प्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६, बिनिता ओलीले जितिन् मिस अर्थ नेपाल

२४ वर्षीया प्रयासना गुरुङले मिस युनिभर्स नेपाल २०२६ को ताज जितेकी छन् भने झापाकी बिनिता ओली मिस अर्थ नेपाल बनेकी छन्। अब दुवैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

नेपालका दुई नयाँ ब्युटी क्विनले ताज पहिरिएका छन्। २४ वर्षीया प्रयासना गुरुङ ‘मिस युनिभर्स नेपाल २०२६’ बनेकी छन् भने झापाकी २७ वर्षीया बिनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’को ताज जितेकी छन्। अब दुवैको यात्रा अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्नेछ।

काठमाडौंको द सोल्टीमा आयोजित मिस युनिभर्स नेपाल २०२६ को ग्रान्ड फिनालेमा १४ फाइनलिस्टबीच भएको प्रतिस्पर्धाबाट प्रयासनाले मुख्य उपाधि आफ्नो नाममा पारिन्।

देशभर तथा विदेशबाट समेत सहभागी ११० प्रतियोगीमध्ये विभिन्न चरण पार गर्दै अन्तिम १४ जना ग्रान्ड फिनालेसम्म पुगेका थिए।

ग्ल्यामर, आत्मविश्वास, व्यक्तित्व र सामाजिक उद्देश्यलाई केन्द्रमा राखिएको फिनालेको अन्त्यमा प्रयासनाको नाम विजेताका रूपमा घोषणा भयो।

प्रयासनाको ताजसँग जोडिएको महिला सशक्तिकरण

बेलायतमा बस्दै आएकी प्रयासनाको पेजेन्ट यात्रा केवल ताज जित्ने उद्देश्यमा सीमित छैन। महिला सशक्तिकरण उनको मुख्य अभियान हो।

उनले ‘द डिग्निटी प्रोजेक्ट’ मार्फत नेपाली महिलालाई मेकअप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलताजस्ता जीवनउपयोगी सीप सिकाउने निःशुल्क अनलाइन कार्यशाला सञ्चालन गर्दै आएकी छन्।

मिस युनिभर्स नेपालमा सहभागी हुनुको उद्देश्यसमेत महिला सशक्तिकरणको आफ्नो अभियानलाई अझ ठूलो मञ्चमा पुर्‍याउनु रहेको उनले बताएकी छन्।

अब यही अभियान र नेपालको प्रतिनिधित्व लिएर उनी अन्तर्राष्ट्रिय मिस युनिभर्सको मञ्चमा पुग्नेछिन्।

यस वर्षको मिस युनिभर्स अझ विशेष छ। प्रतियोगिताले आफ्नो ७५औँ संस्करण मनाउँदैछ। यसको ग्रान्ड फिनाले २४ नोभेम्बर २०२६ मा पोर्तो रिकोको सान जुआनस्थित Coliseo de Puerto Rico José Miguel Agrelot मा आयोजना हुँदैछ।

बिनिता ओली बनिन् मिस अर्थ नेपाल

सोही साँझ अर्को प्रमुख ताज झापाकी बिनिता ओलीको नाममा रह्यो। २७ वर्षीया बिनिताले ‘मिस अर्थ नेपाल २०२६’को उपाधि जितिन्।

उनको यात्रा पनि रोचक छ। केही वर्ष कुवेत एयरवेजमा अन्तर्राष्ट्रिय क्याबिन क्रुका रूपमा काम गरेपछि उनी नेपाल फर्किएकी हुन्। अहिले मनोविज्ञानको दोस्रो वर्ष अध्ययन गरिरहेकी बिनिता भविष्यमा थेरापिस्ट र सामाजिक अभियन्ताका रूपमा काम गर्ने चाहना राख्छिन्।

अब उनी फिलिपिन्समा आयोजना हुने मिस अर्थ २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। वातावरण संरक्षण र दिगोपनासम्बन्धी अभियानलाई प्राथमिकता दिने मिस अर्थको अन्तर्राष्ट्रिय मञ्चमा बिनिताले नेपालको नाम लिएर प्रतिस्पर्धा गर्नेछिन्।

निर्णायकमा सेलीना जेटली

फिनालेमा बलिउड अभिनेत्री तथा पूर्व ब्युटी क्विन सेलीना जेटली र मोडल मनिका विश्वकर्मा मुख्य निर्णायकमध्ये थिए।

सेलीनाको मिस युनिभर्ससँग पुरानो सम्बन्ध छ। उनले सन् २००१ मा Femina Miss India Universe को ताज जितेकी थिइन् र सोही वर्ष भारतको प्रतिनिधित्व गर्दै मिस युनिभर्समा चौथो रनरअप बनेकी थिइन्।

संगीता पुरी बनिन् युनिभर्सल ओमन नेपाल

कार्यक्रममा संगीता पुरीलाई ‘युनिभर्सल ओमन नेपाल’ घोषणा गरिएको थियो। पुरी मिस युनिभर्स नेपाल आयोजना गर्दै आएको ग्लोबल ग्ल्यामर भेन्चरकी निर्देशकसमेत हुन्।

यस वर्षको मिस युनिभर्स नेपाललाई ‘Be You. Be Beautiful.’ थिममा अगाडि बढाइएको थियो। आयोजकले प्रतियोगितामा सुन्दरतासँगै मौलिक व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक अभियानलाई प्राथमिकतामा राखेको थियो।

काठमाडौंमा ताज जितेसँगै प्रयासना र बिनिताका लागि अब अर्को ठूलो अध्याय सुरु भएको छ। एउटा यात्रा पोर्तो रिकोको मिस युनिभर्स मञ्चतर्फ हुनेछ, अर्को फिलिपिन्सको मिस अर्थतर्फ।

दुवैले अब नेपालको नाम, आफ्नो व्यक्तित्व र आफूले उठाएका मुद्दालाई विश्वमञ्चमा प्रस्तुत गर्नेछन्।

SUBSCRIBE 👉