नमुना कलेजको २०औँ ग्राजुएसन फेसन शोमा देखियो प्रकृतिबाट प्रेरित सिर्जनात्मक फेसन कथाहरू

नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। ६२ विद्यार्थी डिजाइनरका सिर्जनाले नेपालको जैविक विविधता र प्राकृतिक सौन्दर्यलाई आधुनिक फेसनसँग जोड्दै प्रभावशाली रनवे प्रस्तुति दिएका थिए।


नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सिर्जनशीलता, कल्पनाशक्ति र कलात्मक अभिव्यक्तिको भव्य उत्सवका रूपमा सम्पन्न भएको छ। शनिबार, २८ मार्च २०२६ मा झम्सिखेल, ललितपुरस्थित द प्लाजा नेपालमा आयोजित कार्यक्रममा रनवे प्रकृति र फेसनको कथात्मक समन्वय प्रस्तुत गर्ने सजीव क्यानभास बनेको थियो। फेसन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रमले छ वटा अवधारणामा आधारित संग्रहमार्फत नेपालको प्राकृतिक भू–दृश्य र जैविक विविधताको सौन्दर्यलाई प्रभावशाली ढंगले प्रस्तुत गर्यो।

“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणाले सम्पूर्ण प्रस्तुतिको वैचारिक आधार तयार पारेको थियो। नेपालका वन, सिमसार क्षेत्र, हिमाल, वन्यजन्तु र पुष्पीय विविधताबाट प्रेरणा लिँदै डिजाइनरहरूले प्रकृतिका विविध तत्वलाई फेसन कथामा रूपान्तरण गरेका थिए। रनवेमा ६२ वटा विशिष्ट डिजाइनर पोशाकसहित छ वटा विशेष “क्रिएटिभ मास्टरपिस” प्रस्तुत गरिएका थिए, जसले प्रकृति, संस्कृति र समकालीन डिजाइनबीचको सन्तुलित समन्वयलाई उजागर गरे।

कार्यक्रमको औपचारिक शुभारम्भ नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिबाट भएको थियो। उनी प्रमोशनल मोडलहरूसँग रनवेमा उत्रिँदै कार्यक्रमको सुरुवात गरिन्। सम्पूर्ण कार्यक्रमको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए, जसको प्रभावशाली दृश्य संयोजनले संग्रहहरूको रचनात्मक दृष्टिलाई अझ जीवन्त बनाएको थियो। कार्यक्रममा व्यावसायिक मोडल तथा एनसीएफटीका विद्यार्थीहरू गरी ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रम सफल बनाउन २०औँ ब्याचका विद्यार्थीहरूको समर्पित व्यवस्थापकीय टोलीले पर्दा पछाडि महत्वपूर्ण भूमिका खेलेको थियो। रिया श्रेष्ठ, ईशा महर्जन, सन्ध्या निरौला र सरस्वती सिंहले कार्यक्रम व्यवस्थापन तथा समन्वयमा सक्रिय योगदान दिएका थिए।

साँझको पहिलो संग्रह “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो” ले हिमनदी र पानीबीचको परिवर्तनशील सम्बन्धलाई प्रस्तुत गरेको थियो। हिमनदी पग्लेर बग्ने जलधाराबाट प्रेरित यस संग्रहमा संरचित आकृतिबाट सुरु भई तरल र प्रवाहमय सिल्हुएटतर्फ रूपान्तरण हुने डिजाइनहरू देखिएका थिए। सेतो, सिल्भर, टिल र जेड रंगहरूको प्रयोगले प्रकृतिको रूपान्तरण प्रक्रियालाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरेको थियो।

PHOTO GALLERY: 62 Designers in One Grand Show: NCFT Graduation Fashion Show 2026 Photo Highlights

त्यसपछि प्रस्तुत “इरिडेसन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगेन्स” संग्रह भृंगाहरूको सुरक्षात्मक बाह्य संरचनाबाट प्रेरित थियो। इरिडेसन्ट रंग र सशक्त वास्तुकलात्मक सिल्हुएटहरूको संयोजनले शक्ति र सौन्दर्यबीचको सन्तुलनलाई उजागर गरेको थियो।

तेस्रो संग्रह “आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङ” ले माटोका गहिरा तहभित्र हुने प्राकृतिक प्रक्रियाहरूलाई विषय बनाएको थियो। सतही बनावटबाट सुरु भई गहिरा र सुरक्षात्मक संरचनातर्फ विकसित हुने डिजाइनहरूले स्मृति, दबाब र पुनर्जन्मको प्रतीकात्मक कथा प्रस्तुत गरेका थिए।

