हङकङकी दीपमाला ढकाल, आमाको अधुरो सपना बोकेर मिस नेपाल २०२६ को दौडमा

मिस नेपाल २०२६ की प्रतिस्पर्धी दीपमाला ढकालको यात्रा भावनात्मक बनेको छ। सन् १९९४ मा उनकी आमाले मिस नेपालमा पाएको १७ नम्बर नै यसपटक दीपमालालाई परेको छ। उनी मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता हुन्।


‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ अन्तिम प्रतिस्पर्धी घोषणा भइसकेका छन्। तीमध्ये एक हुन्, हङकङकी दीपमाला ढकाल, जसको मिस नेपाल यात्रा केवल सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धा मात्र होइन, आमाको अधुरो सपनासँग जोडिएको भावनात्मक कथा पनि हो।

दीपमाला ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२५’ की विजेता हुन्। यही उपाधिका आधारमा उनले मिस नेपाल २०२६ मा सिधै प्रवेश पाएकी हुन्। यससँगै उनी यस वर्षको मिस नेपालमा छनोट हुने पहिलो प्रतिस्पर्धीसमेत बनिन्।

उत्कृष्ट २४ घोषणा भएपछि प्रतियोगीहरूलाई प्रतिस्पर्धी नम्बर पनि वितरण गरिएको थियो। दीपमालाको भागमा पर्‍यो—१७ नम्बर। यो नम्बर उनका लागि साधारण अंक मात्र रहेन, भावनासँग जोडिएको संयोग बन्यो।

सन् १९९४ मा नेपालमा पहिलो पटक मिस नेपाल आयोजना हुँदा दीपमालाकी आमाले पनि त्यही प्रतियोगितामा भाग लिएकी थिइन्। त्यसबेला उनकी आमाको प्रतिस्पर्धी नम्बर पनि १७ नै थियो। उक्त पहिलो मिस नेपालको ताज भने रुबी राणाले जितेकी थिइन्।

३३ वर्षपछि उही संस्था, उही मञ्च र उही नम्बर लिएर छोरी प्रतिस्पर्धामा उभिनु दीपमालाका लागि विशेष क्षण बनेको छ। आमाको अधुरो सपनालाई पछ्याउँदै उनी अहिले मिस नेपाल बन्ने लक्ष्यका साथ अगाडि बढिरहेकी छिन्।

नम्बर १७ पाएपछि दीपमालाले सामाजिक सञ्जालमा भावुक हुँदै लेखेकी छन्, ‘मैले नम्बर १७ रोजेकी होइन, बरु नम्बर १७ ले मलाई रोज्यो। यो नम्बर हाम्रा उत्कृष्ट मिस नेपालहरू प्रियंका रानी जोशी र सृच्छा प्रधानको मात्र होइन, सन् १९९४ मा भएको पहिलो मिस नेपाल प्रतियोगितामा मेरी आमा (मेरो जीवनकी सबैभन्दा प्रेरणादायी महिला) को पनि प्रतिस्पर्धी नम्बर थियो। मैले रोज्न सक्ने अनेकौँ नम्बरमध्ये यो नम्बर पाउनु कुनै संयोग मात्र होइन, नियतिको खेल जस्तो लाग्छ।’

अहिले मिस नेपाल २०२६ का सबटाइटल राउन्डहरू भइरहेका छन्। ती राउन्डहरूमा दीपमालाले प्रभावशाली प्रस्तुति दिइरहेकी छन्। केही दिनअघि प्रतियोगिताको महत्वपूर्ण राउन्ड मानिने स्विमिङ सुट सेसन सम्पन्न भएको थियो। उक्त सेसनमा दीपमाला रेड ड्रेसमा र्‍याम्पमा देखिएकी थिइन्, जहाँ उनी फिट, बोल्ड र आत्मविश्वासी देखिइन्।

‘फाइनान्स एन्ड इकोनोमिक्स’ विषयमा स्नातक गरेकी दीपमालाले विश्वविख्यात कम्पनी ‘ब्ल्याकरक’ मा समेत काम गरिसकेकी छन्। तर, आमाको अधुरो सपना पूरा गर्ने चाहनाले उनले जागिर छोडेर मिस नेपाल बन्ने लक्ष्यसहित नेपाल आएकी हुन्।

फाइनान्स क्षेत्रमा मात्र होइन, दीपमाला खेलकुदमा पनि सक्रिय छिन्। उनी तेक्वान्दो खेलाडी र म्याराथन धाविका समेत हुन्। यही बहुआयामिक व्यक्तित्वका कारण उनी यसपटकको मिस नेपाल प्रतिस्पर्धामा चर्चित नाम बनेकी छन्।

मिस नेपाल २०२६ को ग्रान्ड फिनाले १६ साउन, शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजना हुदैछ।