
Bijay Baral and Anjana Baraili reunite as newly weds in Saroj Paudel’s Sindure Jatra, scheduled for theatrical release on December 4, 2026.
गाउँमा कटुवालले खबर सुनाउँछन्। बिहेको रात विजय बराल र अञ्जना बराइली बेहुलाबेहुलीका रूपमा मायाका कुरा गर्छन्। केही बेरमै अञ्जना विनोद न्यौपानेको पछिपछि हिँडेको दृश्य आउँछ। बुधबार सार्वजनिक भएको ‘सिन्दुरे जात्रा’को टिजरले बिहेको खुसी र त्यसपछिको वियोग देखाउँछ। यी दुई क्षणबीच के भयो भन्ने रहस्य भने बाँकी राख्छ।
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलले विजय र अञ्जनालाई फेरि पर्दामा जोडी बनाएका छन्। यसपटक उनीहरूको कथा गाउँमा भर्खरै बिहे गरेका दुई पात्रबाट सुरु हुन्छ। विनोदको पात्र देखिएसँगै नवदम्पतीको कथा अर्कै मोडमा पुग्छ। विजयकी बेहुली बनेकी अञ्जना विनोदसँग हिँडेको देखिए पनि पछिल्ला दृश्यमा उनी आफैँ धोका पाएको पीडामा छिन्। उता, विजयका दृश्यमा छुट्टिनुको दुःख झल्किन्छ।
यसअघि निर्माण टोलीले चलचित्रको ‘बाँसैको सुप्लाखे’ गीत सार्वजनिक गरेको थियो। ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते शुक्रबार (४ डिसेम्बर २०२६) देखि सिनेमाघरमा प्रदर्शन हुँदै छ।
निर्देशक पौडेलको कथामा सबिन अधिकारी र वसन्त न्यौपानेले पटकथा लेखेका हुन्। विजय, अञ्जना र विनोदसँगै चलचित्रमा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा र हिउँवाला गौतमको अभिनय छ। राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियार पनि कलाकार टोलीमा छन्।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता, दिनेश खड्का कार्यकारी निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता र अनिश अधिकारी लाइन निर्माता हुन्।
पदमबहादुर श्रेष्ठ (बाबु)ले चलचित्र खिचेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्। प्रशान्त सिवाकोटीले संगीत दिएका छन्। विशाल घिमिरे चलचित्रका क्रिएटिभ निर्देशक हुन्। वितरणको जिम्मा नेसनल सिने ग्रुप नेपालले लिएको छ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनर हुन्।











