शल्यक्रियापछि कस्तो छ दीपाश्रीको पछिल्लो स्वास्थ्य अवस्था ?

ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर छ। अस्पतालले हालसम्म कुनै नयाँ जटिलता नदेखिएको जनाएको छ।


Deepa Shree Niraula Undergoes Successful Brain Tumour Surgery, Shifted to General Ward

अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको र हालसम्म कुनै नयाँ जटिलता नदेखिएको जनाएको छ।

अस्पतालका अनुसार दीपाश्री अहिले विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छिन्। उनलाई आगामी केही दिन अस्पतालमै राखेर आवश्यक उपचार तथा स्वास्थ्य परीक्षण गरिनेछ। दीपाश्रीको स्वास्थ्यमा सुधार भइरहेको भए पनि चिकित्सकीय सल्लाहअनुसार उनले केही समय आराम गर्नुपर्ने अस्पतालले जनाएको छ।

वरिष्ठ न्यूरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरूको टोलीले असार २३ गते उनको मस्तिष्कमा रहेको ट्युमरको शल्यक्रिया गरेको थियो।

“हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उहाँलाई आगामी केही दिन अस्पतालमै राखी विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा आवश्यक उपचार प्रदान गरिनेछ,” अस्पतालको विज्ञप्तिमा भनिएको छ।

यसअघि उनका निकट सहकर्मी अभिनेता तथा निर्माता दीपकराज गिरीले शल्यक्रिया सफल भएपछि उनलाई आईसीयूबाट जनरल वार्डमा सारिएको जानकारी दिएका थिए। दीपकराजले फेसबुकमार्फत पछिल्लो साता आफूहरूका लागि निकै चुनौतीपूर्ण बनेको बताएका थिए। फिल्मको छायांकनका क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

मस्तिष्कबाट निकालिएको ट्युमरको प्रकृति भने अहिले नै स्पष्ट भएको छैन। अस्पतालका अनुसार ट्युमरको बायोप्सी रिपोर्ट आउन बाँकी छ। परीक्षणको अन्तिम नतिजा प्राप्त भएपछि ट्युमरको प्रकार र आवश्यक थप उपचारबारे दीपाश्रीको परिवारलाई जानकारी गराइने अस्पतालले जनाएको छ।

बायोप्सी रिपोर्ट नआएसम्म ट्युमर क्यान्सरयुक्त वा क्यान्सररहित थियो भन्ने निष्कर्ष निकाल्न मिल्दैन। अस्पतालले पनि ट्युमरको प्रकृतिबारे हाल कुनै निश्चित विवरण सार्वजनिक गरेको छैन। उनको डिस्चार्जको निश्चित मिति पनि अस्पतालले सार्वजनिक गरेको छैन।

अन्नपूर्ण न्यूरो अस्पतालले उपचारका लागि नेपालकै स्वास्थ्य सेवामाथि विश्वास गरेकोमा दीपाश्री र उनको परिवारप्रति आभार व्यक्त गरेको छ। नेपालमा उपलब्ध विशेषज्ञ जनशक्ति र आधुनिक न्यूरोसर्जरी सेवाबाट जटिल स्वास्थ्य समस्याको सफल उपचार सम्भव रहेको अस्पतालको भनाइ छ। अस्पतालले दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुक, सञ्चारमाध्यम तथा आम नागरिकबाट प्राप्त सद्भावप्रति पनि धन्यवाद दिएको छ।

दीपाश्री फिल्म ‘छ माया छपक्कै २’ को छायांकनमा व्यस्त रहेका बेला स्वास्थ्य समस्या देखिएको थियो। त्यसपछि गरिएको स्वास्थ्य परीक्षणमा मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको दीपकराज गिरीले बताएका थिए। अस्पताल भर्ना हुनुअघि उनले फिल्मको एउटा गीतको छायांकन, एक चलचित्रको डबिङ र टेलिभिजन कार्यक्रमको छायांकनसहित केही निर्धारित व्यावसायिक काम पूरा गरेको बताइएको छ।

दीपाश्री नेपाली मनोरञ्जन क्षेत्रकी लोकप्रिय अभिनेत्री, हास्य कलाकार तथा निर्देशक हुन्। टेलिशृंखला ‘तीतो सत्य’ बाट व्यापक लोकप्रियता कमाएकी उनले ‘छक्का पञ्जा’ शृंखलाका सफल फिल्म निर्देशन गरेकी छन्।

उनको स्वास्थ्य अवस्थाबारे खबर सार्वजनिक भएपछि कलाकार, फिल्मकर्मी, दर्शक तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।