
नेपाली फिल्म क्षेत्रका दुई निर्माता सन्तोष सेन र रोहित अधिकारीबीचको पुरानो विवाद फेरि सामाजिक सञ्जालमा देखिएको छ। रोहितको निर्माणमा बनेको ‘छ माया छपक्कै २’ प्रदर्शनको तयारीमा रहँदा सन्तोषले उनलाई लक्षित गर्दै ‘कुटिल मानसिकता भएको व्यक्ति’ भनेपछि रोहितले पनि कडा शब्दमा जवाफ दिएका छन्।
सन्तोषले ‘छ माया छपक्कै २’को गीतसँग सम्बन्धित पोस्टर फेसबुकमा शेयर गर्दै फिल्मको सिर्जनात्मक पक्षको भने प्रशंसा गरेका थिए। उनले निर्माता रोहितको नाम उल्लेख नगरी फिल्ममा लगानीकर्ताका रूपमा जोडिएको व्यक्तिमाथि टिप्पणी गरेका थिए।
सन्तोषले लेखेका थिए, “यसमा लगानी गर्ने व्यक्तिको रूपमा जोडिने व्यक्ति कुटिल मानसिकता भएको मान्छे हो। तर कसैको सिर्जना एक जना व्यक्तिको कारणले मर्नु हुँदैन। सबैले त्यही मानसिकताबाट सोच्ने हो भने असली कला नै मर्दै जान्छ।”
त्यसपछि उनले दीपकराज गिरी, दीपाश्री निरौला र निर्देशक दीपेन्द्र लामाको फिल्म यात्राको प्रशंसा गर्दै ‘छ माया छपक्कै २’लाई शुभकामना दिएका थिए।
उनले लेखेका थिए, “दीपक दाइ, दीपा दिदी र दीपेन्द्र सर विभिन्न तह र चुनौतीहरूलाई छिचोल्दै कलाको यो बिन्दुसम्म आइपुग्नुभएको छ। त्यसैले उहाँहरूको यो यात्रालाई सबैले साथ, हौसला दिनैपर्छ।”
सन्तोषले फिल्मको कन्टेन्टप्रति पनि चासो व्यक्त गर्दै अघिल्लो भागको तुलनामा यसपटक अझ बलियो लागेको बताएका थिए। उनले दशैंमा विभिन्न विषयका फिल्म आउने उल्लेख गर्दै दर्शकले कुन फिल्म दोस्रोपटक हेर्न चाहन्छन् भन्ने कुराले त्यसको व्यावसायिक यात्रामा ठूलो भूमिका खेल्ने धारणा राखेका थिए।
पोस्टको अन्त्यमा उनले दीपकराजसहित ‘छ माया छपक्कै २’को सम्पूर्ण टिमलाई सफलताको शुभकामना दिएका थिए।

रोहितको कडा प्रतिक्रिया
सन्तोषको पोस्टपछि निर्माता रोहित अधिकारीले कमेन्टमार्फत कडा प्रतिक्रिया जनाएका छन्। उनले सन्तोषलाई ‘झारे’ भन्दै आर्थिक लेनदेनसँग सम्बन्धित गम्भीर आरोपसमेत लगाएका छन्।
रोहितले कमेन्टमा लेखेका छन्, “तँ झारे होस्, कुटिल दुनियाँको पैसा खाएर लुकेको छस्। ठूलो कुरा नगर। पैसा तिर। मलाईसमेत मेसेज आएको छ, प्रमाणसहित। तैंले पैसा खाएको कोरियादेखि मिडिल इस्टसम्मको।”
रोहितले लगाएका आर्थिक आरोपबारे स्वतन्त्र पुष्टि भएको छैन। उनले सामाजिक सञ्जालमा गरेको दाबीका रूपमा मात्रै ती आरोप सार्वजनिक भएका हुन्।

सन्तोषले पोस्ट सम्पादन गरे
विवाद बढेपछि सन्तोषले आफ्नो फेसबुक पोस्ट सम्पादन गरिसकेका छन्। सुरुमा रोहिततर्फ लक्षित देखिने ‘कुटिल मानसिकता’ सम्बन्धी अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्चा पाएपछि पोस्टमा परिवर्तन गरिएको हो।
सन्तोष र रोहितबीच सार्वजनिक रूपमा चर्को आरोप–प्रत्यारोप भएको यो पहिलोपटक भने होइन। गत वर्ष सन्तोषको ‘बलिदान’ र रोहितको ‘माइतीघर’ प्रदर्शनका क्रममा पनि उनीहरूबीच सामाजिक सञ्जालमा विवाद चर्किएको थियो।

यसपटक फेरि रोहितकै निर्माणमा बनेको ‘छ माया छपक्कै २’ रिलिजको तयारीमा रहँदा पुरानो तिक्तता सतहमा आएको छ।
‘छ माया छपक्कै २’का निर्माता रोहित अधिकारी हुन्। दीपक–दीपा समूहसँग रोहितको यो दोस्रो ‘छ माया छपक्कै’ सहकार्य हो। सन् २०१९ मा प्रदर्शन भएको पहिलो ‘छ माया छपक्कै’ पनि उनकै निर्माणमा बनेको थियो। फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् भने दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।

