
अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ रिलिज भएको छ। प्रेम, समर्पण र जीवनभरको साथलाई गुरुङ समुदायको मौलिक सांस्कृतिक परिवेशसँग जोडिएको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारलाई देख्न सकिन्छ।
भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन्। गुरुङ समुदायको परम्परागत भेषभूषा, ग्रामीण जीवनशैली, प्राकृतिक सुन्दरता र सामुदायिक उत्सवलाई भिडियोमा आकर्षक रूपमा समेटिएको छ।
गीतका शब्द हर्क साउदले लेखेका हुन् भने मनोज थापा मगरले संगीत दिएका छन्। सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर रहेको गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन्।
गीतको संगीत संयोजनमा सञ्जीव बराइलीको गितार, पोषण मगरको मादल, रत्न विश्वकर्माको बाँसुरी र मनीष गन्धर्वको सारङ्गी प्रयोग गरिएको छ। गीतको मिक्सिङ जन्रिक्सले गरेका हुन्।
‘जुनी जाला’ले प्रेम र समर्पणसँगै पारिवारिक सम्बन्ध तथा पात्रहरूको जीवनयात्राको झलक प्रस्तुत गर्छ। भिडियोमा देखाइएको ग्रामीण परिवेश, मौलिक पहिरन र लोकवाद्यको प्रयोगले गीतलाई सांस्कृतिक स्वाद दिएको छ।
‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनामा आधारित फिल्म हो। आफ्नो लक्ष्य हासिल गर्न मानिसले पार गर्नुपर्ने चुनौती र संघर्षलाई फिल्मको कथाले चित्रण गर्ने बताइएको छ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र माओत्से गुरुङसँगै पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको फिल्मको कथा र निर्देशन माओत्से गुरुङकै हो। ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा छ। हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।

