अस्ट्रेलियाको वाल्चाबाट नेपालका बाढीपीडितका लागि २१ हजार ९५० अमेरिकी डलर सहयोग

अस्ट्रेलियाको वाल्चामा नेपाली तथा स्थानीय समुदायको सहभागितामा आयोजित राहत अभियानबाट नेपालका बाढीपीडितका लागि २१ हजार ९५० अमेरिकी डलर संकलन गरिएको छ।

नेपालका बाढीपीडितको सहयोगार्थ अस्ट्रेलियाको वाल्चामा सञ्चालन गरिएको राहत अभियानबाट २१ हजार ९ सय ५० अमेरिकी डलर संकलन भएको छ। वाल्चास्थित एप्स्ली आर्म्स होटलका निर्देशक गणेश सेढाईंको पहलमा आयोजित क्यान्डल लाइट, र्‍याफल तथा अक्सन कार्यक्रममार्फत उक्त रकम जुटाइएको हो।

संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको आयोजक पक्षले जनाएको छ।

नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाली समुदायले राहत अभियान सुरु गरेको फिल्म निर्देशक शोभित बस्नेतले जानकारी दिए।

कार्यक्रममा २५० भन्दा बढी नेपाली तथा स्थानीय अस्ट्रेलियालीहरूको सहभागिता थियो। वाल्चा काउन्सिलका मेयर एरिक नोभाकसले नेपालमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै स्थानीय बासिन्दालाई राहत अभियानमा सहयोग गर्न आह्वान गरेका थिए।

अभियानलाई प्रभावकारी बनाउन निर्देशक बस्नेत र सिड्नी निवासी व्यवसायी सन्तोष तिवारीले विशेष समन्वय तथा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा खुकुरी र थैलीजस्ता नेपाली मौलिक सांस्कृतिक सामग्री प्रदर्शन तथा बिक्री गरिएको थियो। साथै, राहत रकम जुटाउन र्‍याफल र अक्सनसमेत सञ्चालन गरिएको थियो।

अभियानमा वाल्चा कम्युनिटी, वाल्चा मेन्स सेड, अक्स्ली राइडर्स, रोटरी क्लब र लायन्स क्लबका साथै टामवर्थ र आर्मिडेलका नेपाली समुदायले पनि ऐक्यबद्धता जनाएका थिए।

आयोजक गणेश सेढाईंले संकलित रकम आर्थिक सहयोगमा मात्र सीमित नभई नेपाल र अस्ट्रेलियाका समुदायबीचको मानवीय ऐक्यबद्धताको प्रतीक भएको बताए। उनले अभियान सफल बनाउन सहयोग गर्ने स्थानीय व्यवसायी, संघसंस्था तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेका छन्।

SUBSCRIBE 👉