गुञ्जिए ९० दशकका गीत, धरानको सांगीतिक साँझमा गीतसँगै कलाकारको योगदानलाई सम्मान

धरानमा आयोजित ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ले दर्शकलाई पुराना सांगीतिक सम्झनामा फर्कायो। चार कलाकारको प्रस्तुति, सञ्जीव लामाको सम्मान र मनोज मोतेसँगको संयुक्त गायन कार्यक्रमका विशेष क्षण बने।

धरानमा ‘मुसु मुसु हाँसी देऊ’ गाउन सञ्जीव लामा र मनोज मोते एउटै मञ्चमा उभिँदा दर्शकले पनि स्वर मिलाए। लामो समयपछि सँगै देखिएका दुई पुराना सहकर्मीको संयुक्त प्रस्तुतिसँगै ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सकियो। साँझभर गुञ्जिएका परिचित गीतहरूले दर्शकलाई पुराना सांगीतिक सम्झनामा फर्काएका थिए।

सिल्भर इन्टरटेनमेन्टले असोज १० गते शनिबार धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजना गरेको कन्सर्ट राति ११ः३० बजेसम्म चलेको थियो। मिक्स मेलोडी, जेलर्स र ओझेल ब्यान्डसँग जोडिएका कलाकार तथा गायक रोहित मास्केले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरे।

९० दशकको संगीतसँग हुर्किएको पुस्ताका दर्शकको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा उनीहरूले कलाकारसँगै गाएर र नाचेर साथ दिए।

परिचित गीतसँगै फर्किए पुराना सम्झना

मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले ‘सम्झनाहरूलाई अँगाल्दै’, ‘बिर्सिएका यादहरू’, ‘म सधैंलाई’, ‘घुम्दै आउनू धरान बजार’ र ‘चिपुगुच्चा’ लगायतका गीत प्रस्तुत गरे। उनका प्रस्तुतिमा दर्शकले स्वर मिलाउँदै सांगीतिक साँझको आनन्द लिए।

जेलर्स ब्यान्डका मनोज मोतेले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’ र ‘भेडेटार’ लगायतका गीत सुनाए। रोहित मास्केले ‘दिउँला त्यो जोवन’, ‘मेरी मायालु’, ‘चिसो चिसो’ र ‘मर्छु कि क्या हो’ मार्फत दर्शकलाई झुमाए।

ओझेल ब्यान्डका दिलु राईले ‘माछी पर्‍यो’, ‘पूर्णिमाको जुनेली रात’ र ‘उमेरले नौ डाँडा काटेछ’ लगायतका गीत प्रस्तुत गरे। कलाकारका परिचित गीतमा दर्शकको साथले कार्यक्रमभर उत्साह कायम राख्यो।

सञ्जीव लामालाई सम्मान, मनोज मोतेलाई आत्मीय उपहार

कन्सर्टमा गीतसँगै कलाकारको सांगीतिक योगदानको पनि कदर गरियो। आयोजक सिल्भर इन्टरटेनमेन्टले मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई लामो समयदेखिको योगदानका लागि सम्मान गर्‍यो।

सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ र वरिष्ठ संगीतकर्मी रोशन शर्माले कलाकारहरू मनोज मोते, रोहित मास्के र दिलु राईसँगै लामालाई खादा तथा सम्मानपत्र प्रदान गरे।

कार्यक्रमको अन्त्यतिर लामाले आफ्ना पुराना सहकर्मी मनोज मोतेलाई व्यक्तिगत रूपमा ट्रफी र नगदसहित सम्मान गरे। मोतेको सांगीतिक योगदानको कदर गर्दै गरिएको सम्मानपछि दुवैले पुरानो सहकार्यका सम्झना साटे।

त्यसपछि सञ्जीव र मनोजले संयुक्त रूपमा ‘मुसु मुसु हाँसी देऊ’ प्रस्तुत गरे। दुई पुराना सहकर्मीलाई एउटै मञ्चमा सुन्न पाउँदा दर्शकले उत्साहपूर्वक साथ दिए। यही प्रस्तुतिसँगै कन्सर्टको सांगीतिक समापन भयो। कार्यक्रमको सञ्चालन गोविन्द राजभण्डारीले गरेका थिए।

पूर्वी नेपालका अन्य सहरमा पनि टुरको तयारी

९० दशकका लोकप्रिय गीत, कलाकार र ब्यान्डलाई फेरि दर्शकमाझ ल्याउने उद्देश्यले कन्सर्ट आयोजना गरिएको सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। पुरानो पुस्ताका सम्झना ताजा बनाउँदै नयाँ पुस्तालाई पनि त्यसबेलाको संगीतसँग जोड्ने आयोजकको लक्ष्य छ।

धरानको कार्यक्रमपछि पूर्वी नेपालका विभिन्न सहरमा यस्तै सांगीतिक टुर आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। उक्त टुरमा पनि ९० दशकका चर्चित गीत, कलाकार र ब्यान्डका प्रस्तुतिलाई केन्द्रमा राखिनेछ।

SUBSCRIBE 👉