के म माइतीको टेको बन्न पाउँदिन र बा? अक्षरा’ टिजरमा न्यान्सीको संवादले भावुक बनाउँछ

विनयराज पौडेल निर्देशित ‘अक्षरा’को टिजरले विवाहपछि महिलाले भोग्ने घरेलु हिंसा, पारिवारिक दबाब र छोरीको अस्तित्वमाथि समाजमा कायम परम्परागत सोचलाई प्रश्न गरेको छ।

विवाहपछि महिलाले भोग्ने घरेलु हिंसा, पारिवारिक दबाब र छोरीप्रति समाजमा कायम परम्परागत सोचलाई केन्द्रमा राखिएको नेपाली फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। विनयराज पौडेल निर्देशित फिल्मको २ मिनेट २ सेकेन्ड लामो टिजर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

टिजरले धनाढ्य परिवारमा विवाह गरेर गएकी एक युवतीको जीवनमा विवाहपछि सुरु हुने अप्रत्याशित पीडा र संघर्षलाई पछ्याउँछ। बाहिरी सम्पन्नता र पारिवारिक प्रतिष्ठालाई आधार मानेर गरिएको विवाहभित्र लुकेको हिंसात्मक यथार्थ क्रमशः खुल्दै जान्छ।

फिल्ममा न्यान्सी खड्काले पीडित युवतीको भूमिका निर्वाह गरेकी छन्। सुशील पोखरेल उनका बुबाका रूपमा देखिएका छन् भने सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा छन्।

टिजरमा सिटौलाको पात्रलाई मदिराको लतमा फसेको, श्रीमतीमाथि हिंसा गर्ने र आफ्नो परिवारको आर्थिक तथा सामाजिक हैसियतको धाक देखाउने व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ।

टिजरको सबैभन्दा भावुक पक्ष माइती फर्किएकी छोरी र बुबाबीचको संवाद बनेको छ। हिंसा सहेर घर फर्किएकी छोरीले विवाहपछि महिलाले मात्रै आफ्नो घर, थर र पहिचान परिवर्तन गर्नुपर्ने सामाजिक मान्यतामाथि प्रश्न उठाउँछिन्।

उनी भन्छिन्, “कतिन्जेल नारीले मात्रै आफ्नो घर–थर सार्नुपर्ने? अरूलाई खुसी पार्ने बहानामा सधैँ आफू हार्नुपर्ने? छोरी भनेको अरूको घर जाने मात्र होइन बा, माइतीको टेको पनि हो। के म टेको बन्न पाउँदिन र बा?”

यही संवादले ‘अक्षरा’लाई सामान्य पारिवारिक द्वन्द्वमा मात्र सीमित नराखी छोरीको अस्तित्व, आत्मसम्मान र माइतीसँगको सम्बन्धबारे प्रश्न उठाउने सामाजिक कथाका रूपमा प्रस्तुत गर्ने संकेत गर्छ।

‘अक्षरा’ आगामी भदौ २६ अर्थात् ११ सेप्टेम्बर २०२६ देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। सोही मितिमा अन्य नेपाली फिल्म पनि प्रदर्शनको तयारीमा रहेकाले बक्स अफिसमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

हेर्नुहोस् अक्षरा’को टिजर

यसअघि सार्वजनिक फिल्मका पोस्टरले पनि न्यान्सीको पात्रको एक्लोपन, मानसिक द्वन्द्व र सुशील सिटौलासँगको सम्बन्धमा आएको दूरीतर्फ संकेत गरेका थिए।

न्यान्सी यसअघि ‘१२ गाउँ’मा अभिनय गरिसकेकी कलाकार हुन्। पूर्वमिस नेपाल इन्टरनेसनल २०२२ समेत रहेकी उनी ‘अक्षरा’मा केन्द्रीय महिला पात्रका रूपमा प्रस्तुत भएकी छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता छन् भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।

फिल्मको मूल कथा उग्रसेनले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन्।

फिल्ममा न्यान्सी, सुशील सिटौला र सुशील पोखरेलसँगै अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत छ। अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीले स्वर दिएका छन्।

दीपेन बस्न्यातको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतम खड्काको सम्पादन छ। टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्।

फिल्मलाई नेसनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्दैछन्। निर्माण पक्षका अनुसार फिल्मको दक्षिण कोरिया प्रदर्शन अधिकार ‘KTM 2 Seoul’ ले यसअघि नै खरिद गरिसकेको छ। बिक्री रकम भने सार्वजनिक गरिएको छैन।