
अभिनेता विजय बराल घाइते भएपछि रोकिएको नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। उनको दाहिने हातको नाडीमा लागेको चोट निको भएसँगै निर्माण टोली फेरि छायांकनमा फर्किएको हो।
छायांकनका क्रममा घोडाबाट खसेपछि विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उपचार र आरामपछि उनी काममा फर्किएका छन् भने चलचित्रको बाँकी छायांकन तीव्र गतिमा भइरहेको छ।
चलचित्रको छायांकन जेठ १ गतेदेखि पर्वतको कुश्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कमा सुरु गरिएको थियो। करिब १५ दिन छायांकन भएपछि विजय घाइते भएका कारण काम रोकिएको थियो।
निर्देशक सरोज पौडेलका अनुसार दुई साताअघिदेखि सोही स्थानमा पुनः छायांकन सुरु गरिएको हो।
“हामीले दुई सातादेखि पुनः छायांकन सुरु गरेका छौँ। केही समय छायांकन रोकिए पनि हामी फेरि उही जोस र लगावका साथ काममा फर्किएका छौँ,” निर्देशक पौडेलले भने, “यो बीचमा हामीले थप कसरी राम्रोसँग सिनेमा खिच्ने भनेर तयारी गर्यौँ। यो खाली समयलाई हामीले सदुपयोग नै गरेका छौँ।”
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल तथा कलाकारद्वय विजय बराल र अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन्। यसअघि उनीहरूले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्रमध्ये एक मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा र पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक पौडेलकै कथा रहेको चलचित्रको पटकथा सबिन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सहनिर्माताका रूपमा रहेका छन्। पदमबहादुर श्रेष्ठ ‘बाबु’ले छायांकन निर्देशन गर्ने चलचित्रमा नहकुल खड्काको सम्पादन रहनेछ।
चलचित्रको संगीत प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारले तयार पार्नेछन्।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते प्रदर्शनमा आउनेछ।

