राजेश हमाल अब कमेडी रियालिटी शोका प्रेसिडेन्ट, पाँच शहरमा हुँदैछ अडिसन

ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘सुपर कमेडी लिग’मा राजेश हमाल प्रेसिडेन्ट रहनेछन् भने विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा देखिनेछन्।

Super Comedy League Nepal: राजेश हमालको नेतृत्वमा नयाँ कमेडी रियालिटी शो

नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने शोमा महानायक राजेश हमाल लिग प्रेसिडेन्टको भूमिकामा देखिने भएका छन्।

पत्रकार सम्मेलनमार्फत शोको घोषणा गरिएको हो। हास्यव्यङ्ग्यमा आधारित यस रियालिटी शोमा विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन्।

‘सुपर कमेडी लिग’का लागि देशका पाँच शहरमा अडिसन आयोजना गरिनेछ। २०८३ साउन २९ गते दमकस्थित कदम थिएटरबाट सुरु हुने अडिसन साउन ३१ गते नारायणगढस्थित राइनो वाटर होटेल, भदौ २ गते नेपालगन्जस्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरास्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा सञ्चालन हुनेछ।

अडिसनबाट ३२ जना प्रतिस्पर्धी छनोट गरिनेछन्। उनीहरूलाई आठ–आठ जनाको चार समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन्।

प्रत्यक्ष अडिसनमा सहभागी हुन नसक्ने तथा नेपालबाहिर रहेका नेपाली भाषी प्रतिभाका लागि डिजिटल अडिसनको व्यवस्था पनि गरिएको छ। इच्छुकले आफ्नो भिडियो सामग्री Supercomedyleague@gmail.com वा 9802372180 मार्फत पठाउन सक्नेछन्।

समूहमा आधारित प्रतिस्पर्धात्मक ढाँचामा तयार हुने शोमा एउटै स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकता अनुसार त्यसभन्दा बढी प्रतिस्पर्धीले संयुक्त प्रस्तुति दिनेछन्। पूर्वनिर्धारित विषय र थिममा आधारित प्रस्तुति स्केच, स्किट र ड्रामेडी (ड्रामा र कमेडीको मिश्रण) लगायत शैलीमा तयार गरिनेछ।

निर्माण पक्षका अनुसार शोको उद्देश्य परम्परागत अर्थमा कमेडियन मात्र खोज्नु होइन, कमेडी एक्टमा प्रभावशाली अभिनय गर्न सक्ने उत्कृष्ट कलाकारको खोजी गर्नु पनि हो।

निर्देशक एलिन श्रेष्ठले प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने उद्देश्यसहित कार्यक्रम निर्माण गर्न लागिएको बताएका छन्।

नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा दुई दशकभन्दा लामो अनुभव भएका श्रेष्ठले ‘नेपाल आइडल’, ‘सारेगम लिल च्याम्प्स’, ‘बुगि बुगि’, ‘मेरो भोइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शो निर्देशन गरिसकेका छन्।

उनले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्।

कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ भने यसको डिजिटल प्रसारण ओएसआरमार्फत गरिनेछ। पर्दापछाडिका सामग्री सारङ्गी मिडियामार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

शोको नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु गर्ने तयारी छ। विशुद्ध पारिवारिक मनोरञ्जनमा केन्द्रित ‘सुपर कमेडी लिग’ले नेपाली दर्शकलाई कमेडी प्रस्तुतिको नयाँ शैलीसँग परिचित गराउने अपेक्षा निर्माण पक्षको छ।