अटिजम भएकी युवतीको भूमिकामा नीताको अभिनयले जित्यो दर्शकको मन

‘पार्वती’को टिजरमा अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी नीता ढुङ्गानाको संवेदनशील अभिनयले दर्शकको मन छोएको छ। यस फिल्ममार्फत उनी पहिलोपटक निर्देशनमा पनि आउँदैछिन्।

पर्दामा पात्रको जीवन जिउनु र त्यसलाई दर्शकले महसुस गर्ने गरी प्रस्तुत गर्नु कुशल कलाकारको विशेषता हो। अभिनेत्री नीता ढुङ्गानाले फिल्म ‘पार्वती’को टिजरमार्फत आफ्नो यही अभिनय क्षमता फेरि एकपटक प्रमाणित गरेकी छन्।

हालै सार्वजनिक टिजरमा नीता अटिजम भएकी युवतीको भूमिकामा देखिएकी छन्। पात्रको भावभंगी, हाउभाउ र भाइप्रतिको निश्छल प्रेमलाई उनले संवेदनशील ढंगले पर्दामा उतारेकी छन्। उनको अभिनयले दर्शकको मन छोएको छ भने सामाजिक सञ्जालमा पनि प्रशंसा पाइरहेको छ।

अटिजमजस्तो संवेदनशील अवस्थासँग सम्बन्धित पात्र निर्वाह गर्नु कलाकारका लागि चुनौतीपूर्ण मानिन्छ। पात्रको व्यवहार, भावना र मानसिक अवस्थालाई अतिरञ्जित नगरी स्वाभाविक रूपमा प्रस्तुत गर्न विशेष तयारी आवश्यक पर्छ। टिजरमा नीताले देखाएको अभिनयलाई दर्शकले विश्वसनीय र प्रभावशाली बताएका छन्।

सामाजिक सञ्जालमा धेरैले नीताले ‘पार्वती’ पात्रलाई न्याय गरेको प्रतिक्रिया दिएका छन्। छोटो टिजरमै देखिएको उनको भावनात्मक अभिनय र पात्रप्रतिको समर्पणले फिल्मप्रतिको उत्सुकता पनि बढाएको छ।

नीतालाई नेपाली फिल्म क्षेत्रमा बहुमुखी अभिनेत्रीका रूपमा चिनिन्छ। कथा र पात्रको आवश्यकता अनुसार आफूलाई रूपान्तरण गर्न सक्ने उनको क्षमताको प्रशंसा हुँदै आएको छ। ‘किसान’, ‘मसान’, ‘नोटबुक’ र ‘छ एकान छ’ लगायतका फिल्ममार्फत उनले दर्शकको मन जितिसकेकी छन्।

सात वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘पञ्चायत’मा नीताले वि.सं. २०३३ सालकी एक अबोध किशोरीको भूमिका निर्वाह गरेकी थिइन्। उक्त भूमिकाबाट उनको अभिनयको दर्शक तथा समीक्षक दुवैले प्रशंसा गरेका थिए। ‘पञ्चायत’ले उनलाई अभिनेत्रीका रूपमा अझ फराकिलो पहिचान दिलाएको थियो।

संयोगवश, नीताको अभिनयले प्रशंसा पाएको ‘पञ्चायत’ र अहिले चर्चामा रहेको ‘पार्वती’ दुवैका लेखक शिवम् अधिकारी हुन्।

नीताका अनुसार ‘पार्वती’ एउटा फिल्ममा मात्र सीमित छैन, यसले नेपाली समाजभित्र लुकेका वास्तविकता र पीडालाई पर्दामा ल्याउने प्रयास गरेको छ। आफूले समाजमा देखेका र अनुभव गरेका पात्रहरूको कथा प्रस्तुत गर्न पाउँदा उनी उत्साहित छिन्।

“आफ्नै समाजको कथा, धेरै पार्वतीहरूको व्यथा र मौन पीडामा बाँचिरहेका अनगिन्ती पार्वतीहरूको आवाज बनेर आउँदैछ ‘पार्वती’,” नीता भन्छिन्।

अभिनयसँगै पछिल्लो समय फिल्म निर्माणमा सक्रिय नीताले अघिल्लो वर्ष ‘ह्रस्वदीर्घ’मार्फत निर्माताका रूपमा पनि सफलता प्राप्त गरेकी थिइन्। ‘पार्वती’मा भने उनले निर्माणसँगै पहिलोपटक निर्देशनको जिम्मेवारी पनि सम्हालेकी छन्।

‘मसान’को भूमिका, ‘पञ्चायत’की अबोध किशोरी र अहिले ‘पार्वती’की अटिजम भएकी युवतीसम्म आइपुग्दा नीताले फरक–फरक चरित्रमा आफूलाई ढाल्न सक्ने क्षमता देखाएकी छन्।

आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले नीतालाई अभिनेत्रीका रूपमा मात्र होइन, निर्देशकका रूपमा पनि दर्शकमाझ उभ्याउनेछ। टिजरबाट अभिनयको प्रशंसा बटुलिरहेकी नीताको निर्देशन यात्रालाई दर्शकले कसरी स्वीकार गर्नेछन् भन्ने चासो बढेको छ।

निता ढुंगाना अभिनित / निर्देशित पार्वतीको टिजर हेर्नुहोस्