
अभिनेत्री नीता ढुङ्गानाको निर्देशकीय डेब्यु फिल्म ‘पार्वती’को टिजर सार्वजनिक भएको छ। गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको टिजरले अटिजम भएकी दिदी र उनलाई माया तथा सहारा दिने भाइबीचको आत्मीय सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
एक मिनेट ५७ सेकेन्ड लामो टिजरमा पार्वतीको भूमिकामा नीता ढुङ्गाना र उनका भाइ किरणको भूमिकामा अशोक दर्जीलाई मात्र प्राथमिकता दिइएको छ। संवाद र पात्रको विस्तृत पृष्ठभूमि खुलाउनुभन्दा दृश्य तथा भावमार्फत उनीहरूको सम्बन्ध स्थापित गर्ने प्रयास टिजरमा देखिन्छ।
अशोकको पात्रले पार्वतीलाई हेरचाह गर्ने, साथ दिने र उनको संसार बुझ्ने भाइको प्रतिनिधित्व गरेको संकेत टिजरले गर्छ। दिदी–भाइबीचको निश्छल प्रेमसँगै कथामा आउने सम्भावित संघर्ष र भावनात्मक उतारचढावबारे पनि टिजरले कौतुहल जगाएको छ।
यसअघि सार्वजनिक फिल्मका पोस्टरमा समेत अशोकले नीतालाई पिठ्युँमा बोकेको दृश्य राखिएको थियो। उक्त पोस्टरपछि आएको टिजरले फिल्मको मूल कथामा यी दुई पात्रको सम्बन्ध महत्त्वपूर्ण रहने थप स्पष्ट बनाएको छ।
टिजरको सम्पादन साहिल खानले गरेका हुन्। फिल्म आगामी भदौ १२ गते अर्थात् अगस्ट २८, २०२६ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
मनै छुने ‘पार्वती’को टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्
नीताको कथा र निर्देशन
‘पार्वती’को कथा तथा निर्देशन नीता ढुङ्गानाको हो। फिल्मको मुख्य भूमिकामा पनि उनी स्वयं देखिएकी छन्। निर्देशकका रूपमा यो उनको पहिलो फिल्म हो।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय छ।
नीताको कथा तथा पटकथामा बनेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालले छायांकन निर्देशन सम्हालेका छन् भने रामजी लामिछाने नृत्य निर्देशक हुन्।
फिल्मको प्रचार सामग्रीका रूपमा यसअघि रत्यौली शैलीको गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको थियो। गीतमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी र अशोक दर्जीलगायत कलाकार देखिएका छन्।
टिजरले कथाको ठूलो हिस्सा नखोली दिदी–भाइको सम्बन्धलाई केन्द्रमा राखेको छ। यही भावनात्मक सम्बन्धले फिल्मको कथा कसरी अगाडि बढाउँछ भन्ने प्रश्न नै ‘पार्वती’प्रति दर्शकको चासो बढाउने प्रमुख आधार बनेको छ।

