
Arpan Thapa and Thinley Lhamo share a quiet moment in the teaser for French Kiss, a Nepali film written and directed by Thapa.
काठमाडौंका विभिन्न स्थानहरुमा हिँडिरहेका अर्पण थापा र थिन्ले ल्हामोका पात्रबीच प्रेमकै कुरा चल्छ। उनीहरू एकअर्काप्रति आकर्षित छन्, तर आजको समयमा प्रेम कतै मिथक बनिसक्यो कि भन्ने प्रश्न पनि उनीहरूकै कुराकानीमा उठ्छ। यही दोधारबाट अर्पण निर्देशित ‘फ्रेन्च किस’को टिजर सुरु हुन्छ।
युट्युब मार्फत टिजर सार्वजनिक गर्दै निर्माण टोलीले माघ १ गते (माघे संक्रान्ति) फिल्म रिलिज मिति तय गरेको छ।
टिजरभरि अर्पण र थिन्ले मात्रै देखिन्छन्। कहिले काठमाडौंका गल्लीमा त कहिले तालको किनारमा, दुवै आ–आफ्नो ढंगले प्रेमबारे बोल्छन्। उनीहरूको निकटता भने बोल्दाभन्दा पनि एकअर्काको हात समातेर हिँड्दा र एकान्तमा चुम्बन साट्दा बढी खुल्छ।
दुई जनाको कुराकानी सुनिएको ठाउँमा अब चर्का आवाज सुनिन्छन्। त्यो आवाज केको हो र उनीहरूको सम्बन्धमा के बदलियो भन्ने रहस्य टिजरले बाँकी राखेको छ।
नयाँ पुस्ताले प्रेमलाई कसरी बुझ्छ भन्ने विषयमा अर्पण आफैंले कथा लेखेका हुन्। लेखन र निर्देशनसँगै उनी मुख्य भूमिकामा छन्। फिल्ममा रेखा थापा, गौरी मल्ल र आयशा तामाङको पनि अभिनय छ।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत र सहनिर्माता सुभाष बी. शाही हुन्। सुदीप बरालले खिचेको फिल्ममा दीपक बज्राचार्यको संगीत छ।
फ्रेन्च किस – टिजर हेर्नुहोस्












