थाइल्यान्ड उडे गिरिशरत्न शाक्य, अब ‘मिस्टर ग्लोबल’को मञ्चमा नेपालको प्रतिनिधित्व

‘मिस्टर ग्लोबल नेपाल २०२५’ गिरिशरत्न शाक्य अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’मा नेपालको प्रतिनिधित्व गर्न थाइल्यान्ड पुगेका छन्।

अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न मिस्टर ग्लोबल नेपाल २०२५ गिरिशरत्न शाक्य थाइल्यान्ड प्रस्थान गरेका छन्।

सोमबार थाइल्यान्ड उडेका गिरिश अब नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारीमा छन्।

थाइल्यान्डमा सेप्टेम्बर २९ देखि अक्टोबर १० सम्म चल्ने प्रतियोगितामा विश्वका करिब ४० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ।

प्रतियोगिताको फाइनल अक्टोबर १० मा Nonthaburi स्थित MCC Hall, The Mall Lifestore Ngamwongwan मा आयोजना हुने तय छ।

गिरिशले सन् २०२५ मा काठमाडौंमा आयोजित ‘मिस्टर नेपाल २०२५’ को ग्रान्ड फिनालेमा ‘Mister Global Nepal’ उपाधि जितेका थिए।

सोही प्रतियोगितामा हिमाञ्चल राज केसी ‘Mister Nepal World’ र प्रकाश चौहान ‘Man of the World Nepal’ बनेका थिए। गिरिशले उक्त प्रतियोगितामा Gentleman with Purpose उपाधिसमेत जितेका थिए।

‘मिस्टर नेपाल’को आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थाइल्यान्ड पठाएको हो।

नेक्स्ट मोडल्स नेपालका अनुसार गिरिशले प्रतियोगिताका विभिन्न चरणका लागि आवश्यक प्रशिक्षण र तयारी पूरा गरिसकेका छन्।

प्रतियोगिताका क्रममा सहभागीहरूले र्‍याम्प प्रस्तुति, अन्तरवार्ता, व्यक्तित्व तथा विभिन्न गतिविधिसँगै आफ्नो देशको मौलिक पहिचान प्रस्तुत गर्ने अवसर पाउनेछन्।

यस वर्ष Mister Global का प्रतिनिधिहरूका लागि थाइल्यान्डको Nakhon Pathom क्षेत्रमा सांस्कृतिक तथा अन्य गतिविधिसमेत तय गरिएको छ।

गिरिशको प्रस्तुतीकरणमा नेपाली कला र संस्कृतिलाई विशेष स्थान दिइने नेक्स्ट मोडल्स नेपालले जनाएको छ।

राष्ट्रिय उपाधि जितेको एक वर्षपछि उनी अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो पेजेन्ट यात्राको अर्को महत्वपूर्ण चरणमा प्रवेश गरेका छन्।

SUBSCRIBE 👉