
Sneha Raut Crowned Miss United Nations Nepal 2026
स्नेहा राउत ‘मिस युनाइटेड नेसन्स नेपाल २०२६’ बनेकी छन्। अब उनले भारतको दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेस युनाइटेड नेसन्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
काठमाडौंमा आयोजित क्राउनिङ समारोहमा २४ वर्षीया राउतलाई ‘मिस युनाइटेड नेसन्स नेपाल २०२६’ को ताज पहिर्याइएको हो।
ललितपुरकी राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्। उनी आगामी अक्टोबर ५, २०२६ देखि दिल्लीमा सुरु हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछिन्।
अन्तर्राष्ट्रिय मञ्चमार्फत उनले नेपालको सांस्कृतिक पहिचान, प्रतिभा र समकालीन आकांक्षालाई प्रस्तुत गर्ने अवसर पाउनेछिन्।

ग्रीन आर्ट्स मिडिया प्रा.लि.को आयोजनामा भएको समारोहमा फेसन, पेजेन्ट, फोटोग्राफी तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य र फोटोग्राफर महेश प्रधानलगायतले नवमुकुटधारी राउतलाई बधाई तथा शुभकामना दिएका थिए।
अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि राउतले फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठको मार्गदर्शनमा प्रशिक्षण लिनेछिन्।
उनको तयारीमा व्यक्तित्व विकास, प्रतियोगीको प्रस्तुति, स्टेज प्रेजेन्टेसन तथा समग्र पेजेन्ट तयारीका विभिन्न पक्ष समेटिनेछन्।
आयोजकका अनुसार ‘मिस युनाइटेड नेसन्स नेपाल’ प्लेटफर्मले सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्दै युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरतर्फ अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।
नेपालको ताज जितेसँगै राउतले अब दिल्लीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई केन्द्रमा राख्नेछिन्। त्यहाँ उनले नेपालको संस्कृति, पहिचान र प्रतिभालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्ने अवसर पाउनेछिन्।

