क्यान्सर जितेकी डली गुरुङ दशकौँ पुरानो मोडलिङ यात्रापछि बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’

मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको कोलोन क्यान्सर जितेकी डलीले आगामी अक्टोबरमा हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।


Mrs Nepal Universe 2026 – Dolly Gurung Yakthumba

मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ घोषित भएकी छन्। तेस्रो चरणको कोलोन क्यान्सरलाई पराजित गरेर सक्रिय जीवनमा फर्किएकी डली अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने तयारीमा छिन्।

आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा उनले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रतिभा, आत्मविश्वास र जीवनयात्रा विश्वसामु प्रस्तुत गर्नेछिन्।

ललितपुरको झम्सिखेलमा आइतबार आयोजित ‘क्राउन सेरेमोनी’मा डलीलाई आधिकारिक रूपमा ताज पहिर्याइएको हो। लन्डन फेसन हाउसद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा उनलाई विजेताको ताज हस्तान्तरण गरेका थिए।

नेपाली विज्ञापन तथा फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय डली नेपालकै पहिलो टेलिभिजन भिडियो विज्ञापनमा देखिएकी भिजुअल मोडलका रूपमा परिचित छिन्। उनले २०४० र २०५० को दशकमा नेपाली मोडलिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकी थिइन्।

Dolly Gurung Yakthumba & Manisha Dangol Shrestha

मोडलिङसँगै उनको व्यक्तिगत जीवनयात्रा पनि उत्तिकै प्रेरणादायी छ। तेस्रो चरणको कोलोन क्यान्सरलाई सफलतापूर्वक पराजित गरेर पुनः सक्रिय जीवनमा फर्किएकी उनी धेरै महिलाका लागि साहस, आशा र आत्मविश्वासको प्रतीक बनेकी छन्।

कार्यक्रममा राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले डलीको अनुभव, संघर्षशील व्यक्तित्व र आत्मविश्वासले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थितिलाई थप प्रभावशाली बनाउने विश्वास व्यक्त गरिन्।

उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै मिसेस नेपाल युनिभर्सको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी र सशक्त रूपमा अघि बढाइने बताइन्।

ताज ग्रहणपछि डलीले आफ्नो सफलतामा परिवारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्। श्रीमान् निराकर याक्थुम्बा, छोराछोरी तथा सासूआमा इन्दिरा याक्थुम्बाको प्रेरणा र साथले आफू प्रतियोगितामा सहभागी भएको उनले बताइन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको क्षमता, आत्मविश्वास र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै डलीले क्यान्सरलाई जितेर पाएको दोस्रो जीवनलाई अर्थपूर्ण बनाउने अवसरका रूपमा यो यात्रालाई लिएको बताइन्।