवी भवः’लाई २०८३ माघ १ गते अर्थात् १५ जनवरी २०२७ बाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी छ। सोही दिन माघे संक्रान्ति परेको छ।

फिल्मको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्ने निर्माण पक्षले जनाएको छ।

‘परान’पछि निर्देशक आचार्यले फेरि पारिवारिक र सामाजिक सम्बन्धको भावनात्मक धरातल रोजेका कारण ‘चिरञ्जीवी भवः’प्रति अपेक्षा बढेको छ।