
क्याफे डिजाइनदेखि अध्ययनका क्रममा तयार पारिएका इन्टेरियर अवधारणासम्म, आईआईएफटीका १०१ विद्यार्थीले आफ्ना सिर्जना काठमाडौँको सिटी सेन्टरमा प्रस्तुत गरेका छन्। कमलादीस्थित आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ शनिबारदेखि सुरु भएको हो।
कमलपोखरीस्थित सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म फैलिएको प्रदर्शनीमा विद्यार्थीले तयार पारेका डिजाइन, नमुना र विभिन्न सिर्जनात्मक अवधारणा राखिएका छन्। प्रदर्शनी आइतबार साँझ ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

एक्स्पोको उद्घाटन पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाललगायतले गरेका हुन्। कार्यक्रममा ढकालले क्याफेसहित विभिन्न इन्टेरियर डिजाइनका नमुनाको प्रशंसा गर्दै सहभागी विद्यार्थीलाई शुभकामना दिइन्।
यसपटक एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रदर्शनी तथा प्रतिस्पर्धा भइरहेको छ। विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार विद्यार्थीले कक्षामा सिकेका ज्ञान र सीपलाई व्यावहारिक डिजाइनमार्फत प्रस्तुत गर्ने अवसरका रूपमा एक्स्पो आयोजना गरिएको हो। यसले उनीहरूको सिर्जनशीलता र दक्षतालाई प्रोत्साहन गर्नुका साथै व्यावसायिक क्षेत्रसँग जोड्न सहयोग गर्ने उनले बताए।
प्रदर्शनीमा विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका काम समेटिएका छन्। शेर्पाले दक्ष फेसन तथा इन्टेरियर डिजाइनरको आवश्यकता पूरा गर्ने उद्देश्यले सञ्चालन गरिएको शिक्षाले विद्यार्थीलाई व्यावसायिक रूपमा अघि बढ्न सहयोग गरिरहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री प्रधानले युवापुस्तामा इन्टेरियर डिजाइनप्रति आकर्षण बढ्दै गएको धारणा राखे। उनले यस क्षेत्रमा आवश्यक ज्ञान र सीप प्रदान गर्न आईआईएफटीले भूमिका खेलिरहेको बताउँदै फेसन तथा इन्टेरियर डिजाइन शिक्षाको विस्तारमा शेर्पाको योगदान उल्लेख गरे।
एक्स्पो विद्यार्थीका शैक्षिक उपलब्धि हेर्ने अवसरसँगै व्यवसायी र डिजाइन क्षेत्रका पेशेवरले नयाँ प्रतिभासँग परिचित हुने मञ्च पनि रहेको शेर्पाको भनाइ छ।

विशेषगरी क्याफे, रेस्टुरेन्ट, होटल, कार्यालय तथा अन्य व्यावसायिक संरचना निर्माण वा पुनःडिजाइन गर्ने योजनामा रहेका व्यवसायीका लागि प्रदर्शनी उपयोगी हुने उनले बताए। उनले इन्टेरियर डिजाइनर, निर्माण क्षेत्रका पेशेवर, उद्यमी तथा सम्बन्धित क्षेत्रका व्यक्तिलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरे।
एक्स्पोकै अवसरमा असोज १८ गते दिउँसो ४ बजे दीक्षान्त समारोहसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
आईआईएफटीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र सिर्जनात्मक सीप विकास गर्ने अवसर दिन विभिन्न प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्दै आएको छ।

