
Actor Pradeep Khadka and Actress Sanisha Bhattarai
प्रदीप खड्का र सनिशा भट्टराईको मुख्य भूमिका रहेको फिल्म ‘शुभ विवाह’को छायांकन ४० दिनमा पूरा भएको छ। सुदर्शन थापा निर्देशित फिल्मका लागि ४५ दिनको तालिका तय गरिएको भए पनि निर्माण टोलीले पाँच दिनअघि नै छायांकन सकेको हो।
पोखरामा क्यामेरा पूजा गरेर सुरु गरिएको फिल्मको छायांकन निर्धारित समयभन्दा अगाडि सकिनुमा कलाकार र प्राविधिक टोलीको मेहनत रहेको निर्देशक थापाले बताएका छन्।
‘शुभ विवाह’ले प्रदीप र सुदर्शनलाई ‘प्रेम गीत’पछि फेरि एउटै फिल्ममा जोडेको छ। यसपटक प्रदीपको जोडीका रूपमा सनिशा देखिँदैछिन्। उनीहरूको नयाँ जोडीलाई दर्शकले आगामी फागुन २१ गतेदेखि पर्दामा हेर्न पाउनेछन्।
प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्मित फिल्मकी निर्माता सुप्रिया कटुवाल हुन्। साम भुजेल कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।

फिल्ममा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत र मेक्सम गौडेलको अभिनय छ। सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य पनि कलाकार टोलीमा छन्।
फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ भने पार्श्वसंगीत रेभन आरती सिंहले तयार पार्नेछन्। विक्रम स्वारले नृत्य निर्देशन गरेका छन्।
राजेश श्रेष्ठले खिचेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गर्नेछन्। कलर ग्रेडिङको जिम्मेवारी राजेन्द्र मोक्तान र ट्रेलर सम्पादनको जिम्मेवारी साहिल खानले सम्हाल्नेछन्।
वसन्त अधिकारी प्रमुख सहायक निर्देशक रहेको फिल्ममा साजन कट्टेल र प्रार्थना पाठक सहनिर्देशक छन्। ध्वनिमा मनोज लामा, कला निर्देशनमा रोशन दिवाना र प्रोडक्सन म्यानेजरमा सुदीप ढकाल छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर आनन्द महर्जनले तयार पार्नेछन्।
निर्माण पक्षले ‘शुभ विवाह’लाई आगामी फागुन २१ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो भने वितरणको जिम्मेवारी भिष्म फिल्म्स र श्री राम बालाजीले लिएका छन्।

