
Shobhit Basnet met Neer Shah to confirm his role as the grandfather in Hajurbale Bhanethe, a Nepali family comedy directed by Suresh Neupane.
लक्ष्मीपूजाको अवसरमा सान्भी इन्टरटेनमेन्टले नीर शाहलाई हजुरबाको भूमिकामा लिएर नयाँ फिल्म ‘हजुरबाले भनेथे’ घोषणा गरेको छ। सुरेश न्यौपानेले निर्देशन गर्ने यो पारिवारिक कमेडीमा शाहको नाति कसले खेल्ने भन्ने टुङ्गो लाग्न बाँकी छ।
‘परान’पछि शाह फेरि शीर्ष भूमिकामा देखिन लागेका हुन्। शोभित बस्नेतले शाहसँग भेटेर ‘हजुरबाले भनेथे’मा उनको भूमिका पक्का गरेका हुन्। फिल्ममा दुई नायक र दुई नायिका रहनेछन्। बाँकी कलाकार र प्राविधिक टोलीको नाम छिट्टै सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ।
निर्माण टोलीले माघमा छायांकन सुरु गर्ने योजना बनाएको छ। फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलियामा र ४० प्रतिशत जुम्लामा गर्ने तयारी छ। पारिवारिक कथामार्फत दर्शकलाई धेरै हँसाउने र कतै थोरै रुवाउने पनि आफूहरूको चाहना रहेको निर्माण टोलीले जनाएको छ।
ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नीका तर्फबाट कृष्ण थापा, बन्धु राज वाग्ले, रोमिन पिया र समीर शाही फिल्मका प्रस्तुतकर्ता हुन्। फिल्मका निर्माता निरोज श्रेष्ठ, कार्यकारी निर्माता नवीन घायल र सहनिर्माता हिमाल भण्डारी हुन्।







