पल र सनिशाको नयाँ सांगीतिक सहकार्य, लोक शैलीमा ‘सुनबुकी फूल’

मिलन नेवार र मार्मिक लामाको स्वर रहेको ‘सुनबुकी फूल’मा पल शाह र सनिशा भट्टराईको जोडी देखिएको छ। भिडियोमा नेपाली मौलिक पहिरन, संस्कृति र आकर्षक नृत्यलाई प्राथमिकता दिइएको छ।

Paul Shah and Sanisha Bhattarai posing together beside a red vintage Mercedes-Benz in the Sunbuki Ful music video.

Paul Shah and Sanisha Bhattarai share a stylish on-screen moment in ‘Sunbuki Ful’, a Nepali music video featuring the voices of Milan Newar and Marmik Lama.

लोकप्रिय अभिनेता पल शाह र अभिनेत्री सनिशा भट्टराईको जोडी नयाँ म्युजिक भिडियो ‘सुनबुकी फूल’मार्फत दर्शकमाझ आएको छ। गीतमा गायिका मिलन नेवार र गायक मार्मिक लामाको स्वर रहेको छ। राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन्। लोक शैलीको सांगीतिक स्वाद बोकेको गीतमा प्रेम र रोमान्सको भाव प्रस्तुत गरिएको छ।

म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल र सनिशा मुख्य भूमिकामा छन्। उनीहरूसँगै कलाकार पुकार भट्टराईको पनि अभिनय रहेको छ।

भिडियोको मुख्य आकर्षण पहिरन र सामूहिक नृत्य हो। परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग पल र सनिशालाई आकर्षक नृत्य गर्दै प्रस्तुत गरिएको छ। सांगीतिक लय र मनोरञ्जनात्मक दृश्यको संयोजनले भिडियोलाई विशेष बनाएको छ।

पल र सनिशाको अनस्क्रिन जोडी हेर्न रुचाउने दर्शकका लागि ‘सुनबुकी फूल’ उनीहरूको अर्को सांगीतिक सहकार्य हो। गीत विशेषगरी नेपाली लोक शैली र नृत्यप्रधान म्युजिक भिडियो मन पराउने दर्शकका लागि रुचिकर देखिन्छ।

गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार र सञ्जीव बराइलीले गरेका हुन्। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी पनि तण्डुकारले नै सम्हालेका छन्।

भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर संयोजन बिजेश पौडेलको रहेको छ। सहायक कोरियोग्राफी राजाराम सिम्खडाले गरेका छन्। मेकअपमा दिपु पौडेल, पहिरनमा सुजनी मल्ल ठाकुरी र आर्टमा जट्टा शंकरले काम गरेका छन्।

भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो। गरिमा फिल्म्सले गीतको अडियो तथा भिडियो निर्माण गरेको हो। निर्माण पक्षले गीत तथा भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य डिजिटल प्लेटफर्ममा पुनः अपलोड नगर्नसमेत आग्रह गरेको छ।

SUBSCRIBE 👉