
Model / Actress Rusha Neupane
मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्राण्ड नव लक्सको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन्। ब्राण्ड प्रवर्द्धनका लागि नव लक्स र रुषाबीच औपचारिक सम्झौता समेत भइसकेको छ।
जनवरी २०२६ देखि नेपालमै उत्पादन हुँदै आएको नव लक्सले हाल विभिन्न छ प्रकारका कस्मेटिक उत्पादन बजारमा ल्याएको छ। ब्राण्डका उत्पादनमा फेसवास, मोइस्चराइजर, टोनर, एसपीएफ ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम रहेका छन्।
अभिनय र मोडलिङमा सक्रिय रुषा अहिले छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’मा अभिनय गरिरहेकी छन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित यो चलचित्र मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको छ।
उनले यसअघि ‘जन्ते बाख्रो’लगायत फिचर फिल्ममा काम गरिसकेकी छन्। दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी रुषा पछिल्लो समय फिल्ममा पनि सक्रिय हुँदै गएकी छन्।
नव लक्ससँगको सहकार्यलाई लिएर रुषाले खुसी व्यक्त गरेकी छन्। “म यो ब्रान्डसँग जोडिन पाउँदा आफैँमा खुसी छु। आफैँले प्रयोग गर्दै आएको कस्मेटिकको ब्रान्डसँग जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो,” रुषाले भनिन्, “म यो ब्रान्डलाई माथि उठाउन र जनस्तरसम्म पुर्याउन मैले सकेको गर्नेछु।”
नव लक्सको ब्राण्ड एम्बेसडर बनेसँगै रुषा अब अभिनय र मोडलिङसँगै ब्राण्ड प्रवर्द्धनका गतिविधिमा पनि देखिने भएकी छन्।

