
‘कमेडी च्याम्पियन’मा जग्गा दलालको भूमिका निभाएर ‘दले दाइ’का रूपमा चिनिएका सुमन कोइराला अब ठूलो पर्दामा देखिँदै छन्। उनले अभिनयसँगै पटकथा र संवाद पनि लेखेको हास्यव्यङ्ग्य फिल्म ‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टोलीले आइतबार फिल्मको पहिलो पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो।
पोस्टरमा सुमनसँगै आभास अधिकारी, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल फलामे बारपछाडि देखिन्छन्। पाँचै जना एकै ठाउँमा थुनिएका छन्, तर हरेकको अनुहारको भाव फरक छ। ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन्।
समीरले निर्देशन गरेको ‘तिरिमिरी झ्याइँ’को कथा र अवधारणा आभास अधिकारीको हो। निर्माण टोलीका अनुसार फिल्मले नेपाली समाजमा देखिने रमाइला प्रसंगलाई व्यङ्ग्यको शैलीमा प्रस्तुत गर्छ। आभासको कथालाई गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले मिलेर पटकथाको रूप दिएका हुन्। संवाद पनि तीनै जनाले लेखेका छन्।
फिल्ममा धिरेन शाक्य, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीको पनि अभिनय छ। विशाल कक्षपतिले छायाङ्कन गरेको फिल्ममा अभिषेक कार्कीको सङ्गीत र सियोन श्रेष्ठको कोरियोग्राफी छ।
होराइजन मोसन पिक्चर्सको ब्यानरमा बनेको फिल्मका निर्माता प्रद्युम्न बोगटी (प्रविन) हुन् भने आभास अधिकारी कार्यकारी निर्माता हुन्। भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सहनिर्माता छन्।







