
देशभर प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर सोमबार निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको हो।
प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउने उद्देश्यले पोस्टर सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई गम्भीर भावमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमि, कलाकारहरूको मुड र दृश्यात्मक शैलीले फिल्म सामाजिक तथा पारिवारिक कथावस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ।
पोस्टरमा सुशील र न्यान्सी विपरीत दिशातिर फर्केर देखिएका छन्। उनीहरूको भावभंगिमाले सम्बन्धभित्रको असमझदारी, वैचारिक दूरी, भावनात्मक तनाव वा परिस्थितिजन्य बाध्यतालाई झल्काएको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्कासँगै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।
कलाकारहरूले भूमिकामा विशेष मिहिनेत गरेको बताइएको यो चलचित्र झण्डै डेढ महिनामा छायांकन गरिएको थियो। सोनी थापा ढुङ्गानाको प्रस्तुति रहेको फिल्मलाई विनय राज पौडेलले निर्देशन गरेका हुन्।
चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। कार्यकारी निर्माताको जिम्मेवारी सुरज थापाकाजी र सुमन ज्योति न्यौपानेले सम्हालेका छन्।
फिल्मको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
चलचित्रमा दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।
‘अक्षरा’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ।
