
अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’ को डबिङ धमाधम भइरहेको छ। काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार समिरले आफ्नो भूमिकाको स्वराङ्कन गरेका हुन्।
निर्देशक बिराज भट्टले समिरसँगै अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहेका छन्। निर्माण पक्षका अनुसार चलचित्रको पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार तीव्र गतिमा अगाडि बढिरहेको छ।
दशैंलाई लक्षित गर्दै फूलपातीको अघिल्लो दिन असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘१२ गाउँ २’, २०८१ सालको सफल चलचित्र ‘१२ गाउँ’ को सिक्वेल हो।
बिराज भट्ट निर्देशित पहिलो ‘१२ गाउँ’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका समिर भट्टले छोटो समयमै दर्शकमाझ उल्लेख्य चर्चा र क्रेज कमाएका थिए। पहिलो फिल्मको सफलता र समिरप्रतिको बढ्दो दर्शक आकर्षणका कारण यसको दोस्रो श्रृंखला अहिले प्रतीक्षित नेपाली चलचित्रमध्ये एक बनेको छ।
निर्माण पक्षले ‘१२ गाउँ २’ लाई पहिलो भागभन्दा अझ ठूलो क्यानभास, नयाँ कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरेको जनाएको छ।
चलचित्रमा एक्सन र मनोरञ्जनसँगै भावना तथा पारिवारिक कथालाई पनि विशेष प्राथमिकता दिइएको निर्माण पक्षको भनाइ छ।
डबिङ सम्पन्न भएपछि चलचित्रका गीत, ट्रेलर तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ।
चलचित्रमा निर्देशक बिराज भट्टसँगै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय छ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको चलचित्रमा महेश पौडेलको छायांकन छ। स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने कालाचरण र गीता गुरप्पाले ब्याकग्राउन्ड म्युजिक दिएका छन्। नृत्य निर्देशन सियोन श्रेष्ठको रहेको छ।

