
मोडलिङबाट अभिनयतर्फ पाइला चालेकी पूर्णिका सिजापति अब नेपाली चलचित्र ‘हाम्रो सानो घर’ मा मुख्य अभिनेत्रीका रूपमा देखिने भएकी छन्। निर्देशक तथा लेखक सुमन गजमेरको फिचर निर्देशन डेब्यु रहने चलचित्रका लागि पूर्णिकालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हो।
पूर्णिका पछिल्लो समय प्रदर्शनमा आएको निखिल उप्रेती निर्देशित ‘आचार्य’ मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी हुन्। ‘आचार्य’मा निखिल उप्रेतीसँगै पूर्णिका, प्रमोद अग्रहरि तथा भारतीय कलाकार दीपराज राणालगायतको अभिनय छ। चलचित्र असोज ९ गतेदेखि प्रदर्शनमा आएको हो।
मोडलिङबाट चलचित्रसम्म
१६ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी पूर्णिका नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा परिचित अनुहार हुन्। कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ को उपाधि जितेकी थिइन्। त्यसपछि उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधिसमेत जितिन्।
मोडलिङसँगै कन्टेन्ट क्रिएसन र विभिन्न फेसन तथा ब्रान्डसँग काम गर्दै आएकी पूर्णिकाले अब आफ्नो अभिनय यात्रालाई अगाडि बढाउँदै ‘हाम्रो सानो घर’मा मुख्य अभिनेत्रीको जिम्मेवारी सम्हाल्न लागेकी हुन्।

Gen Z को प्रेम, सपना र सामाजिक यथार्थको कथा
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘हाम्रो सानो घर’को कथा, पटकथा तथा निर्देशन सुमन गजमेरले गर्नेछन्।
चलचित्रले समकालीन जेनेरेसन–जेड (Gen Z) को प्रेम, सम्बन्ध, सपना, सामाजिक सोच र जीवनशैलीलाई कथाको केन्द्रमा राख्ने निर्माण पक्षले जनाएको छ। प्रेमकथासँगै नेपाली समाजमा रहेको जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई पनि चलचित्रले समेट्ने बताइएको छ।
चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको छ। पूर्णिकाको जोडीका रूपमा देखिने मुख्य पुरुष कलाकारको नाम भने अझै सार्वजनिक गरिएको छैन। निर्माण पक्षले उनको औपचारिक घोषणापछि चलचित्रबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ।
चलचित्रको छायांकन दशैंपछि सुरु गर्ने तयारी भइरहेको छ।
लेखन र सहायक निर्देशनपछि सुमनको फिचर निर्देशन
‘हाम्रो सानो घर’ सुमन गजमेरको पहिलो फिचर निर्देशकीय चलचित्र हुनेछ। निर्देशनमा आउनुअघि उनले नेपाली चलचित्रमा लेखक तथा सहायक निर्देशकका रूपमा अनुभव बटुलिसकेका छन्।
गजमेरले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’ लगायतका चलचित्रमा लेखकका रूपमा काम गरेका छन्। त्यस्तै ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्।
उनले लेखन तथा निर्देशन गरेको लघु चलचित्र ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भएको छ।
मोडलिङबाट सुरु भएको पूर्णिकाको यात्रा ‘आचार्य’ हुँदै अब मुख्य अभिनेत्रीको भूमिकासम्म आइपुगेको छ। अर्कोतर्फ, लेखन र सहायक निर्देशनमा अनुभव बटुलेका सुमनले यही चलचित्रबाट फिचर निर्देशकका रूपमा नयाँ अध्याय सुरु गर्दैछन्।
अब ‘हाम्रो सानो घर’मा पूर्णिकाको जोडी को बन्नेछ भन्ने घोषणाले यसको स्टारकास्ट थप स्पष्ट बनाउनेछ।

