
Hindu religious leaders share their reactions after watching Panch Pandav, saying they found no content offensive to Hindu beliefs while maintaining concerns about its promotional material.
चलचित्र ‘पाँच पाण्डव’को पोस्टर र ट्रेलरप्रति आशंका जनाएका केही हिन्दु धर्मगुरुले पूरा चलचित्र हेरेपछि धार्मिक आस्थामा चोट पुर्याउने विषय नपाएको बताएका छन्। निर्माणपक्षको आग्रहमा सोमबार चलचित्र हेरेका उनीहरूले प्रचार सामग्रीबाट बनेको आफ्नो बुझाइ र चलचित्रको विषयवस्तु फरक रहेको प्रतिक्रिया दिएका हुन्।
उनीहरूका अनुसार सामाजिक सञ्जालमा चर्चा भएजस्तो चलचित्रले हिन्दु धर्म, महाभारत वा धार्मिक विश्वासको अपमान गरेको देखिएन। चलचित्र हेर्नुअघि पोस्टर, ट्रेलर र गीतका आधारमा आफूहरूले प्रश्न उठाएको उनीहरूले बताएका छन्।
यद्यपि, चलचित्र हेरेपछि सकारात्मक प्रतिक्रिया दिएका धर्मगुरुहरूले प्रचार सामग्रीको प्रस्तुतिप्रति भने आफ्नो प्रश्न कायमै राखेका छन्। पोस्टरमा इभा गिरीलाई द्रौपदीका रूपमा चिनाइएको र त्यसपछि सार्वजनिक गीतमा उनको नृत्य देखिएकाले आशंका उत्पन्न भएको उनीहरूको भनाइ छ।
पूरा चलचित्रमा भने आफूहरूले अनुमान गरेजस्तो द्रौपदीको चित्रण नरहेको उनीहरूले बताएका छन्। चलचित्रको विषयवस्तुको प्रशंसा गर्दै उनीहरूले अरू दर्शकलाई पनि हेर्न सुझाव दिएका छन्।
यो प्रतिक्रिया प्रदर्शनअघि धार्मिक विषयलाई लिएर चर्किएको विवादपछि आएको हो। विशेषगरी ‘राजा चाहिया छ’ गीत सार्वजनिक भएपछि इभा गिरीको पात्रलाई महाभारतकी द्रौपदीसँग जोडेर सामाजिक सञ्जालमा आलोचना भएको थियो। केही धार्मिक अभियन्ता तथा संस्थाले चलचित्रको प्रस्तुतिमाथि प्रश्न उठाउँदै प्रदर्शन रोक्नसमेत माग गरेका थिए।
निर्देशक वसन्त निरौला र निर्माणपक्षले भने गीत तथा ट्रेलरका छोटा अंशबाट मात्रै चलचित्रको अर्थ नलगाउन आग्रह गर्दै आएका थिए। उनीहरूले चलचित्रले कुनै धर्म वा समुदायको आस्थामा चोट पुर्याउने उद्देश्य नराखेको स्पष्ट पारेका थिए।
विवादकै बीच चलचित्रको प्रदर्शन केही समय अन्योलमा परेको थियो। तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निर्माणपक्ष, चलचित्र जाँच समिति र सम्बन्धित सरकारी निकायका प्रतिनिधिबीच भएको छलफलपछि तोकिएकै मितिमा प्रदर्शन गर्ने बाटो खुलेको थियो।
चलचित्रले यसअघि नै चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको थियो। अन्ततः ‘पाँच पाण्डव’ कात्तिक २० गते, शुक्रबार अर्थात् नोभेम्बर ६ देखि सार्वजनिक प्रदर्शनमा आएको हो।
लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ समकालीन नेपाली समाजको कथा भन्ने सामाजिक ड्रामा हो। महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रतीकका रूपमा प्रयोग गरिएको उनको भनाइ छ। निर्माणपक्षले यसलाई महाभारतको कथा हुबहु पर्दामा उतारिएको चलचित्रका रूपमा नबुझ्न आग्रह गर्दै आएको छ।
वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, विनोद न्यौपाने र इभा गिरीलगायत कलाकारको अभिनय छ। दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल पनि चलचित्रमा छन्।
काली रानी फिल्म्सको ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। नवीन यसअघि ‘लाज शरणम्’को निर्माणमा पनि संलग्न थिए।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट तथा विक्रम स्वाँरको नृत्य निर्देशन र अर्जुन पोखरेलको संगीत छ।







