‘बेहुली’को गीतमा कस्तो देखियो ‘कुल ब्वाई’ पारस र दिव्याको केमेस्ट्री?

वर्षकै प्रतीक्षित चलचित्रमध्ये एक मानिएको ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। लोक फ्लेभरमा तयार पारिएको गीतमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य तथा अनस्क्रिन केमेस्ट्री देख्न सकिन्छ।


Paras Bam Thakuri and Divya Rayamajhi Dance in ‘Dilma Thau Chha’

वर्षकै प्रतीक्षित नेपाली चलचित्रमध्ये एक मानिएको ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ रिलिज गरिएको छ। एफक्युब सिनेमामा आयोजित विशेष पत्रकार भेटघाटमार्फत निर्माण टिमले चलचित्रको पहिलो गीत दर्शकमाझ ल्याएको हो।

कार्यक्रममा हलको ठूलो पर्दामा गीतको भिडियो प्रदर्शन गरिएको थियो। लोक फ्लेभरमा तयार पारिएको गीतको संगीत, कलाकारको अनस्क्रिन केमेस्ट्री र आकर्षक नृत्यलाई उपस्थित सञ्चारकर्मीले रुचाएका थिए।

गीतको भिडियोमा ‘कुल ब्वाई’का रूपमा चर्चित पारस बम ठकुरी, अभिनेत्री दिव्या रायमाझी, अभिनेता सुशान्त कार्की र कलाकार पदम तामाङ फिचर्ड छन्। चारै कलाकारको केमेस्ट्री र नृत्यलाई आकर्षक रूपमा प्रस्तुत गरिएको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी छ।

गीतमा चलचित्रका निर्माता तथा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत छ। अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडले स्वर दिएका छन् भने नरेश बीबीसीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

गीत सार्वजनिक कार्यक्रममा संगीतकार तथा निर्माता अर्जुन पोखरेलले चलचित्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि फरक स्वादको गीत तयार पारिएको बताए।

‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ हेर्न यहाँ क्लिक गर्नुहोस्।

यसअघि सार्वजनिक चलचित्रको फर्स्ट लुक पोस्टरले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा राम्रो चर्चा पाएको थियो। पोस्टरबाट बनेको उत्सुकतालाई नयाँ प्रमोशनल गीतले थप उचाइमा पुर्‍याउने अपेक्षा निर्माण पक्षले गरेको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता छन्। प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला र रमेश सिलवाल हुन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर छन्।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक तथा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक हुन्।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको चलचित्रमा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ।

यो चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।