मिस नेपाल २०२६ को दौड रोचक बन्दै, अडिसनमा ७८ प्रतिस्पर्धी, पाँच निर्णायक घोषणा

मिस नेपाल २०२६ को यात्रा नयाँ चरणमा प्रवेश गरेको छ। देशभरका अडिसनमा ७८ प्रतिस्पर्धी सहभागी भएका छन् भने द हिडन ट्रेजरले निर्णायक मण्डल पनि घोषणा गरेको छ।


मिस नेपाल २०२६ को ताजतर्फको यात्रा अब नयाँ चरणमा प्रवेश गरेको छ। काठमाडौंसहित विभिन्न क्षेत्रीय शहरमा सम्पन्न अडिसनमा ७८ जना प्रतिस्पर्धी सहभागी भएका छन् भने आयोजक संस्था द हिडन ट्रेजरले यस वर्षको निर्णायक मण्डल पनि घोषणा गरेको छ।

पछिल्लो जानकारीअनुसार मिस नेपाल २०२६ का लागि १०० भन्दा बढी युवतीले आवेदन दिएका थिए। अडिसन चरणबाट २८ जना उम्मेदवार छनोट गरिनेछ। तर, छनोट भएका उम्मेदवारहरूको आधिकारिक नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। ती २८ जनामध्येबाट पछि २४ जना फाइनलिस्ट मुख्य प्रतिस्पर्धामा प्रवेश गर्नेछन्।

काठमाडौं अडिसन मंगलबार ललितपुरस्थित द प्लाजामा सम्पन्न भएको थियो, जहाँ ६० जना प्रतिस्पर्धी सहभागी भएका थिए। काठमाडौंअघि नेपालगञ्ज, पोखरा, बिर्तामोड, जनकपुर, इटहरी र बुटवलमा अडिसन आयोजना गरिएको थियो।

यो अपडेटसँगै पेजेन्ट प्रेमीहरूमा उत्सुकता बढेको छ। विशेषगरी अन्तिम २४ फाइनलिस्टको नाम सार्वजनिक भएपछि यस वर्षको मिस नेपाल दौड झनै रोचक बन्ने अपेक्षा गरिएको छ।

द हिडन ट्रेजरले मिस नेपाल २०२६ का लागि पाँच सदस्यीय निर्णायक मण्डल पनि घोषणा गरेको छ। निर्णायकहरूमा रुपेश प्रधान, कोरियोग्राफर रचना शर्मा, मेकअप आर्टिस्ट साकिल कुँवर, फेसन डिजाइनर रमिला नेमकुल र पूर्व मिस इन्टरनेशनल नेपाल तथा अभिनेत्री नीति शाह रहेका छन्।

पेजेन्ट, फेसन, ब्यूटी, ग्रुमिङ र मनोरञ्जन क्षेत्रको अनुभव समेटिएको निर्णायक टोलीले बलिया प्रतिस्पर्धी छनोटमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मिस नेपाल २०२६ आगामी अगस्ट १, २०२६ मा द प्लाजामा आयोजना हुने तय भएको छ। सौन्दर्य, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, सामाजिक अभियान र अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा रुचि राख्ने युवतीहरूका लागि मिस नेपाल नेपालकै महत्वपूर्ण प्लेटफर्ममध्ये एक मानिन्छ।

SUBSCRIBE 👉