हिमाली सौन्दर्यबाट प्रेरित “एभियोराः विङ्स अफ द हिमालय” संग्रहले उडान, स्वतन्त्रता र आकांक्षाका भावलाई अभिव्यक्त गरेको थियो। हल्का कपडा, पखेटाजस्ता संरचना र गतिशील सिल्हुएटहरूले हिमाली वातावरणको उचाइ र सहनशीलतालाई प्रतिबिम्बित गरेका थिए।

पर्यावरणीय चेतनालाई केन्द्रमा राख्दै प्रस्तुत “रेड लिस्ट रिभेरी” संग्रहले नेपालका संकटग्रस्त वन्यजन्तु ‘हिमचितुवा, रातो पाण्डा र घडियाल’ प्रति ध्यानाकर्षण गरायो। माटोका रंग, संरचित डिजाइन र गाढा रातो रंगको प्रयोगले संरक्षण र अस्तित्वका सन्देशलाई सशक्त रूपमा प्रस्तुत गरेको थियो।

कार्यक्रमको अन्तिम संग्रह “वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल” ले नेपालको पुष्पीय विविधतालाई काव्यात्मक शैलीमा प्रस्तुत गर्यो। गुलाबी र हरिया रंग, कोमल कपडा र आकर्षक सिल्हुएटहरूले गुलाब, लालीगुराँस, अर्किड, कमल र लिली जस्ता फूलहरूको सौन्दर्यलाई कलात्मक रूपमा अभिव्यक्त गरेका थिए।

यी छवटै संग्रहहरूले समकालीन नेपाली फेसनको विकसित हुँदै गएको पहिचानलाई उजागर गरे, जहाँ फेसन केवल वस्त्र निर्माणमा सीमित नभई विचार, कथा र भावनात्मक अभिव्यक्तिको माध्यमका रूपमा प्रस्तुत भयो। प्रत्येक संग्रहको अन्त्यमा प्रस्तुत गरिएको “मास्टरपिस” डिजाइनले डिजाइनरको अवधारणा र सिर्जनात्मक यात्राको सारलाई प्रतिनिधित्व गरेको थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण एनसीएफटी फेसन क्याटलगको चौथो संस्करणको विमोचन थियो। उक्त क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा. कल्याणी मिश्रा त्रिपाठी, व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर, मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपाल तथा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा विमोचन गरेका थिए। विमोचन परिवेशषमा कलेजका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ तथा एनसीएफटीको १९औँ ब्याचका कार्यक्रम संयोजकहरूको पनि उपस्थिति रहेको थियो।

२०औँ ब्याचका विद्यार्थी डिजाइनरहरूको सिर्जनालाई मूल्यांकन गर्न प्रतिष्ठित निर्णायक मण्डल सहभागी थियो। जसमा सीटीईभीटीका पूर्व उपाध्यक्ष डा. कुल बहादुर बस्नेत, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधान, फेसन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा. सुनिल चित्रकार, फेसन डिजाइनर मुक्ता श्रेष्ठ र मनिश राई तथा मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर एवं मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय रहेका थिए।

कार्यक्रमलाई राधा कृष्ण ज्वेलर्स, अमेरिकन ल्याङ्ग्वेज सेन्टर र एलआईएम कलेजले सिल्भर प्रायोजकका रूपमा सहयोग गरेका थिए। हेयर तथा मेकअपको व्यवस्थापन आईएसएएस ब्यूटी स्कूलले गरेको थियो भने मुटु नेपालले अतिरिक्त सहयोग प्रदान गरेको थियो। एक्सओ क्लब सेलिब्रेसन पार्टनरका रूपमा सहभागी थियो भने कार्यक्रमका अनलाइन मिडिया साझेदारहरू ग्ल्यामर नेपाल र येसनेपाली रहेका थिए।

यो ग्राजुएसन फेसन शो पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्ट (बिएफडिएम) कार्यक्रमको महत्वपूर्ण शैक्षिक अङ्ग हो, जसले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान, सिर्जना र डिजाइन नवप्रयोगहरू प्रस्तुत गर्ने व्यावसायिक मञ्च प्रदान गर्दछ।

समग्रमा, एनसीएफटीको २०औँ ग्राजुएसन फेसन शो नयाँ पुस्ताका नेपाली डिजाइनरहरूको सिर्जनात्मक क्षमता, दृष्टि र सम्भावनाको सशक्त अभिव्यक्ति बन्न सफल भएको देखियो। प्राकृतिक सम्पदा, जैविक विविधता र समकालीन फेसनलाई एकै सूत्रमा गाँस्दै “विविधायन सौन्दर्यम्” केवल रनवे कार्यक्रममा सीमित नरही नेपाली फेसनको उदीयमान भविष्यको प्रतीकका रूपमा स्थापित भएको अनुभव गरियो।

READ IN ENGLISH: NCFT 20th Graduation Fashion Show, 62 Designers Turns Runway into a Story of Nature and Design

SUBSCRIBE 👉