१२ मिनेटमै स्टेज छाडेको आरोप : कच्चा बदाम फेम्ड अञ्जली अरोरासँग १ करोड २० लाख भारु माग

कानपुरको ‘नगाडा नाइट्स’ कार्यक्रममा सहमतिअनुसार समय नदिएको आरोप लगाउँदै आयोजकले अञ्जली अरोरासँग १ करोड २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। अञ्जलीले भने सुरक्षा र व्यक्तिगत गोपनीयतामा समस्या भएपछि कार्यक्रम छाडेको बताएकी छन्।

४५ मिनेटको सहमति भएपनि १२ मिनेटमै स्टेज छाडेको आरोप : कच्चा बदाम फेम्ड अञ्जली अरोरासँग १ करोड २० लाख भारु माग

कानपुरको ‘नगाडा नाइट्स’ कार्यक्रममा ४५ मिनेट स्टेजमा रहने सहमति गरेर करिब १२ मिनेटमै बाहिरिएको आरोपमा कच्चा बदाम फेम्ड अभिनेत्री तथा सोसल मिडिया इन्फ्लुएन्सर अञ्जली अरोरालाई कानुनी नोटिस पठाइएको छ। आयोजकले आर्थिक क्षति र मानहानिबापत १ करोड २० लाख भारतीय रुपैयाँ माग गरेका छन्। अञ्जलीले भने सुरक्षा र व्यक्तिगत गोपनीयतामा समस्या भएपछि कार्यक्रम छाडेको बताएकी छन्।

अक्टोबर १५ मा आयोजित उक्त कार्यक्रममा अञ्जलीले सहमतिअनुसार समय नदिँदा कार्यक्रम प्रभावित भएको आयोजकको दाबी छ। उनीहरूले सार्वजनिक माफीको मागसमेत गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार क्षतिपूर्तिका रूपमा मागिएको रकममध्ये २० लाख भारतीय रुपैयाँ कथित आर्थिक नोक्सानी र १ करोड रुपैयाँ मानहानिबापत हो।

आयोजकका अनुसार अञ्जलीको पारिश्रमिक ३ लाख भारतीय रुपैयाँ तय भएको थियो, जसमध्ये २ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। अञ्जली र उनको टोलीको हवाई यात्रा, होटल र खानाको खर्च पनि आफूहरूले बेहोरेको आयोजकको भनाइ छ।

अञ्जली कार्यक्रमबाट चाँडै बाहिरिएपछि प्रायोजकले भुक्तानी रोकेको र त्यसबाट करिब २० लाख रुपैयाँ घाटा भएको उनीहरूको दाबी छ। आयोजकले कानपुरको स्वरूप नगर प्रहरी चौकीमा उजुरी दिँदै एफआईआर दर्ताको माग पनि गरेका छन्।

अञ्जलीले भने घटनाबारे फरक विवरण प्रस्तुत गरेकी छन्। अक्टोबर १९ मा इन्स्टाग्राममार्फत आफ्नो पक्ष राख्दै उनले सुरक्षा व्यवस्था र व्यक्तिगत गोपनीयतामा ध्यान नदिइएको आरोप लगाएकी थिइन्।

होटलको कोठाको घण्टी पटकपटक बजाउने र फोटो खिचाउन मानिसहरू आइरहने व्यवहारले आफूलाई असहज बनाएको उनको भनाइ छ। आयोजकले भने सुरक्षा व्यवस्थासम्बन्धी उनका आरोप अस्वीकार गरेका छन्।

कार्यक्रममा ‘कच्चा बदाम’ गीत बजाइएकाले उनी रिसाएको आरोपसमेत उठेको थियो। अञ्जलीले उक्त गीतप्रति कुनै आपत्ति नभएको स्पष्ट पार्दै त्यसैले आफूलाई चिनाएको बताएकी छन्।

SUBSCRIBE 👉