
बाल प्रतिभाको क्षमता, आत्मविश्वास र नेतृत्व विकासलाई केन्द्रमा राख्दै आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६’ले टडलर्स, जुनियर र सिनियर गरी तीन विधामा ६ विजेता चयन गरेको छ।
शनिबार राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा प्रत्येक विधाको ब्वाइज र गर्ल्सतर्फ छुट्टाछुट्टै विजेता घोषणा गरिएको हो।
टडलर्स ब्वाइजतर्फ आयांश श्रेष्ठ र टडलर्स गर्ल्सतर्फ आज्ञाश्री धमला विजेता बने। जुनियर ब्वाइजतर्फ हृदयन्द्र प्रजापती र जुनियर गर्ल्सतर्फ सान्वी के.सीले उपाधि जिते।
त्यस्तै, सिनियर ब्वाइजतर्फ सद्भाब बस्नेत र सिनियर गर्ल्सतर्फ कृश्निका दुवाल शीर्ष उपाधि विजेता घोषित भए।
प्रतियोगिताको यो दशौँ संस्करण हो। टडलर्स ब्वाइजतर्फ शौर्यम आचार्य फस्ट रनरअप र आरिभ जंग खड्का सेकेन्ड रनरअप बने। टडलर्स गर्ल्सतर्फ नयनिका लामा फस्ट रनरअप र आरुषी दाहाल सेकेन्ड रनरअप भए।
जुनियर ब्वाइजतर्फ शौनित अधिकारी फस्ट रनरअप र प्रियांश सापकोटा सेकेन्ड रनरअप चुनिए। जुनियर गर्ल्सतर्फ पेमा लामा फस्ट रनरअप र एप्रिल अर्याल सेकेन्ड रनरअप बने।
सिनियर ब्वाइजतर्फ प्रतिक कठायत फस्ट रनरअप र शिशिर राई सेकेन्ड रनरअप हुँदा सिनियर गर्ल्सतर्फ इशा काफ्ले फस्ट रनरअप र अमेई बैनत्वा सेकेन्ड रनरअप बने।

प्रतियोगिताको निर्णायक मण्डलमा युरो स्कुल भक्तपुरकी संस्थापक तथा प्रिन्सिपल सम्झना गिरी, युनिग्लोब स्कुल कमलादीकी हेड अफ स्कुल बर्षना थापा, काठमाडौं युरो आईबी वर्ल्ड स्कुलकी सञ्चालक समिति सदस्य तथा भर्ना प्रमुख अनामिका कार्की, वरिष्ठ सञ्चारकर्मी लव कार्की, सिजी होल्डिङ्सका नायव प्रबन्धक शिरीष आर. तुलाधर, अभिनेता मणि के. राई र म्यानिफेस्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीकी प्रमुख कार्यकारी अधिकृत रती शाहलगायत रहेका थिए।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित प्रतियोगितामा युरो स्कुल भक्तपुरको प्रस्तुति र काठमाडौं वर्ल्ड स्कुलको सहकार्य रहेको थियो।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्यका लागि सक्षम बनाउनु रहेको बताए।
उनका अनुसार प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्य राखेको छ। बाल प्रतिभालाई कलाका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्यसमेत रहेको उनले बताए।
प्रतियोगिताको कोरियोग्राफी पनि फैजुले गरेका थिए भने प्रतियोगीका आकर्षक पहिरन श्रीषा बैदारले डिजाइन गरेकी थिइन्। विजेता तथा रनरअपलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुरस्कार प्रदान गरेका थिए।

